FLASH NEWS
  • Loading...

‘टोली बनाउनै गाह्रो ! दुई-तीन जना भए पनि खेल्छौं’

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८१ पटक पढिएको
Post Thumbnail

36

१५ मंसिर, काठमाडौं । पाकिस्तान विरुद्ध ४७ रनमा अलआउट । श्रीलंका विरुद्ध २३ र बंगलादेश विरुद्ध ४१ रनमा अलआउट ।

महिला एसिया कपमा नेपालको यस्तो प्रदर्शन देख्दा धेरैलाई लाग्छ, कस्तो झुर खेलेको ! हामी त धेरै कमजोर रहेछौं !

तर, यो निष्कर्ष निकाल्नुअघि एक पटक सोच्नुस् त, हाम्रा चेलीहरुले कसरी तयारी गर्छन् ?

मिडियम पेश बलर सबनम राई टिम अभावको समस्या राख्दै भन्छिन्, ‘एक जना ब्याट्सवुमन राखेर म बलिङ गर्छु । रुविना दिदीले कुनै बेला फिल्डिङ गरिदिनुहुन्छ, कोही बेला फिल्डिङ गर्नुहुन्छ । त्यसरी खेल्छौं ।’

झापाकी सबनमले विश्वकप छनोटमा डेब्यू गरिन् र अहिले थाइल्याण्डमा एसिया कप खेलिरहेकी छन् । तर, प्रतियोगिता अगाडि हुने छोटो अवधिको बन्द प्रशिक्षणलाई छाड्ने हो भने नेपाली महिला टोलीका धेरै सदस्यले राम्ररी खेल्नै पाएका हुँदैनन् ।

सशस्त्र प्रहरीको एपीएफ क्लबमा आबद्ध भएकाहरुले दैनिक अभ्यास गर्ने मौका पाएका छन् । तर, अरुका लागि अभ्यास गर्न चाहिने न्यूनतम टिम बनाउन नै हम्मेहम्मे पर्ने अवस्था छ ।

***

गृहजिल्ला झापामै १२ कक्षामा अध्ययनरत सबनम राईले क्रिकेट खेल्न थालेको ६/७ वर्ष भयो । बाल्यकालमा उनले ब्याट समाउने मौका पाइनन् । स्कूलमा पनि भलिबल मात्र खेलिन् ।

बैंकक उड्नुअघि अनलाइनखबरसँगको भेटमा उनले सम्झिइन्, ‘विरु श्रेष्ठ सरले स्कूलबाट खेल्न भन्नुभो । सुरुमा रहन नै लागेन । तर, साथीहरुको करमा क्रिकेट खेलेँ ।’

त्यसपछि झापाको मिलन क्रिकेट क्लबबाट खेलिन् । पूर्वाञ्चल हुँदै नेपालको राष्ट्रिय टोलीमा परेकी छन् ।

एक समय त यस्तो आयो, अरुलाई सम्झाउने र क्रिकेटमा ल्याउने प्रयास गर्दै हिँडेकी सबनम आफैंले क्रिकेट छाडेकी थिइन्

प्रतियोगिता नभएको बेला उनी झापामै बसेर अध्ययन गर्छिन् । दैनिक एक/डेढ घन्टा क्रिकेट खेल्छिन् । तर, टोली बनाउनै गाह्रो छ । ‘दुई जना, तीन जना भए पनि हामी खेल्छौं । रुविना (क्षेत्री) दिदीले क्याचहरु गराउनुहुन्छ । एक जना ब्याट्सवुमन राखेर बलिङ गर्छु’, उनले भनिन् ।

***

रुविना क्षेत्री र सबनम राईहरुले झापाका स्कूलहरुमा गएर क्रिकेट सिकाएका पनि छन् । तर, आकर्षण छैन । सबनमकै बहिनी क्रिकेट छाडेर फुटबल खेल्न थालेकी छन् । ‘स्पोर्टसमा लागेर काम छैन भनेर परिवारले खेल्न दिँदैनन्,’ तीतो अनुभव सुनाइन् ।

एक समय त यस्तो आयो, अरुलाई सम्झाउने र क्रिकेटमा ल्याउने प्रयास गर्दै हिँडेकी सबनम आफैंले क्रिकेट छाडेकी थिइन् ।

‘अब केही नहुने रहेछ, म पनि खेल्दिनँ भनेर ड्रेस, सुज सबै भाइबहिनीलाई दिएकी थिएँ’, सबनमले भनिन् ।

किन त ? उनले भनिन्, ‘खेल नभएको दुई वर्ष भइसकेको थियो ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित