Radio Golden Live..

मौद्रिक नीति आज सार्वजनिक हुँदै


काठमाडौं । मौद्रिक नीति आज सार्वजनिक हुँदैछ । नेपाल राष्ट्र बैंकले आज बेलुकीसम्म मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ।

गत वर्ष साउन २५ गते मौद्रिक नीति सार्वजनिक भएको थियो। यो वर्ष भने साउनको पहिलो सातामै मौद्रिक नीति सार्वजनिक गर्न लागिएको हो ।

मौद्रिक नीतिले चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको नीति र त्यसको प्रभावको सम्बन्धमा समेत व्याख्या गर्नेछ। नेपाल राष्ट्र बैंक स्रोतका अनुसार नयाँ मौद्रिक नीतिले मूल्यवृद्धि लक्ष्यअनुसार नै नियन्त्रणमा रहेको एकीन गर्नेछ।

गत आर्थिक वर्षमा छ प्रतिशतको मूल्यवृद्धि हुने मौद्रिक नीतिले उल्लेख गरेको थियो। यसपटक पनि सोही हाराहारीमा रहेको उल्लेख हुनेछ।

गत वर्षको जेठ मसान्तसम्ममा उपभोक्ता मुद्रास्फीति ८ दशमलव ५६ प्रतिशत छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति चार दशमलव १९ प्रतिशत थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७ दशमलव ४३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९ दशमलव ४४ प्रतिशत छ।

तर असारमा केही नियन्त्रणमा आएको नेपाल राष्ट्र बैंकले बताएको छ। राष्ट्र बैंकले बाह्य क्षेत्रमा नेपाल झन् झन् दबाबमा रहेको बताएको छ। विशेषगरी वैदेशिक मुद्रा सञ्चितिमा उल्लेख्य गिरावट देखिएकोले नयाँ मौद्रिक नीति बाह्य क्षेत्रको दबाब कम गर्न केन्द्रित भएर आउने स्रोतको भनाइ छ।

वैशाख महिनाको तुलनामा जेठ महिनामा वैदेशिक मुद्रा सञ्चिति ३० अर्ब रुपैयाँ बढेको राष्ट्र बैंकले नै सार्वजनिक गरेको विवरणले देखाएको छ। तर नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेसनलाई बुझाउनुपर्ने रकम रोकिएकोले सञ्चिति बढेको देखिएको राष्ट्र बैंकका एक अधिकारीले बताए। साउन र भदौमा सबै पेमेन्ट जानसक्ने भएकोले वैदेशिक मुद्रा सञ्चितिमा ठूलो दबाब देखिने उनको भनाइ छ।

२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५।९ प्रतिशतले कमी आई २०७९ जेठ मसान्तमा ११ खर्ब ७६ अर्ब ८४ करोड कायम भएको छ ।

त्यस्तै नेपालको वस्तु व्यापारघाटा पनि उल्लेख्य देखिएको छ। गत आर्थिक वर्षमा व्यापारघाटा १७ खर्ब पुगेको छ। नेपालको कुल बजेटकै आकारमा नेपालको वैदेशिक व्यापारघाटा समेत देखिएको छ।

गत आर्थिक वर्षमा नेपालमा वस्तु खपत अत्यधिक बढेको देखिन्छ। बैंकको लगानी नै वस्तु आयात गर्नमा भएको देखिएको छ। सरकारले १० वटा वस्तुमा आयात प्रतिबन्ध नै गरेको छ।

शोधनान्तर स्थिति २ खर्ब ६९ अर्ब ८१ करोडले घाटामा छ । चालू खाता ५ खर्ब ९५ अर्ब ७३ करोडले घाटामा छ । असार मसान्तमा यो अवस्था अझ खस्किएकोले बाह्य क्षेत्र दबाबमा रहेको विश्लेषण गरिएको छ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]