Radio Golden Live..

बार्सिलोनाले प्रशिक्षक किके सेटिनलाई बर्खास्त गर्दै

बार्सिलोनाले प्रशिक्षक किके सेटिनलाई बर्खास्त गर्दै नेदरल्यान्ड्सका प्रशिक्षक रोनाल्ड कोम्यानलाई नियुक्त गरिने दाबी गरिएको छ।

स्पेनिस पत्रकार गुइलेम बलागेका अनुसार सेटिनलाई सोमबार बर्खास्त गरिनेछ भने उनको स्थानमा कोम्यानलाई नियुक्त गरिने अधिक सम्भावना छ।

सिजनको स्पेनिस ला लिगामा दोस्रो भएको बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा जर्मन च्याम्पियन वायर्न म्युनिखसँग ८-२ गोलको लज्जास्पद हार बेहोरेको थियो।

हारपछि ६१ वर्षीय सेटिनको पद धरापमा परेको थियो। सेटिन गत जनावरीमा अर्नेस्टो भाल्भार्डेको स्थानमा बार्सिलोनाको प्रशिक्षकमा नियुक्त भएका थिए।

आइतबार स्पेनको रिडियो स्टेसन काडेना कोपले बार्सिलोनाका अध्यक्षलाई उधृत गर्दै सेटिनलाई सोमबारको बोर्ड बैठकले बर्खास्त गर्ने जनाएको छ। बार्सिलोनाका अध्यक्ष जोसेप बार्तामेउका अनुसार सोमबार बोर्ड बैठक बसेर सेटिनलाई हटाइनेछ।

स्पेनिस फुटबलविज्ञ बलागेका अनुसार बार्सिलोनाले टोटनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिनोसँग पनि कुराकारी गरेको छ। तर डच प्रशिक्षक कोम्यान पहिलो रोजाइमा छन्।

‘सोमबारको बोर्ड बैठकले सेटिनलाई बर्खास्त गर्नेछ,’ बलागेले बिबिसी फाइभ लाइभ युरो लिग पडकास्टमा भनेका छन्,’बार्सिलोनाले छिटै प्रशिक्षक नियुक्त गर्नेछ। किनभने उनीहरुसँग प्रिसिजनअघि दुई साताको मात्र समय छ। जसमा कोम्यान उत्तम व्यक्ति हुन सक्छन्।’

एभर्टन र साउथह्याम्टनका पूर्व प्रशिक्षक ५७ कोम्यान २०१८ को फेब्रुअरीमा नेदरल्यान्ड्सको प्रशिक्षक नियुक्त भएका थिए।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]