FLASH NEWS
  • Loading...

चलचित्रमा रङ्ग पत्रकार

  • गोल्डेन खबर
  • १ साल अघि
  • १७३ पटक पढिएको
चलचित्रमा रङ्ग पत्रकार

काठमाडौं । पत्रकारिता हुँदै चलचित्र निर्माण, निर्देशन तथा लेखनमा केही वर्षयता नयाँ पुस्ताका पत्रकारको उपस्थिति बढ्दो छ । पछिल्लो समयमा पत्रकारितासँगै गीत लेख्ने पनि उत्तिकै छन् ।

समीक्षक हुँदै निर्देशक बनेका पत्रकार दीपेन्द्र लामाले आफ्नो पाँचौँ चलचित्र ‘नाङ्गो गाउँ’ को छायाङ्कन आजदेखि सुरू गर्नुभएको छ । एक महिनाको तालिका बनाएको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, कार्म लगायतको कलाकारले अभिनय गर्दै हुनुहुन्छ ।

“कार्यशाला गरेर छायाङ्कनमा निस्किएकाले निर्धारित समयमै सम्पन्न गर्छौँ भन्ने आश छ । आउँदो वर्ष प्रदर्शन गर्ने लक्ष्य छ”, निर्देशक लामाले भन्नुभयो । उहाँ पत्रकारिता छाडेर अहिले लेखन तथा निर्देशनमै व्यस्त हुनुहुन्छ । रङ्ग पत्रकार हुँदै चलचित्रकर्मी बनेका सुशील पौडेलको लेखन रहेको ‘प्रसाद–२’ चैत २४ मा प्रदर्शन हुँदैछ ।

“प्रसादपश्चात् यसको दोस्रो शृङ्खला लेखेको हुँ । समय मिल्दा र कार्यशैली मिल्ने टिम हुँदा काम गरिरहेको छु”, लेखक पौडेलले भन्नुभयो । उहाँ पत्रकारितामा समेत सक्रिय हुनुहुन्छ । लेखक पौडेल झैँ पत्रकारितासँगै लेखनमा सक्रिय सामिप्यराज तिमल्सेना अझै केही समय निर्देशनमा आउने सोचमा नरहेको बताउनुभयो । “अफर त आइरहेको हुन्छ । तर म पत्रकारितासँगै लेखनमै सक्रिय छु”, लेखक तिमल्सेनाले भन्नुभयो, “अहिलेको समय हामीले सिक्ने हो । चलचित्रमा देखिएको परिवर्तनको निष्कर्ष बुझ्नु जरुरी छ ।”

रङ्ग पत्रकार डब्बु क्षेत्री म्युजिक भिडियो निर्देशन र गीत रचनामा व्यस्त हुनुहुन्छ । अहिले फिल्म निर्देशन गर्ने उहाँको सोच छैन । ‘फिटकिरी’ बाट लेखन सुरू गरेका पत्रकार यज्ञश निश्चल बस्नेतको निर्देशन रहने चलचित्रको कथा लेखिरहनुभएको छ । यस्तै अधकट्टी र सुश्री सम्पत्ति निर्देशन गरिसक्नुभएका पत्रकार सुव्रत आचार्य ‘टिभी शो’को तयारी गरिरहनुभएको छ । चलचित्र निर्देशन केही समय थाती राख्दै उहाँको सक्रियता म्युजिक भिडियो निर्देशनमा बढेको छ ।

‘एउटा साथी’ र लालजोडी निर्देशन गर्नुभएका लक्ष्मण सुवेदी ‘सतीदेवी’ को तयारीमा हुनुहुन्छ । यसमा उहाँले शीर्ष भूमिकामा मलिका महतलाई अनुबन्धित गर्नुभएको छ । कार्यशाला भइरहेको चलचित्रको छायाङ्कन छिटै हुने उहाँले बताउनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित