FLASH NEWS
  • Loading...

हेटौडामा ५३ करोडको विद्युत् चुहावट

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९३ पटक पढिएको
Post Thumbnail

काठमाडौं—मुलुकलाई अध्यारोमा राखेर आफु मोटाउन रमाएका विभिन्न कार्यालय, प्राधिकरण र उद्योगहरुको वास्तविकता अब छर्लन्न भएको छ । यसरी विद्युत चुहावट गर्ने मध्ये नेपाल विद्युत् प्राधिकरणको हेटौँडा क्षेत्रीय कार्यालय पनि परेको छ । यस कार्यालयअन्तर्गत ५२ करोड ६५ लाख ४८ हजार बराबरको विद्युत् चुहावट भएको पाइएको छ ।
प्राधिकरणको कलैया वितरण केन्द्र र गौर वितरण केन्द्रबाट मात्र गत आर्थिक वर्षमा सबैभन्दा बढी विद्युत् चुहावट भएको क्षेत्रीय कार्यालयको तथ्यांकमा उल्लेख छ । ती दुई वितरण केन्द्रमा मात्रै ५३ प्रतिशतको हाराहारीमा चुहावट भएको पाइएको छ ।
ग्रामीण क्षेत्रका साना घर, पसलले भने आफैँ हुकिङ गरेर विद्युत चोरी गरेपनि ठूला उद्योग, कलकारखाना, होटल, व्यवसायिक प्रतिष्ठानमा भने प्राधिकरणका कर्मचारीको मिलेमतोमा बिजुली चोरी हुने गरेको छ ।
प्राधिकरणको क्षेत्रीय कार्यालयअन्तर्गत गौर वितरण केन्द्रबाट वितरण गरिएको विद्युत्मा ५३ दशमलव ५१ प्रतिशत विद्युत चुहावट भएको छ । प्राविधिक चुहावट भने चोरीको तुलनामा कम भए पनि अधिकांश स्थानमा कर्मचारीको मिलेमतोमा चोरी भएको हुनसक्ने क्षेत्रीय कार्यालयले जनाएको छ । गौर वितरण केन्द्रमा मात्र गत आवमा ३३ करोड ३८ लाख ३१ हजार बराबरको विद्युत् चोरी भएको छ । एक वर्षमा यस केन्द्रबाट वितरण भएको विद्युतको चार करोड १७ लाख २८ हजार ९९४ युनिट चुहावट भएको थियो ।
यो विद्युत ग्रीड महाशाखाले दिएको आधाभन्दा धेरै चोरी भएर सकिने गरेको क्षेत्रीय कार्यालयले जनाएको छ । विद्युत् बढी चुहावट हुनुमा कर्मचारीको मिलेमतो छ की छैन भन्ने विषयमा अनुसन्धान भइरहेको प्राधिकरणले जनाएको छ । विद्युत् चुहावटका विषयमा धेरै थोरै भन्ने कुरा आफूले तथ्यांक हेरेर मात्र बताउन सक्ने भएपनि चोरी नियन्त्रण गर्ने प्रयासमा आफूहरु रहेको प्राधिकरण क्षेत्रीय कार्यालय हेटौँडाका प्रमुख पद्माकान्त झा बताएका छन् ।
गौर वितरण केन्द्रमा ग्रीड महाशाखाले गत आवमा सात करोड ७९ लाख ७८ हजार ९९७ युनिट विद्युत उपलब्ध गराएको थियो । त्यसमा गौर वितरण केन्द्रले तीन करोड ६२ लाख ५० हजार १२ युनिट बिक्री गरेको रकम मात्र संकलन गरेको छ । त्यसमध्ये बाँकी विद्युत चुहावट भएको हुनसक्ने गौर वितरण केन्द्रका निमित्त प्रमुख विनोदकुमार सिंहले बताए ।
यसैगरी, नेपाल विद्युत् प्राधिकरण कलैया वितरण केन्द्रअन्तर्गतका गाउँ र सहरमा पनि गत आवमा ५० दशमलव ३६ प्रतिशत विद्युत चुहावट भएको छ । यस वितरण केन्द्रअन्तर्गतको विभिन्न क्षेत्रमा गरी गत आवमा मात्र १९ करोड २७ लाख १६ हजार बराबरको विद्युुत् चोरी भएको तथ्यांक छ । सो वितरण केन्द्रलाई बितेको आवमा चार करोड ७८ लाख ३३ हजार ३७० युनिट विद्युत उपलब्ध गराएको थियो ।
उपलब्ध गराइएको मध्ये ५० प्रतिशतभन्दा बढी अर्थात् दुई करोड ४० लाख ८९ हजार ६१६ युनिट चुहावट भएको कलैया वितरण केन्द्रका प्रमुख बिनोदकुमार चौधरीको भनाइ छ । सो वितरण केन्द्रले गत आवमा दुई करोड ३७ लाख ४३ हजार ७५३ युनिट बिक्री गरेको रकम मात्र संकलन गरेको र अरु चुहावट भएको पाइएको छ । ऊर्जा मन्त्रालयले आगामी तीन महिनाभित्र बारा र कलैया वितरण केन्द्रअन्तर्गत हुने हुकिङ नियन्त्रण गर्न क्षेत्रीय कार्यालयमार्फत निर्देशन दिइसकेको छ । केही दिन पहिले ऊर्जामन्त्री जनार्दन शर्मा, ऊर्जा सचिव अनुपकुमार उपाध्याय र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको टोलीले हुकिङमुक्त क्षेत्र बनाउन निर्देशन दिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित