FLASH NEWS
  • Loading...

बागमतीमा फोहोर सङ्कलन गर्न ‘ट्रास ब्यारियर’

  • गोल्डेन खबर
  • १ महिना अघि
  • ६९ पटक पढिएको
बागमतीमा फोहोर सङ्कलन गर्न ‘ट्रास ब्यारियर’

काठमाडौँ, पुस ७ गते । बागमती नदी सरसफाइका लागि आधुनिक प्रविधिको प्रयोग आरम्भ गरिएको छ । अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले नदीमा फालिएका तैरिने फोहोर पदार्थ सङ्कलन गर्न ट्रास ब्यारियर राखेको हो ।

समितिका आयोजना उपनिर्देशक, सिनियर डिभिजनल इन्जिनियर एवं सूचना अधिकारी उद्धव नेपालका अनुसार बागमती नदी र बागमती नदीका सहायक खोलामा तैरिने फोहोर पदार्थ सङ्कलन गर्न ट्रास ब्यारियर राखिएको हो ।

उहाँले भन्नुभयो, “बागमतीका पाँच स्थान गोकर्ण ब्यारेजभन्दा माथि, गुह्येश्वरी मन्दिरभन्दा माथि, तिलगङ्गा आँखा अस्पतालनजिक, बागमती मनोहरा दोभान, युएन पार्क र मनोहरा नदीमा एक स्थान कर्मनाशा दोभाननजिकै ट्रास ब्यारियर राखेर पानीमा बगेर आउने पोलिथिनसहितका फोहोर सङ्कलन थालिएको हो ।”

उहाँले ट्रास ब्यारियर नदीमा तैरिएर बग्ने फोहोर सङ्कलन गर्ने प्रभावकारी उपाय रहेको र बोतल, काठका टुक्रा, कपडासहितका फोहोर वस्तुलाई रोकेर निश्चित स्थानमा जम्मा गराउने संरचना भएको बताउनुभयो ।

‘पानी बग्न अवरोध हुँदैन’

काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती, मनोहरा र धोबीखोला जस्ता नदीमा सहरीकरण, अव्यवस्थित फोहोर व्यवस्थापन र जनचेतनाको कमीका कारण ठुलो मात्रामा तैरिने फोहोर बग्ने गरेको छ ।

उपनिर्देशक नेपालले समितिले परीक्षणका लागि छ ठाउँमा ट्रास ब्यारियर राखेको बताउनुभयो । उहाँका अनुसार २०८२ साउन ५ गते प्रविधि इन्टरनेसनलसँग ६५ लाख रुपियाँमा सम्झौता भई ट्रास ब्यारियर खरिद गरिएको हो । उहाँले नदीको बहावलाई अवरुद्ध नगरी नदीमा पानीको सतह घटबढसँगै ट्रास ब्यारियरको सतह आफैँ तलमाथि हुने बताउनुभयो । उहाँले नदी प्रदूषण न्यूनीकरण गर्न सहयोग पुग्ने र ट्रयास ब्यारियरबाट सङ्कलित फोहोरलाई नियमित रूपमा निकालेर वर्गीकरण, पुनः प्रयोग तथा सुरक्षित रूपमा व्यवस्थापन गर्न सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नदी प्रदूषण न्यूनीकरण गर्न र नदीको सौन्दर्य, जलजीवको संरक्षण र सार्वजनिक स्वास्थ्यमा सकारात्मक योगदान पु¥याउँछ । त्यसैले काठमाडौँका नदीमा ट्रास ब्यारियरको प्रयोग प्रवर्धन गर्नु दीर्घकालीन नदी संरक्षणका लागि आवश्यक मानिएको हो ।”

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित