Radio Golden Live..

असई हत्या प्रकरण : जसपा सांसद यादवसहित १९ जनाको सम्पत्ति रोक्का गर्न अदालतको आदेश

जनकपुरधाम : मधेस आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोगमा जसपा नेपाल मधेस प्रदेशका सांसद कौशलकुमार यादवसहित १९ जनाको सम्पत्ति रोक्का गर्न जिल्ला अदालत महोत्तरीले आदेश दिएको छ।

उक्त घटनाका आरोपी सांसद यादवसहित १९ जनाको सम्पत्ति रोक्का गर्न मंगलबार अदालतले आदेश दिएको हो।

०७२ भदौ २५ मा महोत्तरीको जलेश्वरमा आन्दोलनका बेला सशस्त्र प्रहरीका असई विक घाइते भएका थिए। विकलाई उपचारको लागि जनकपुरधाम ल्याउने क्रममा महोत्तरी गाउँपालिकाको सनोखरा गाउँनजिकै एम्बुलेन्सबाट थुतेर कुटपिट गर्दा असई विकको मृत्यु भएको थियो।

जिल्ला अदालत महोत्तरीमा २२ जनामाथि हत्या मुद्दा दर्ता रहेको छ। जसमध्ये तत्कालीन राजपा (वर्तमान लोसपा)का मधेस प्रदेश सांसद अभिराम शर्मा, जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र र तत्कालीन राजपाकै सुरेश पाण्डे अदालतमा हाजिर भएर २०७५ साउन २९ मा साधारण तारिखमा रिहा भएका थिए। तत्कालीन राजपाबाटै निर्वाचित मेयर मिश्र अहिले लोसपामा छन्।

अभिराम शर्मा मधेस प्रदेशका पूर्व-राज्यमन्त्रीसमेत हुन्। उनी राज्यमन्त्री बन्ने भएपछि अदालतमा हाजिर भएका थिए। शर्मासँगै मेयर मिश्र र नेता पाण्डे अदालतमा हाजिर भएका थिए।

अदालतका स्रेस्तेदार मदन जयसवालका अनुसार कर्तव्य ज्यान मुद्दामा प्रदेश सांसद यादव, विकी साह, चन्देश्वर साह, नरेश साह, रामराजा साह, गोलु साह, हरिओमकुमार भगत, रवीन्द्र चमार, रञ्जीत साह, देवेन्द्र चौधरी, रमेशप्रसाद साह, सतिन्द्र चौधरी, फुले यादव, राजा चौधरी, रोहितकुमार शर्मा, लालबाबु बिन, शम्भु साह, देवेन्द्र यादव र अनिल ठाकुरको सम्पत्ति रोक्का गर्न आदेश जारी भएको छ।

प्रतिवादीहरुको नामको विभिन्न मितिमा म्याद तामेल भइसकेको र उनीहरू हालसम्म पक्राउ नपरेको तथा अदालतमा उपस्थितसमेत नभएकोले अंश हकमा रहेको अचल सम्पत्ति मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ को दफा ५८(१५) एवं दफा ६५(१) को खण्ड (ख) अनुसार रोक्का गर्न आदेश जारी भएको हो।

सम्पति रोक्का भएका अधिकांश आरोपी जनता समाजवादी पार्टी नेपालका नेता कार्यकर्ता छन्। उनीहरुबारे जसपा मौन रहे पनि लोसपाले पटक-पटक मुद्दा फिर्ताको पहल गरेको थियो।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारमा सामेल भएका बेला महन्थ ठाकुरले मुद्दा फिर्ता लिन दबाब दिएका थिए। तर, सरकार ढलेपछि मुद्दा फिर्ता हुन सकेको अवस्था थिएन।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]