- Loading...
आज घटस्थापना,दशैंको पहिलो दिनको शुभ मुर्हूत यस्तो छ
- गोल्डेन खबर
- ६ साल अघि
- १३५ पटक पढिएको

काठमाडौं । आजबाट नेपालीहरुको महान चाड बडा दशैं सुरु भएको छ । दशैंको पहिलो दिन आज घटस्थापना हो ।पौराणिक र तान्त्रिक महत्वलाई दृष्टिगोचर गरी दूर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्नका लागि विजयादशमी मनाउने शास्त्रीय विधान छ ।
शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य जमरा बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गरिन्छ । त्यस पश्चात् प्रसाद स्वरूप दशमीको दिन लगाउने टीकाबाट धर्म, अर्थ, काम र मोक्ष प्रदायक हुने कुरा देवी भागवतमा बताइएको छ ।
आषाढ शुक्ल, आश्विन शुक्ल, माघशुक्ल र चैत्र शुक्ल गरी वर्षमा चारवटा नवरात्रहरू पर्ने गर्दछन् । यी चार नवरात्रहरूमा आषाढ शुक्ल र माघ शुक्लपक्षका तिथिहरुलाई ‘गुप्त नवरात्र’ भनिन्छ । यी नवरात्र साधकहरूका लागि उपयोगी मानिन्छन् । चैत्र शुक्ल र आश्विन शुक्लपक्षमा आम मानिसहरूले शक्तिको आराधना गर्ने गर्दछन् ।
नौ दिनसम्म मनाउने नवरात्रमा कुन दिन, कुन रूपको पूजा गर्ने र कस्तो प्रसाद चढाउने अनि कुन कामनाको पूर्तिका लागि पूजा गर्ने भन्नेबारे मार्कण्डेय पुराणमा उल्लेख गरिएको छ । सावधानीपूर्वक विधि अनुरूप विभिन्न रूपको पूजा गरेमा विभिन्न मनोभिलाषा पूरा हुने बताइएको छ । यं यं चिन्तयते कामं तं तं प्राप्नोति निश्चितम् । अर्थात् जुन(जुन कामनाले भगवतीको आराधना गरिन्छ ती सबै कामना सिद्ध हुने कुरा दुर्गासप्तशतीको देव्या कवचमा बताइएको छ ।
दशैं आश्विन शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म मनाइन्छ । शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, शिद्धिदात्री गरेर नवदुर्गाको क्रमशः पूजा गर्ने गरिन्छ । विशेष गरेर महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना यस पर्वमा गरिन्छ ।पूजा गर्दा नौ दिनसम्म कुन कुन दिन कसको र के के सामग्री अर्पण गरी पूजा आराधना गर्ने भन्ने कुराको विशेष ख्याल राख्नुपर्दछ ।
वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैं घरमा विधिपूर्वक दीप, कलश स्थापना गरी षोडशोपचारले पूजा हुने गर्दछ । सोही कलशमा महाकाली, महालक्ष्मी, महासरस्वती दुर्गा भगवतीको षोडशोपचारले आह्वान पूजन हुने गर्दछ । यसरी पूजन पश्चात् सप्तधान्य छर्नु पर्दछ । भगवती दूर्गा देवीका विभिन्न उपासना मन्त्रले आह्वान पूजन गरी दुर्गा सप्तशतीको पाठ पारायण नित्य गर्नु पर्दछ ।
घटस्थापनाको शुभ मुर्हूत
महान पर्व बडादशैंको उल्लास सुरु भइसकेको छ । यस वर्षको आज बाट नौरथा सुरु भएको छ । नौरथामा नौ दिनसम्म दूर्गा भवानीको पूजा उपासना गरिन्छ ।
हिन्दू धर्माबलम्बी भक्तजनहरुले यी नौ दिनमा आफ्नो घरमा घटस्थापना गरी अखण्ड ज्योति स्थापना गरेर नौ दिनको उपवास राख्छन् ।
यसपालि नवरात्रमा घटस्थापना एवं अखण्ड ज्योति प्रज्ज्वलनको शुभ मुहुर्त कहिले छ ।
बिहान सवा ६ बजेदेखि सवा नौ बजेसम्म
बिहान पौने ११ देखि सवा १२ बजेसम्म
बेलुका पौने पाँचदेखि सवा ६ बजेसम्म
कलश स्थापना कसरी गर्ने
पूजास्थलमा माटोको वेदी बनाएर त्यसमा जौँ, गहुँ छर्नुहोस् । फेरि त्यसमा कलश राख्नुहोस् । त्यसमाथि दूर्गा भवानीको मूर्ति प्रतिष्ठा गर्नुहोस् ।मूर्ति यदि माटो वा कागजको छ भने विचार पुर्याएर नबिग्रने गरी राख्नुहोस् वा कलशमा स्वस्तिकको चिह्न बनाएर दूर्गा भवानीको चित्र र शालीग्राम विराजमान गरेर भगवान विष्णुको पूजा गर्नुहोस् ।
दूर्गासम्पशतीको पाठ गर्नुहोस्
नवरात्रको आरम्भमा स्वस्तिक वाचन शान्तिपाठ गरेर संकल्प लिनुहोस् र प्रथम पुज्य भगवान श्रीगणेशको पूजा गरेर मातृका, लोकपाल, नवग्रह वा वरुणको विधिअनुसार पूजा गर्नुहोस् । उत्तर वा पूर्व दिशातिर फर्किएर पूजा गर्नुहोस् ।
यसपछि मुख्य मूर्तीको षोडशोपचार पूजा गर्नुहोस् । दुर्गा देवीको आराधना अनुष्ठानमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा मार्कण्डेयपुराण अन्र्तगत निहित श्री दुर्गा सप्तशतीको पाठ नौ दिनसम्म गर्नुहोस् ।
यी कुरामा विचार गर्नुहोस्
यस क्रममा सम्भव भएसम्म अखण्ड दीप बाल्नुहोस् । यदि बत्ति घिउमा बाल्नुभएको छ भने त्यसलाई दुर्गाको मूर्तिको दाँयातर्फ राख्नुहोस् र यदि बत्ती तेलको बाल्नुभएको छ भने त्यसलाई मूर्तिको बाँयातर्फ राख्नुहोस् ।