FLASH NEWS
  • Loading...

म्याद सिद्धिएको ‘माथिल्लो त्रिशुली–३ ए’मा तेस्रो पटक म्याद थप

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८४ पटक पढिएको
Post Thumbnail


काठमाडौं–गत वर्ष नै म्याद सिद्धिएको माथिल्लो त्रिशुली– ३ ए जलविद्युत् आयोजनाको म्याद तेस्रो पटक थपिएको छ ।नेपाल विद्युत् प्राधिकरण र ठेकेदार चाइना गेजुवा ग्रुप लिमिटेडबीच ६० मेगावाट क्षमताको सो आयोजना आउँदो ०७६ वैशाखसम्म सम्पन्न गर्ने सहमति भएको छ ।
थप ३४ महिनाभित्र काम सक्ने गरी नयाँ समझदारी भएको छ । म्याद थप्ने प्रस्ताव प्राधिकरण सञ्चालक समितिले अनुमोदन गरिसकेको छ । यस्तै परामर्शदाता नर्थवेस्ट हाइड्रो कर्पोरेशनको पनि म्याद थप भएको छ ।
म्याद थप भए पनि इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट (ईपीसी) मा ठेक्का सम्झौता भएकाले रकम थप हुने छैन् । भूकम्पले आयोजनाको पहुँच सडकका साथै बाँधमा ठुलो क्षति पु¥याएपछि आयोजनाको काम सुरु गर्न ढिलाइ भएको हो । आयोजनाको प्रवेश मार्ग खुलाउन र बाँधको दायाँ र बाँया दुबैतर्फको ठुलो पहिरो व्यवस्थापन गर्न नेपाली सेना परिचालन भइसकेको छ । जसको कारण सेनाले अहिले सडकको काम अघि बढाउन रोकि सुरु गरिसकेको छ ।
आउँदो जेठसम्म पहुँचमार्ग खुलाउन र पहिरो व्यवस्थापन गर्न सेनालाई जिम्ममा लगाईएको छ । सडकको काम सकिनासाथ ठेकेदारले अस्थायी बाँध (कफर ड्याम) बनाएर निर्माण काम सुरु गर्ने सहमति जनाएको छ ।आयोजनामा सडक बनाउन र पहिरो व्यवस्थापन गर्न सरकारले ६० करोड रुपैयाँ निकासा गरिसकेको छ ।
०७३ असार १५ गतेसम्म अर्थात २०१६ को जुन ३० सम्म सम्पन्न हुने गरी यसअघि पनि आयोजनाको दोस्रो पटक म्याद थप भएको थियो । चीनको आर्थिक सहयोगमा निर्माण सुरु भएकाले सिभिल, परामर्शदाता र प्रसारणलाइन निर्माणको ठेकेदार चिनियाँ कम्पनी संलग्न छन् । महाभूकम्प जानुअघि आयोजनाको ६५ प्रतिशत काम सकिएको थियो । ५ किलोमिटर सडक भूकम्पले ध्वस्त पारेकाले तलबाटै संरचना निर्माण गरेर अघि बढनुपर्ने अवस्था आएको छ । क्षतिग्रस्त ५ किलोमिटर लामो सडक पुनर्निर्माण, २ वटा ठूला पहिरो व्यवस्थापन, नगद प्रवाह बढाउन, आयोजनाको म्याद थप र ऋण सम्झौताको काम तत्काल सक्नुपर्ने भएको छ ।
कुल १२ अर्ब ४२ करोड रुपैयाँमा आयोजनाको सिभिल, परामर्शदाता र प्रसारणलाइन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । जसअनुसार हालसम्म ५ अर्ब ३९ करोड रुपैयाँ खर्च भइसकेको आयोजनाले जानकारी दिएको छ ।
क्षमता बढाएर ९० बनाउने विषयमा विवाद भएपछि आयोजनाको काम ६ महिना ढिलाइ भएको थियो । आयोजनामा परिचालन भएका निर्माण उपकरण भूकम्पले क्षतिग्रस्त भएकाले नयाँ उपकरण ल्याउन ठेकेदारले थप लगानी गर्नुपर्ने देखिएको छ । सन् २०११ मा ३५ महिनामा काम सम्पन्न गर्ने गरी चाइना गेजुवासँग इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट (ईपीसी) प्रारुपमा निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको थियो ।
पछि २६ महिना म्याद थपेर ०७३ असार १५ मा सम्पन्न गर्ने अर्को कार्यतालिका तयार गरिएको थियो । ईपीसी सम्झौता अनुसार थप काम (भेरियसन अर्डर) हुँदैन् । नुवाकोट र रसुवामा रहेको सो आयोजनाबाट वार्षिक ४८ करोड ९७ लाख ६० हजार युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ ।
यसैविच, भूकम्पले आयोजनाको काममा ढिलाइ भएपछि विद्युत् प्राधिकरणले अर्थ मन्त्रालयमार्फत ऋण म्याद ५ वर्ष थप गर्न नेपालले अनुरोध गरे पनि लगानीकर्ता चाइना निर्यात–आयात (एक्जिम) बैंकले थपेको छैन् । हालसम्म एक्जिम बैंकले ऋणको म्याद नथप्दा आयोजनास्थलमा ठेकेदार परिचालन भएपछि भूक्तानीमा समस्या आउने देखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित