FLASH NEWS
  • Loading...

डोनाल्ड ट्रम्पलाई खुसी पार्न उत्तरी छिमेकी क्यानडाले ‘चाइना कार्ड’ खेलेको भन्दै चीनको आपत्ति

  • गोल्डेन खबर
  • १ महिना अघि
  • ४९ पटक पढिएको
डोनाल्ड ट्रम्पलाई खुसी पार्न उत्तरी छिमेकी क्यानडाले ‘चाइना कार्ड’ खेलेको भन्दै चीनको आपत्ति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खुसी पार्न उत्तरी छिमेकी क्यानडाले ‘चाइना कार्ड’ खेलेको भन्दै चीनले आपत्ति जनाएको छ।

गत नोभेम्बरमा राष्ट्रपतीय निर्वाचन जितेदेखि ट्रम्पले क्यानडाबाट आउने सबै सामानमा २५ प्रतिशत भन्सार लगाउने र  क्यानडालाई अमेरिकाको ५१ औं राज्य बनाउने भनिरहेका छन्।

सोही धम्की अनुसार उनले फेब्रुअरी ४ देखि लागु हुने गरी क्यानडा र मेक्सिकोबाट आउने आयातमा २५ प्रतिशत भन्सार महसुल लगाउने फेब्रुअरी १ मा घोषणा गरेका थिए। क्यानडाबाट आउने कच्चा तेलमा भने उनले १० प्रतिशत मात्रै भन्सार लगाउने भनेका थिए।

सो निर्णय ३० दिनका लागि रोके पनि उनले त्यसपछि फेरि भन्सार लगाउने खतरा अझै टरेको छैन। ट्रम्पले त्यसपछि अमेरिकामा आउने सबै स्टील र आल्मुनियममा मार्च १२ गते देखि लागु हुने गरी थप २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका छन्। क्यानडाले ठूलो मात्रामा अमेरिकालाई स्टील र आल्मुनियम निर्यात गर्ने भएकाले सो निर्णयले पनि क्यानडालाई असर गर्नेछ।

ट्रम्पले आफ्नो उत्पादनमा भन्सार नलगाउन् भनेर फकाउन क्यानडाका सबै १० प्रान्त र तीन क्षेत्रका सरकार प्रमुखले गत हप्ता अमेरिकाको भ्रमण गरेका थिए। इतिहासमा पहिलो पटक क्यानडाका सबै १३ प्रान्तीय सरकार प्रमुखले एकै पटक वाशिङटन भ्रमण गरेका हुन्।

सो भ्रमणमा उनीहरूले अमेरिकाको उच्च आर्थिक वृद्धि र चीनसँगको प्रतिस्पर्धामा क्यानडाले सघाउने भनेर ट्रम्प सरकारका उच्च अधिकारीहरूलाई आश्वासन दिएको बताइन्छ।

चिनियाँ कम्युनिस्ट पार्टीको अंग्रेजी मुखपत्र ग्लोबल टाइम्सले शनिबार त्यसबारे सम्पादकीय लेख्दै क्यानडाले ‘चाइना कार्ड’ खेलेर चीनलाई अमेरिका र क्यानडाको संयुक्त दुश्मनका रूपमा चित्रण गर्न खोजेको भनेर आपत्ति जनाएको छ। क्यानडाले त्यसो गरेर राजनीतिक अवसरवाद र कूटनीतिक बचपना देखाएको भनेको छ।

स्थिर अर्थतन्त्र र प्रचुर प्राकृतिक स्रोत भएको क्यानडाले स्वतन्त्र विदेश नीति अपनाउन सक्ने क्षमता भए पनि क्यानडाले अमेरिकाको भू-राजनीतिक खेलमा प्यादाको भूमिका खेल्न राजी भएको ग्लोबल टाइम्सले आरोप लगाएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्प उत्तरी छिमेकीलाई अमेरिकाको ५१ औं राज्य बनाउनेबारे गम्भीर रहेको ठानेर क्यानडा चिन्तित छ।

गत आइतबार राति भएको अमेरिकी फुटबल लिगको फाइनल खेल (सुपर बोल) अघि फक्स न्युज टेलिभिजनलाई दिएको अन्तर्वार्तामा क्यानडालाई अमेरिकामा गाभ्ने उनको कुरा साँच्चै हो भनेर सोध्दा ट्रम्पले ‘हो’ भनेका थिए।

‘क्यानाडा ५१ औं राज्य भएमा धेरै राम्रो हुनेछ किनभने हामीले क्यानडासँग वार्षिक दुई खर्ब डलर गुमाउँछौं। र म यो हुन दिनेछैन। हामी खासमा क्यानडालाई सहुलियत दिए जसरी किन हरेक वर्ष दुई खर्ब डलर डलर तिरिरहेका छौं?,’ ट्रम्पले प्रश्न गरेका थिए।

क्यानडालाई अमेरिकाले सहुलियत दिएको ट्रम्पले दाबी गरे पनि क्यानडालाई अमेरिकाले सहायता दिने होइन। अमेरिकाले प्राकृतिक स्रोतले भरपूर क्यानडाबाट कच्चा तेल र कृषि अनि औद्योगिक उत्पादन किन्ने गर्छ।

अमेरिकाको क्यानडा सँगको व्यापार घाटा बढेर सन् २०२३ मा ७३ अर्ब डलर पुगेको थियो। यो मुख्यतः ठूलो परिमाणमा पेट्रोलियम पदार्थ किनेका कारण हो।

ट्रम्पले गत नोभेम्बरमा चुनाव जिते लगत्तैदेखि क्यानडालाई अमेरिकाको ५१ औं राज्य बनाउनुपर्ने टिप्पणी गरिरहेका छन्। उनले केही साताअघि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई ‘महान राज्य क्यानडाका गभर्नर’ भनेर सम्बोधन गरेका थिए।

ट्रुडोलाई उडाउन वा उनीमाथि दबाब सिर्जना गरेर आफू अनुकूल व्यापार सम्झौता गर्न ट्रम्पले यस्तो टिप्पणी गरेको मानिन्थ्यो।

ट्रम्प उदारवादी डेमोक्र्याटिक पार्टीलाई गाली गरेर दोस्रो पटक राष्ट्रपति निर्वाचित भएका हुन्। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो पनि उदारवादी नेता हुन्। उनीसँग आप्रवासी, जलवायु परिवर्तन लगायतका अन्तर्राष्ट्रिय मुद्दामा ट्रम्पको पहिलो कार्यकालदेखि नै चरम मतभेद थियो।

ट्रम्पले सत्ता सम्हालेको पहिलो दिन नै क्यानडाबाट आउने सामानमा २५ प्रतिशत भन्सार लगाउने धम्की दिइरहेका थिए। सोही धम्की अनुसार उनले फेब्रुअरी ४ देखि लागु हुने गरी क्यानडा र मेक्सिकोबाट आउने आयातमा २५ प्रतिशत भन्सार महसुल लगाउने फेब्रुअरी १ मा घोषणा गरेका थिए। उनले अवैध आप्रवासी र लागुपदार्थ अमेरिका पठाएकाले मेक्सिको र क्यानडालाई भन्सार लगाउने भनेका थिए।

अमेरिकाका दुई प्रमुख व्यापार साझेदार अनि उत्तर र दक्षिणका छिमेकीले उनको सीमा सुरक्षा र लागूऔषध तस्करीबारे चिन्ताहरूको सम्बोधन गर्ने भने पछि अन्त्यमा उनले आफ्नो कदम ३० दिनका लागि रोकेका छन्।

  • 1
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित