- Loading...
प्रमाणीकरणबिनै लगाइयो एचपिभी खोप: स्वास्थ्य मन्त्रालयको अभियानमाथि प्रश्न
- गोल्डेन खबर
- १ महिना अघि
- ५५ पटक पढिएको

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्यादै तामझामका साथ सम्पन्न गरेको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा लगाइएको चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्राण्डको खोप प्रमाणीकरणनै (लट रिलिज) नगरी लगाइएको खुलेको छ।
स्वास्थ्य मन्त्रालयले गत गत माघ २२ देखि फागुन ६ गतेसम्म देशव्यापी रूपमा यो खोप अभियान सञ्चालन गरेको थियो। खोप लगाउने संख्या पनि सरकारी लक्ष्य अनुसार उत्साहजनक रहेको देखिन्छ। तर यसरी देशव्यापी रूपमा लगाइएको खोप नेपालमा ल्याएर त्यसको प्रमाणीकरण नै नगरी लगाइएको खुलेको हो।
यसअघि नेपालमा लगाउन खरिद गरेर होस् वा दाताले अनुदान दिएर ल्याइएका खोप हुन् ती खोप ल्याइएपछि भ्याक्सिन तथा औषधि उत्पादक कम्पनीले दावी गरेको मापदण्डअनुसार आएको छ छैन भनेर देशकै सरकारी नियामक निकायले प्रमाणीकरण गरेपछि मात्र आममानिसमा लगाइन्थ्यो।
यसका लागि स्वास्थ्य सेवा विभागको सिफारिसमा औषधि व्यवस्था विभागअन्तर्गतको राष्ट्रिय औषधि प्रयोगशालामा खोपको गुणस्तरको प्रमाणीकरण गरेर मात्रै खोप लगाइन्थ्यो।
तर योपटक राष्ट्रिय रूपमा लगाइएको एचपिभी खोप भने सिधै आममानिसमा लगाइएको हो। जसले गर्दा खोप जस्तो संवेदनशील विषयमा सरकार कति खेलाची गरेको रहेछ भन्ने प्रष्ट हुन्छ।
खोप प्रमाणीकरण भएको थियो वा थिएन भन्ने प्रश्नमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले भने‚ ‘भन्सार छुटका लागि मैले सिफारिस गरेको हुँ तर खोप लट रिलिज भएको बारे मलाई जानकारी भएन।’
यता स्वास्थ्य स्वास्थ्यसेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखा प्रमुख डा. अभियान गौतमले भने सम्पूर्ण प्रक्रिया पूरा गरेर खोप लगाइएको बताउँछन। तर हालै मात्र लगाइएको एचपिभी खोपको खोप प्रमाणीकरण नै नगरी लगाइए छ नि भन्ने थाहाखबरको प्रश्नमा उनले भने‚ ‘कोभिडको समयमा ल्याइएको खोप सम्बन्धी अध्यादेशमा यो व्यवस्था थियो‚ अहिले छैन हाल हामीले लगाइएको एचपिभी खोपको गुणस्तरमा शंका गर्नुपर्ने ठाउँ छैन। सम्पूर्ण मापदण्ड पूरा गरेर खोप लगाइएको छ।’
के हो खोप प्रमाणीकरण (लट रिलिज) भनेको?
नेपालमा जति पनि खोप कार्यक्रम छन् ती नियमित सञ्चालन भएका खोप कार्यक्रममा प्रयोग हुन आउने प्रत्येक खोप प्रमाणीकरण गर्ने व्यवस्था छ।
विशेषगरी खोप उत्पादन गरेको कम्पनीले भने बमोजिमको खोप उत्पादन गरेर पठाएको छ छैन भनेर खोपको प्रमाणीकरण गरिन्छ। यसका साथै विशेषगरी खोपको लगाइ सक्नुपर्ने मिति कहिलेसम्म थियो? कति छ? दाताबाट आएको भए कुन ब्याचको आएको हो, सो खोप उत्पादन भएको मिति, म्याद त्यसमा प्रयोग भएका तत्वहरूको गुणस्तरीयता, खोपका लागि तोकिएको तापक्रमको व्यवस्थापनलगायतका जस्ता महत्त्वपूर्ण विषय जस्ता विषय प्रमाणित गरेपछि मात्रै खोप गुणस्तरीय रहेको भनेर आममानिसमा लगाइन्छ।
औषधि ऐन, २०३५ ले औषधि र औषधिजन्य वस्तुको गुणस्तर यकिन गर्ने अधिकार औषधि व्यवस्था विभागलाई दिएको छ।
यदि ती कुरामा शंका लागेमा औषधि व्यवस्था विभागले तत्काल खोपको प्रयोग रोक्न सक्ने अधिकार पनि छ। विभागअन्तर्गतको प्रयोगशालाबाट लट रिलिज भएपछि मात्र प्रयोग गर्न सक्ने उल्लेख छ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले पनि विश्व स्वास्थ्य संगठनको असल उत्पादन अभ्यास (जिएमजी) प्रमाणिक कम्पनीबाट उत्पादित प्रिक्वालिफाइड औषधिलाई पनि सम्बन्धित देशको औषधि नियामक निकायले खेप प्रमाणीकरण गरेर मात्र प्रयोग गर्नुपर्ने निर्देशिका जारी गरेको छ।
डब्लूएचओको गाइडलाइन फर इन्डिपेन्डेन्ट लट रिलिज वा भ्याक्सिन वाई रेगुलारिटी अथोरिटीमा नेशनल रेगुलारिटी अथोरिटी (एनआरए) वा नेशनल कन्टोल ल्याब्रोटरी (एनसीएल)ले प्रत्येक लटको प्रमाणीकरण गर्नेपर्ने बाध्यकारी व्यवस्था गरेको छ। खोप ऐनलाई कार्यान्वयन गर्न बनेको खोप नियमावली, २०७४ को दफा ४ मा खोप सम्बन्धी मापदण्ड उल्लेख गरिएको छ।
जसको (ङ) मा खोप निकासी गर्ने देशको नियामक निकायबाट लट रिलिज प्रमाणपत्र प्राप्त गरेको उल्लेख छ भने (च) मा मन्त्रालयले समय समयमा तोकेका अन्य मापदण्ड पूरा गरेको भन्ने उल्लेख छ । औषधि ऐन र खोप ऐनलाई टेकेर २०७७ सालमा औषधि सल्लाहकार समितिको सिफारिसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको औषधि खोपको आपत्कालीन प्रयोग सम्बन्धी संहिताको बुँदा नम्बर १२ मा प्रचलित कानुन बमोजिम हुने शीर्षकको उपदफा ४ मा खोपको हकमा पैठारी गरिने खोपहरूको प्रत्येक पटक खेप (लट रिलिज) प्रमाणीकरण गर्नुपर्ने उल्लेख गरेको छ।
तर यी सबै विषयलाई बेवास्ता गरी सरकारले योपटक करिब १५ लाख किशोरीलाई चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्राण्डको खोप लगाइसकेको छ। स्मरण रहोस् यसअघि पनि इनोभ्याक्सले उपत्पादन गरेको कोभिड १९ विरुद्धको भेरोसेल खोप नेपालमा ल्याएर प्रमाणित गर्दा नेपालमा प्रयोग गर्न नमिल्ने देखिएपछि त्यो खोप अझै त्यसै थन्किएको छ।
हुनत यो समाचार तय गर्दा सम्म हालै सम्पन्न भएको एचपिभी खोप लगाएपछि कुनै आकस्मिक घटना या अवाञ्छित प्रतिकूल असर देखिएको घटना बाहिरिएको छैन।
स्वास्थ्य सेवा विभागमा एक कर्मचारीले भने‚ ‘गाभीले दिएको र विश्व स्वास्थ्य संगठन र युनिसेफ मार्फत आएको हुँदा विश्वासको भरमा एचपिभी खोप लगाइयो।’
खोप शाखाले भने गत गत माघ २२ देखि फागुन ६ गतेसम्म देशव्यापी रूपमा यो खोप अभियान सञ्चालन भएको यो खोप अभियानमा करिब ९२ प्रतिशतले खोप लगाएको जनाएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले ६ फागुन (हिजो)सम्म चलेको खोप अभियान १४ लाख २८ हजार ८८९ जना किशोरीले खोप लिएको जनाएको छ।
मनाङ, मुस्ताङ, हुम्ला र डोल्पामा अहिलेसम्म खोप अभियान सुरु भएको छैन। यद्यपि ती जिल्लामा कुल ७ हजार ८८ जना जति किशोरी रहेका छन्। अब फागुनको तेस्रो सातादेखि ती जिल्लामा खोप अभियान चल्ने जनाएको छ।