FLASH NEWS
  • Loading...

संसदमा भैँसी शब्दप्रति विवाद : रेकर्डबाट हटाउन सभामुखको निर्देशन

  • गोल्डेन खबर
  • ९ महिना अघि
  • १४३ पटक पढिएको
संसदमा भैँसी शब्दप्रति विवाद  : रेकर्डबाट हटाउन सभामुखको निर्देशन

 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (स्वपा) का सांसद शिशिर ढकालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भैँसी चढेर आउनु भएको भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइएको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसद ढकालले प्रधानमन्त्री भैँसी चढेर आउनु भयो भन्ने दिएको अभिव्यक्ति सांसदको रेकर्डबाट हटाउन सभामुख देवराज घिमिरेले निर्देशन दिएका हुन् । ढकालले भारतबाट आयात गरिएको भैँसी चढेर प्रधानमन्त्री आएको भन्ने अभिव्यक्ति दिएपछि संसदमा लफडा भएको थियो ।

संसदमा प्रश्न सोध्नेक्रममा ढकालले ‘प्रधानमन्त्री प्लेन चढेर पोखरा विमानस्थलमा झर्नु हुन्छ होला भन्ने थियो दुभाग्यवस भैँसी चढेर आउनु परेको कुराहरु आयो’ भनेर अभिव्यक्ति दिए ।

ढकालले बोल्न भ्याउँदा नभ्याउँदै माओवादी केन्द्रका सांसदहरू उठेर नियमापत्ति जनाए । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भैँसी चढेर आएको भन्ने शब्द असंसदीय शब्द भएको भन्दै रेकर्डबाट हटाउन माग गरे । प्रधानमन्त्रीलाई भैँसी चढेर आएको भन्ने शब्दले मान मर्दन गरेको भन्दै पाण्डेले आक्रोश पोखे । पाण्डेले रास्वपा सांसदले बोलेको शब्द रेकर्डबाट हटाउन माग गरे लगत्तै रास्वपा, एमाले र राप्रपाका सांसदहरू उठेर विरोध जनाए ।

संसदमा समय माग गर्दै एमाले सांसद सूर्यबहादुर थापाले सत्तापक्षका सांसदहरुको दादागिरी गरेको भन्दै आपत्ति जनाए । ‘यहाँ माननीयले बोलिरहेको बेला सत्तापक्षका सांसदहरुले दादागिरी देखाउनुभयो । बोल्ने अधिकारमा कुठित गर्न पाइँदैन । यो नियमावलीको पालना गरियोस् भन्ने आग्रह गर्दछु’ थापाले भने, ‘यो दादागिरी कुनै हालतमा स्वीकार्य हुँदैन ।’

त्यसपछि सभामुखले सबै सांसदहरुलाई शान्त भई बस्न बारम्बार आग्रह गरे । तर, संसदमा सत्तापक्ष र विपक्षका सांसदहरू प्रधानमन्त्रीलाई भैँसी चढेको भन्ने शब्द हटाउने÷नहटाउने भन्ने विषयमा लफडा गर्न थाले । सभामुखलाई सभा सञ्चालन सकस पर्न थालेपछि उनले अन्तिममा भैँसी चढेर आएको भन्ने शब्द रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित