Radio Golden Live..

क्रिकेट खेलाडीहरूको वर्गीकरण

नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेट खेलाडीहरूको वर्गीकरण गरेको छ । क्यानको बिहीबार सम्पन्न बैठकले राष्ट्रिय टोलीमा रहेका महिला र पुरुषतर्फका १० खेलाडीलाई ‘ग्रेड ए’ समेटेको हो । पुरुषतर्फ सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र करण केसी रहेका छन् भने महिलातर्फ रुबिना क्षत्री, सीता राना मगर, इन्दु शर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी रहेका छन् ।

यस्तै पुरुषतर्फ ‘ग्रेड बी’ मा कुशल भुर्तेल, आसिफ शेख, शरद भेषवाकर, आरिफ शेख, अविनाश बोहरा, विनोद भण्डारी रहेका छन् भने महिलातर्फ सरिता मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, सवनम राई र ज्योती पाण्डे रहेका छन् । यस्तै ‘ग्रेड सी’ मा पुरुषतर्फ कुशल मल्ल, रोहित कुमार पौडेल, कमल सिंह ऐरी, विक्रम सोब, साहब आलम, सुशन भारी र पवन सर्राफ छन् भने महिलातर्फ डली भट्ट, कविता जोशी, संगीता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र बिन्दु रावल रहेका छन् । ग्रेडिङ भएका उनीहरुलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय क्यानले गरेको छ ।
यस्तै क्यानले अनुशासन उलंघनसम्बन्धी संघले गठन गरेको छानबिन समितिले गरेको सिफारिस बमोजिम चार जना पुरुष खेलाडीलाई २०२२ को सेन्ट्रल कन्ट्याक्टमा सुरुको ६ महिनाको लागि सहभागी नगराउने संघको अघिल्लो बैठकको निर्णय फिर्ता समेत लिएको छ । यसअघि क्यानले कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीमाथि कारबाही गरेको थियो । मल्ललाई कप्तानबाट हटाएर सन्दीप लामिछानेलाई नयाँ कप्तानमा नियुक्त गरेको थियो । क्यानले कारबाही फिर्ता लिएपनि कप्तानमा भने सन्दीपलाई नै निरन्तरता दिएको छ ।

त्यसैगरी ओमान भ्रमणमा रहेका तर अनुबन्धमा नरहेका खेलाडीहरु बिक्रम सोब, गुलसन झा र रोहित पौडेललाई प्रोत्साहन स्वरुप जनही १ लाख भत्ता दिने निर्णय पनि क्यानले गरेको छ । यस्तै महिला खेलाडी ज्योति पाण्डेलाई रु ५० हजार प्रदान गर्ने निर्णय पनि क्यानले गरेको छ । यसबाहेक क्यानले वार्षिक साधारणसभा फागुन १३ र १४ गते धनगढीमा गर्ने निर्णय पनि गरेको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]