काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र आफूलाई बारम्बार जिस्क्याउने हो भने विधान संशोधन गरेर तेस्रो पनि कार्यकाल सभापति बन्ने चेतावनी दिनुभएको छ ।
सभापति देउवाले केन्द्रीय समितिको बुधबारको बैठकमा नेताहरुलाई यस्तो चेतावनी दिनुभएको हो । बैठकमा केन्द्रीय सदस्य तथा संघीय सांसद सञ्जयकुमार गौतमले गठबन्धन गर्दा पार्टीले हार्ने भयो भनेपछि सभापति देउवाले आक्रोशित हुँदै यस्तो चेतावनी दिनुभएको हो ।
‘मलाई धेरै नजिस्क्याउनुस्, विधान संशोधन गरेर भए पनि तेस्रो पल्ट सभापति हुन सक्छु’ बैठकमा देउवाले भन्नुभएको एक नेताले बताउनु भयो । ती नेताका अनुसार बैठकमा देउवाले ‘होटल होटलमा गएर बैठक नगर्नु, अब मलाई पार्टी सभापति हुने रहर छैन। जिस्काउनुहुन्छ भने म संशोधन गरेर भए पनि सभापति हुन्छु। मलाई अब नपेल्नुस् म फेरि सभापति हुने दौडमा छैन।’ भन्नुभएको छ ।