FLASH NEWS
  • Loading...

रोपाइँ गर्ने बेला भो, पाएनन् किसानले मल

  • गोल्डेन खबर
  • १ साल अघि
  • १८३ पटक पढिएको
रोपाइँ गर्ने बेला भो, पाएनन् किसानले मल


काठमाडौं । मुलुकाका विभिन्न ठाउँका किसानले मल पाएका छैनन् । सरकारले मल उपलब्ध गराउन नसक्दा किसानलाई समस्या भएको छ । सर्लाहीका किसानले धान रोपाइँ सुरु भइसक्दा पनि रासायनिक मल पाउन सकेका छैनन्। बालीनाली लगाउने बेलामा पनि मल नपाउँदा बाली लगाउने कि नलगाउने भन्ने अन्योलमा छन् हरिवनका किसान रामपुकार महतो। उनले भने, ‘जिल्लामा रासायनिक मलको हाहाकार छ। सरकारले हाम्रा माग सुन्दैन। तर, हामीलाई मन नभई नहुने अवस्था छ।’

अर्का किसान कपील साह पनि मल पर्खेर बसेको गुनासो सुनाउँछन्। ‘हामी किसानले वर्षैपिच्छे मल अभाव झेल्नुपरे पनि अहिलेसम्म सरकारका जिम्मेवार पदमा रहेकाहरुले दीर्घकालीन समाधान खोजेका छैनन्। माथिको लडाइँले हामी किसानलाई मारमा पारेको छ’, उनी भन्छन्, ‘सरकार फेरियो, मन्त्री फेरिए तर मलको कथा अहिले पनि उस्तै छ। अब रोपाइँ कसरी गर्ने भन्ने चिन्ताले सताएको छ।’

समयमा मल नदिने सरकारलाई भारतबाट किसानले मल किनेर ल्याउँदा सुरक्षाकर्मी लगाएर नखोस्न र बल प्रयोग नगर्न पनि स्थानीय किसानको माग छ।

‘नेता, मन्त्री र जिम्मेवार अधिकारीको वक्तव्य आउँछ तर मल आउँदैन। आँशु चुहाउँदै गरेका किसाको फोटो पनि आउँछ। किसान लाइनमा बस्छन् तर मल पाउँदैनन्। बाली लगाउनेबेला नै मल नपाए हामी कसरी बाँच्नुरु’ अर्का किसान रामविनोद यादवको प्रश्न छ।

जिल्लामा रोपाइँ हुने क्षेत्रफलका आधारमा वार्षिक करिब ७२ हजार मेट्रिक टन मल आवश्यक पर्ने कृषि ज्ञान केन्द्रले जनाएको छ। धान बालीका लागि कम्तिमा ४४ हजार मेट्रिकटन मल चाहिने उक्त कार्यालयले जनाएको छ। तर, धान रोपाइँकै समयमा जिल्लामा मल अभाव छ।

नेपालमा मल ल्याउने जिम्मेवारी कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनलको हो। साल्ट ट्रेडिङले ३० प्रतिशत र कृषि सामग्री कम्पनीले ७० प्रतिशत मल ल्याउने गरे पनि जिल्लामा आवश्यक मात्रामा मल अभाव पुरानै व्यथा रहेको उक्त केन्द्रका प्रमुख कमलदेव प्रसाद कुशबाहले बताए।

‘नेताहरुले सधैं कृषिलाई औद्योगिकीकरणतिर लैजाने बताउँछन् तर किसान मल र सिँचाइको समस्यामा अल्झिन बाध्य छन्’, उनले भने। आगामी आर्थिक वर्षमा कृषि उत्पादन ३० प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिएको सरकारले किसानलाई मलको व्यवस्था गर्न नसकेकामा प्रतिनिधिसभा सदस्य डिल्ली उप्रेतीले असन्तुष्टि जनाए।

उनले भने, ‘खेती सुरु भइसक्यो तर किसानले अहिलेसम्म मल पाएका छैनन्। मलका गोदाम खाली छन्, केन्द्र सरकार के गर्दै छ ?’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित