- Loading...
महान्यायाधिवक्ता पोखरेलविरुद्धको रिटमा आज सुनुवाइ
- गोल्डेन खबर
- १ साल अघि
- २१६ पटक पढिएको

काठमाडौं । महान्यायाधिवक्ता डा दीनमणि पोखरेलविरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता पोखरेलविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुन लागेको हो ।
अधिवक्ता युवराज पौडेल ‘सफल’ ले लामिछानेविरुद्ध दायर गरेको रिट निवेदनमा राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएको उल्लेख गर्दै निर्णय बदर गर्न माग गरिएको छ । रिटबारे आज सुनुवाइ हुने तय भएको छ ।
यसअघि नै लामिछानेले प्रक्रियागतरूपमा नेपाली नागरिकता नलिएको उल्लेख गर्दै लामिछाने नेपाली नागरिकता नभएको फैसला सुनाएको थियो । फैसलासँगै लामिछानेको सांसद र मन्त्री पद गुमेको थियो । अहिले जिल्ला प्रशासन कार्यालयबाट प्रक्रिया पूरा गरी लामिछानेले नेपाली नागरिकता भने लिइसक्नुभएको छ ।
महान्यायाधिवक्ता डा पोखरेलले लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय चैत ६ गते गर्नुभएको थियो । जिल्ला सरकारी वकिलको कार्यालय हुँदै उच्च सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदन र महान्यायाधिवक्ता कार्यालयको टिप्पणीको आधारमा महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गर्नुभएको बताइएको थियो ।