- Loading...
मार्टिनेली ह्याट्रिकको मद्दतमा आर्सनलले पोर्ट्समाउथ ४-१ ले पराजित गर्दै एफए कपको चौथो चरणमा प्रवेश

- गोल्डेन खबर
- २ हप्ता अघि
- १२० पटक पढिएको
ग्याब्रियल मार्टिनेलीले ह्याट्रिक गरेपछि आर्सनलले पोर्ट्समाउथलाई ४-१ ले पराजित गर्दै एफए कपको चौथो चरणमा स्थान बनाएको छ।
फ्राटन पार्कमा भएको खेलको तेस्रो मिनेटमै कोल्बी बिसपले गोल गर्दै च्याम्पियनसिप क्लब पोर्ट्समाउथलाई अग्रता दिलाएपछि आर्सनल दबाबमा परेको थियो। यो खेलमा आर्सनलले सुरुआती टोलीमा १० परिवर्तन गरेको थियो।
तर आठौं क्रिस्टियन नोर्गार्डको प्रयास पोर्ट्समाउथका आन्द्रे डोजेललाई लाग्दै गोलमा परिणत भएपछि खेल बराबरीमा पुगेको थियो।
२५औँ मिनेटमा नोनी माडुकेको कर्नरमा मार्टिनेलीले हल्का टच गर्दै गोल गरेपछि आर्सनलले अग्रता लियो।
यसअघि माडुकेले पेनाल्टीबाट गोल गर्ने मौका पाए पनि उनको प्रहार सफल भएन ।
५१ औं ग्याब्रियल जेससको लो क्रसमा मार्टिनेलीले नजिकबाट गोल गरे। ७२ औं मिनेटमा मार्टिनेलीले गोल गर्दै ह्याट्रिक पूरा गरे।
खेलको अन्त्यतिर १६ वर्ष १ सय ३५ दिनका डिफेन्डर मार्ली साल्मन एफए कपमा आर्सनलका लागि खेल्ने सबैभन्दा कान्छा खेलाडी बने। यो जितसँगै आर्सनल एफए कपको चौथो चरणमा पुगेको छ।
युनाइटेड एफए कपबाट बाहिर
म्यानचेस्टर युनाइटेड एफए कपबाट बाहिरिएको छ। पूर्व खेलाडी ड्यानी वेलबेकको गोलको सहयोगमा ब्राइटनले ओल्ड ट्राफोर्डमै २-१ ले हराएपछि युनाइटेडको एफए कपको यात्रा टुंगिएको छ।
१२ औं मिनेटमा ब्रायन ग्रुडाले गोल गर्दैै ब्राइटनलाई अग्रता दिलाए। ६४औं वेलबेकले शक्तिशाली प्रहारमार्फत ब्राइटनको दोस्रो गोल गरे। यो वेलबेकको युनाइटेडविरुद्धको आठौँ गोल हो।
खेलको अन्तिम पाँच मिनेट बाँकी रहँदा बेन्जामिन सेस्कोले हेडरमार्फत युनाइटेडका लागि गोल गर्दै आशा जगाए। तर अन्तिम मिनेटमा १८ वर्षीय खेलाडी शिया लेसी रातो कार्ड पाएपछि युनाइटेड थप कमजोर बन्यो र ब्राइटनले अग्रता जोगाउन सफल भयो।
यो जितसँगै ब्राइटनले १३ पटकको एफए कप विजेता युनाइटेडविरुद्ध सातौँ प्रयासमा पहिलो पटक एफए कपमा जित हात पारेको छ । ब्राइटन चौथो चरणमा प्रवेश गरेको छ।
हारसँगै युनाइटेड यो सिजन दुवै घरेलु कप प्रतियोगिता (एफए कप र लिग कप) बाट प्रारम्भिक चरणमै बाहिरिएको छ । यस्तो सन् १९८१–८२ पछि पहिलो पटक भएको हो। यसअघि युनाइटेड लिग टु क्लब ग्रिम्स्बीबाट लिग कपमा पराजित भएको थियो।
हाल युनाइटेड प्रशिक्षकविहीन अवस्थामा छ। डारेन फ्लेचरको अन्तरिम जिम्मेवारीमा टोलीले बर्न्लीसँग बराबरी खेलेको थियो भने अहिले घरेलु मैदानमस हार भोगेको छ।
युनाइटेडले पछिल्ला सात खेलमध्ये केवल एक खेल मात्र जितेको छ। टोलीको आगामी खेल म्यानचेस्टर सिटी र आर्सनलजस्ता उपाधि दाबेदारसँग खेल्नुपर्नेछ।
क्लबले छिट्टै सिजनको अन्त्यसम्मका लागि प्रशिक्षक नियुक्तीको तयारी गरेको छ। ओले गुन्नार सोल्स्कजाएर र माइकल क्यारिक मुख्य दाबेदारका रूपमा हेरिएका छन्।














