FLASH NEWS
  • Loading...

वर्षाको कारण जाडोले जनजीवन प्रभावित

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७२ पटक पढिएको
Post Thumbnail


काठमाडौंमा शुक्रबार विहानदेखि परेको वर्षाको कारण जाडोले जनजीवन प्रभावित भएको छ । केहि दिन अगाडीदेखि केहि गर्मी महसुस गरे पनि विहिबार भने काठमाडौंमा निकाई जाडो भएको थियो । तर यो वर्षासंगै तापक्रममा केहि वृद्धि हुने विश्वास गरिएको छ ।
काठमाडौंमा जाडो बढे पनि धूलोको समस्या भने केहि कम भयो । धूलोले श्वासफेर्न नै कठिनाई भएको अवस्थामा पानीले केहि राहत दिएको महसुस काठमाडौंवासीले गरे ।
त्यस्तै गोरखाको उत्तरी क्षेत्रमा हिमपात भएसँगै चिसो बढेको छ । बिहीबार रातिदेखि हिमपात भएपछि स्थानीयहरुलाई जाडोले सताउन थालेको हो ।
सामान्य हिमपातसँगै हावाहुरी चलिरहेकोले जाडो निकै बढेको छ । गोरखाको सामागाउँ, सिर्दिवास, चुम्चेत, लाप्राकलगायत अन्य उत्तरी गाविसमा हिमपात भएको छ ।
यो वर्षकै ठूलो हिमपातले हुम्लाका उत्तरी क्षेत्रका वासिन्दाको जीवन कष्टकर बन्दै गएको छ । शुक्रबार बिहानदेखि लगातार हिमपात भएपछि अहिले हुम्ला सदरमुकाम सिमकोटमा झण्डै दुई फिट अग्लो हिउँ जमेको छ । जिल्लाको उत्तरी क्षेत्रका लिमी र मुचुमा साढे तीन फिट हिउँ जमेको छ ।
शुक्रबार बिहानदेखि लगातार परेको हिउँले स्थानीय वासिन्दा घरबाट निस्कनै सकेका छैनन् ।
शुक्रबार हिउँ परेपछि त्यहाँको तापक्रम माइनस २१ पुगेको छ । चिसोले खाने पानी लिन पनि जान नसक्दा स्थानीयवासी आँगनमा परेको हिउँलाई आगोमा पगालेर खाने गरिरहेका छन् ।
हिउँले उत्तरी क्षेत्रका खगाउलगाउँ, हेप्का, स्याँडाको जनजीवन समेत निकै कष्टकर बनाएको छ ।
हिमपातले जिल्ला सदरमुकाम सिमकोट आसपासको जनजीवन पनि निकै प्रभावित बनेको छ । यसभन्दा अघी माइनस १३ मा झरेको तापक्रम आज माइनस १८ पुगेको छ ।
त्यस्तै कर्णालीमा पनि भारी हिमपात भएको छ । यसअघि दुईपटक सामान्य रुपमा त्यहा हिमपात भएको थियो । कर्णालीमा शुक्रबार बिहानैदेखि हिमपात सुरु भएको हो । हिमपातपछि अत्यधिक रुपमा चिसो बढेको छ ।
हिउँदको अन्त्यमा भारीमात्रामा वर्षा भएपछि किसान खुसी भएका छन् भने शुक्रबार बिहानदेखि कर्णालीमा चिसो बढेको छ । बिहान करिब ५ बजेदेखि नै पानी परेको र सात बजेदेखि हिउँ पर्न थालेपछि यहाँको जनजिवन कष्टकर भएको छ ।
बिहानैदेखि कर्णालीका जुम्ला, मुगु, हुम्ला, डोल्पा र कालिकोट जिल्लामा हिमपात भएको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ । कालिकोट र जुम्ला बाहेक कर्णालीमा अन्य जिल्लामा यातायातको एकमात्र साधनका रुपमा रहेको हवाइ यात्रा समेत निरन्तर हिमपातका कारण ठप्प भएको छ ।
हिमपात हुने क्रम जारी छ, हिउँ परेपछि दैनिक हुने धेरैजसो कामकाज सबैका प्रभावित भएका भएका छन् । बजार बन्द हुनुका साथै शुक्रबार सरकारी कार्यालयमा समेत कामकाज ठप्प भएको छ ।
हिउँ परेपछि जुम्लामा विद्युत सेवा प्रभावित भएको छ । सोलारबाट सञ्चालन हुने कर्णालीका सञ्चार माध्यमहरु पनि दिनभर घाम नलागेपछि बन्द हुने अवस्थामा पुगेका छन् ।
शुक्रबार साँझसम्म जुम्लामा १४ सेन्टीमिटर हिउँ परेको छ । बिहीबारसम्म अधिकतम २० डिग्री रहेको तापक्रम शुक्रबारको हिमपातपछि १ डिग्री मा झरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित