- Loading...
प्रदेश प्रमुखको शपथग्रहण आज ४ बजे
- गोल्डेन खबर
- ७ साल अघि
- १४९ पटक पढिएको

काठमाडौँ, ५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई आज पद तथा गोपनीयताको शपथ दिलाउनु हुनेछ । राष्ट्रपति निवासमा आज अपराह्न ४ बजे आयोजना हुने विशेष समारोहमा राष्ट्रपतिबाट नवनियुक्त प्रदेश प्रमुखले शपथ लिनु हुने राष्ट्रपति कार्यालय स्रोतबाट थाहा भएको छ ।
मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेशको कार्य सञ्चालनका लागि अस्थायी केन्द्र तोक्नुका साथै प्रदेश प्रमुखको नाम राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको थियो ।
सरकारले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले असहमति जनाउँदा जनाउँदै पनि प्रदेश नं १ मा प्रा डा गोविन्दबहादुर तुम्बहाङ, प्रदेश नं २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश नं ३ मा अनुराधा कोइराला, प्रदेश नं ४ मा बाबुराम कुँवर, प्रदेश नं ५ उमाकान्त झा, प्रदेश नं ६ मा दुर्गाकेशर खनाल र प्रदेश नं ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख तोकेको थियो ।
प्रदेश प्रमुख र अस्थायी मुकामप्रति एमालेको सहमति छैन -ओली
एमाले अध्यक्ष केपी ओलीले सरकारले नियुक्त गरेको प्रदेश प्रमुख र अस्थायी मुकामप्रति पार्टीको सहमति नरहेको स्पष्ट पारेका छन । थाइल्यान्डको बैंककमा स्वास्थ्यपरीक्षण सकेर बिहीबार स्वदेश फर्किने क्रममा ओलीले त्रिभुवन अन्तर्राष्ट्ररिय विमानस्थलमा भने, ‘सरकारले हामीले भनेको मानेन, अन्तिममा प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने कुरामा सहमति दिनुहोस भनेपछि हामीले सहमति दिएका हौँ, तर को–को तोक्ने, कहाँ तोक्ने सरकारकै कुरा भएकाले त्यसप्रति हाम्रो सहमति छैन ।’
ओलीले प्रदेश प्रमुखको नियुक्ति अस्थायी मुकाम तोक्ने निर्णयमाथि पुर्निवचार गर्नसक्ने स्पष्ट संकेतसमेत गरे । ‘त्यस सम्बन्धमा उपयुक्त समय आएपछि पुर्निवचार हुन सक्छ’ ओलीले भने, ‘अनुकूलता, आवश्यकता र सम्भाव्यताका आधारमा प्रदेश सभाले प्रदेशको मुकामबारे पनि उपयुक्त निर्णय लिन सक्छ ।’ ताजा जनादेशपछि नयाँ सरकारले राष्ट्रिय सभा निर्वाचन, प्रदेश प्रमुखको नियुक्ति र मुकाम तोक्नुपर्ने संवैधानिक प्रावधान र प्रचलन रहे पनि वर्तमान सरकारले अनुपयुक्त र असंवैधानिक ढंगले अध्यादेशका नाममा लोकतन्त्रमाथि प्रहार गरेको आरोप पनि लगाए । ‘हामी सुरुदेखि नै सहमतिका साथ अघि बढ्न चाहेका थियौँ, तर त्यसो हुन सकेन, हाम्रो असहमति अध्यादेशप्रति हो’, ओलीले भने ।