FLASH NEWS
  • Loading...

प्रदेश ३ को पहिलो अधिवेशन आज हेटौंडामा हुँदै

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १२४ पटक पढिएको
प्रदेश ३ को पहिलो अधिवेशन आज हेटौंडामा हुँदै

काठमाडौं । संघीय नेपालको सवैभन्दा ठूलो प्रदेश रहेको प्रदेश नं ३ को प्रदेशसभा अधिवेशन आज माघ १८ गतेबाट हेटौंडामा सुरु हुँदैछ ।

बैठकमा सहभागी हुन प्रदेश प्रमुख, १३ जिल्लाका प्रदेश सांसद् हेटौंडा पुगिसकेका छन् भने अधिवेशन हुने क्षेत्रीय शिक्षा निर्देशनालयको भवन सजाइएको छ ।
कांग्रेस र एमालेका सबैजसो सांसद हिजै राति नै पुगिसकेका छन् भने माओवादी केन्द्रका आधाजसो सांसद बिहीबार बिहान मात्रै हिँड्ने भएका छन् ।

राष्ट्रिय सभाको निर्वाचनमा कसरी मत हाल्ने भन्नेबारे पार्टी केन्द्रीय कार्यालयले काठमाडौंमा प्रशिक्षण राखेकाले उनीहरू बिहीबार बिहान मात्रै बैठकका लागि हिँड्न लागेका हुन् ।

 

यस प्रदेशमा रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, नुवाकोट, धादिङ, काठमाडौं, भक्तपुर, चितवन, ललितपुर, सिन्धुली र मकवानपुर पर्छन् । अस्थायी राजधानी हेटौंडा आउनका लागि रसुवा सबैभन्दा टाढा पर्छ । त्यसपछि रामेछाप, दोलखा र सिन्धुपाल्चोक पर्छन् । यी जिल्लाका सांसदहरूमध्ये अधिकांश राजधानीमा एक दिन बसेर यहाँ आइपुगेका हुन् ।

पहिलो बैठक हेर्न र त्यसको समाचार ‘कभरेज’ गर्न पुगेका सञ्चारकर्मीलगायतको उपस्थितिले प्रदेशसभा स्थल वरपर निकै चहलपहल छ ।
बुधबार साँझ बसेको सर्वदलीय बैठकले अधिवेशनको कार्यसूची तयार पारेको थियो । कार्यसूचीअनुसार बैठकको सुरुमा प्रदेश सांसदका ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने छन् । जेष्ठ सदस्य भएकाले डोरमणि पौडेलले बैठकको अध्यक्षता गर्नेछन् । त्यसपछि उनले प्रदेश प्रमुख अनुराधा कोइरालाबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने छन् ।

प्रदेश प्रमुखको पत्र पढिसेकपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरुले संसद बैठकमा मन्तव्य प्रस्तुत गर्ने कार्यसूची छ ।

दलका प्रतिनिधिहरुको सम्वोधनपछि आगामी बैठक सञ्चालनका लागि प्रदेशसभा सञ्चालन अन्तरिम कार्यविधि २०७४ पारित गरिने छ ।

त्यसैगरी कार्यविधि पारित गरिसकेपछि सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न बैठकको अध्यक्षता गर्ने सदस्यहरुको टीम घोषणा गरिने प्रदेश संसदको कार्यसूचीमा उल्लेख छ ।

बैठकको अन्तिममा अन्तरिम कार्यविधि २०७४ को दफा ९६० को उपदफा–१ अनुसार प्रदेशसभाको सभामुखको निर्वाचनको मिति तोकिने छ र त्यसपछि विहीबारको बैठक समाप्त हुनेछ ।
प्रदेश ३ मा ११० सदस्यीय संसद छ । यो सातैवटा प्रदेशमध्ये सबैभन्दा ठूलो प्रदेशसभा हो ।

यो प्रदेशसभामा एमालेको एकल बहुमत छ भने संसदमा कांग्रेस, एमाले, माओवादी, विवेकशील साझा, नयाँशक्ति, राप्रपा, नेमकिपा र राप्रपा प्रजातान्त्रिक समेत ८ दलको प्रतिनिधित्व छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित