FLASH NEWS
  • Loading...

भन्सार सुधारका लागी मुख्य नाकाहरुमा अत्याधुनिक स्क्यानर

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १०१ पटक पढिएको
Post Thumbnail

काठमाडौं– भन्सार क्षेत्रमा हुने विसंगती र समस्या हटाउन भन्सारमा सुधारको नितान्त आवश्यक देखिएपछि भन्सार सुधार तथा आधुनिकीकरण रणनीति एवं कार्यायोजनाको कार्य अगाडी बढाईएको छ ।
भन्सार क्षेत्रलाई आधुनिकीकरण एवं पारदर्शी बनाउदै व्यापार सहजीकरणका लागि पाचौ चरणको भन्सार सुधार तथा आधुनिकीकरण रणनीति एवं कार्यायोजना अगाडि बढाइएको हो ।
भन्सार विभागले आयोजना गरेको ६५ औ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आर्थिक वर्ष ०७४ साउनदेखि ०७८ सम्मका लागि चार वर्षीय पाचौ रणनीति सार्वजनिक गरेका हुन् । उक्त रणनीतिमा व्यापार सहजीकरण, सदाचारिता र सुशासन, स्वचालन, जनशक्ति विकास, भौतिक पूर्वाधार विकास, यात्रु जाचपास, राजस्व विचलनमा कमी, कानुनको स्वेच्छिक परिपालना, समाजको संरक्षण र सीमाको समन्वयात्मक व्यवस्थापनजस्ता रणनीति पहिचान गरिएको छ । उक्त रणनीतिको कार्यान्वयनपछि भन्सार प्रशासन प्रक्रिया सरल एवं स्वचालित हुने, भन्सारसग सम्बन्धित कानुन संशोधन भई क्योटो महासन्धि र विश्व व्यापार संगठनको व्यापार सहजीकरण सम्झौताको प्रावधान अनुकूल हुने भन्सार विभागको दाबी छ ।
त्यस्तै भन्सार विभागले एकैपटक मुख्य भन्सार नाकाहरुमा अत्याधुनिक स्क्यानर मेसिन जडान गर्ने भएको छ । यसका लागि चीन सरकारले सहयोग गर्नेछ । नाकाहरुमा कन्टेनरहरुलाई स्क्यान गर्न सकिने गरी मेसिन जोड्ने तयारी अघि बढेको हो । केहि समय अघी विमानस्थलबाटै भित्र्याएको ३४ किलो सुन काण्डमा भन्सार विभागका कर्मचारी मुछिएपछि स्क्यानर ल्याउने प्रक्रिया अघि बढेको हो । विमानस्थल र भन्सारको कमजोर सेक्युरेटी चेकका कारण अवैध तस्करी बढेको छ । यसैलाई ध्यानमा राखेर मुख्य भन्सार नाकाहरुमा आधुनिक स्क्यानर मेसिन जोड्न लागिएको हो ।
चीनले ११ वर्ष अघि नेपाललाई कन्टेनर स्क्यानर दिएको थियो । तर अहिले त्यो प्रयोगविहीन भएर थन्किएका छन् । ती मेसिन बिग्रिएको अवस्थामा अलपत्र छन् । एउटा मेसिन वीरगञ्जको सुख्खा बन्दरगाहमा थन्किएको छ भने एउटा त्रिभुवन विमानस्थलमै बिग्रिएर बसेको छ ।
त्यतिबेला चीनले त्रिभुवन विमानस्थलका लागि १८ करोड र वीरगञ्जका लागि २२ करोड खर्चिएर मेसिन दिइएको थियो । ४० करोडमा भित्रिएका ती मेसिन ०६३ सालमै नेपाल ल्याइएको थियो । तर, त्यसलाई प्रयोग गर्न विभागले चासो देखाएको थिएन । यसैगरी विभागले त्रिभुवन विमानस्थलमा ‘होल बडी चेक अप’का लागि पनि नया मेसिन जडान गर्ने प्रक्रिया अघि बढेको छ । यसका लागि टेण्डर आह्वान भइसकेको छ । कुल ११ करोड खर्चिएर विमानस्थलमा यो मेसिन जोड्न लागिएको हो । त्यसपछि भन्सार नाकाहरुमा स्क्यानिङ टुलहरु अत्याधुनिक हुने छ । चीनको सहयोगमा रसुवागढी, बीरगञ्ज, बिराटगर र मेची भन्सार नाकामा स्क्यानर मेसिन जोडिनेछ । यी मेसिनले कन्टेनरमा रहेको समानको स्क्यान गर्नेछन् र, कुनै अवैध वस्तु भेटिए तुरुन्त नियनत्रण लिएर कारवाही गर्नेछ ।
त्यसैगरी अर्थमन्त्री महराले व्यापार प्रक्रियामा लाग्ने समय पहिचान गर्न सकिने प्रतिवेदन सार्वजनिक गर्नुका साथै निर्यात तथा आयातकोड हस्तान्तरण गरे । उनले भन्सार विभागको भूमिकाले अन्तर्राष्ट्रिय क्षेत्रमा असर पार्ने भएकाले यसलाई विश्वसनीय बनाउनुपर्ने बताए । अगामी दिनमा आवश्यक नीति तयार गरी राजस्व बोर्ड गठन गरेर राजस्व क्षेत्रलाई व्यवस्थित एवं आधुनिकीकरण गर्दै लैजाने उनले प्रतिबद्धता व्यक्त गरे । तथ्यांकमा आधारित प्रणाली आधार (डेटा बेस)मार्फत भन्सारलाई आधुनिकीकरण गरिने मन्त्री महराको भनाइ थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित