FLASH NEWS
  • Loading...

आज मध्यरातबाट सरकारले भारतबाट थप २५ मेगावाट बिजुली आयात गर्ने

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६८ पटक पढिएको
Post Thumbnail


काठमाडौं–आज नेपाल विद्युत् प्राधिकरणले थप २५ मेगावाट विद्युत भारतदेखि ल्याउने भएको छ । ढल्केबर–मुज्जफपुर अन्तरदेशीय प्रसारणलाइनबाट थप बिजुली आयत गर्न लागिएको हो ।
४० मेगावाट विद्युत् आपूर्तिको सम्झौता भए पनि माग घटेको र प्रसारणलाइनमा केही प्राविधिक समस्या देखिएको भन्दै २५ मेगावाट मात्र आयात गर्न लागिएको जनाइएको छ । प्राधिकरणका अनुसार, भारतबाट ल्याउने भनिए जति बिजुली नल्याए पनि लोडसेडिङ नहुने बताइएको छ । प्राधिकरणले यो वर्षका लागि भारतबाट अब बिजुली थप नहुने पनि जानकारी गराएको छ ।
विद्युत् प्राधिकरण र एनभीभीएन विद्युत् व्यापार कम्पनी लिमिटेडबीच अन्तरदेशीय प्रसारणलाइनबाट थप ८० मेगावाट बिजुली खरिदबिक्रीको सम्झौता (पीपीए) भएको थियो ।
गत पुस १७ गतेदेखि थप ४० मेगावाट बिजुली थप भइसकेको छ । यस्तै सम्झौताअनुसार बुधबारदेखि ४० गरी ८० मेगावाट बिजुली आयात गर्ने सहमति भएको थियो । भारतबाट ३५५ मेगावाटसम्म बिजुली आयात भएकोमा २५ मेगावाट थपिएपछि कुल आयात बढेर ३८० मेगावाट पुग्नेछ । गत वर्ष ३४७ मेगावाटसम्म बिजुली आयात भएको थियो । हाल प्रणालीमा अझै ३९९ मेगावाट अपुग छ ।
बिजुली बचाउँ अभियान अन्र्तगत सुरुभएको ‘विषेश एक्सन’ अझै रोकिएको छैन् । सरकारले विशेष गरी विद्युत् चुहावटलाई रोक्न यो अभियान थालेको हो ।
उर्जा मन्त्रालयका अनुसार विषेश एक्सनमा सरकारले प्रहरीको सहायतामा विद्युत चोरीमा संलग्न प्राधिकरणका कर्मचारीदेखि अन्यलाई कारबाही गदैं आएको छ ।
त्यस्तै प्राधिकरणका प्रमुख कुलमान घिसिङले चुहावट हल गर्न कर्मचारीको सरुवा मार्फत सेटिङ् तोड्ने काम केही दिन अघि गरेका थिए । आधारभूत रुपमा लोडसेडिङ हटेपछि विद्युत् प्राधिकरण व्यवस्थापन चुहावट नियन्त्रणमा आफनो ध्यान केन्द्रित गरेको बताइन्छ । प्राधिकरणका अनुसार अहिले पनि चुहावट २५ प्रतिशत बढी छ । हाल बिजुलीको माग घटेर १ हजार २६५ मेगावाटमा सीमित भएको छ । उपत्यकासहित बाहिरका केही जिल्ला लोडसेडिङमुक्त भइसकेको छ भने अन्य क्षेत्रमा पनि दैनिक औसत २ घण्टा र उद्योगमा ४ घण्टासम्म लोडसेडिङ भइरहेको छ ।
पोखरालगायत अन्य धेरै क्षेत्र लोडसेडिङमुक्त भइसकेको प्राधिकरणले जनाएको छ । यस्तै वीरगञ्ज करिडोर पनि लोडसेडिङमुक्त हुँदैछ । आपूर्ति भारतबाट समेत गरी ८६६ मेगावाट भइरहेको छ । भारतबाट मात्रै ३५५ मेगावाट बिजुली आयात भइरहेको छ ।
विद्युत प्राधिकरणका आयोजनाबाट ३३४ मेगावाट, निजी क्षेत्रबाट १७५ मेगावाट बिजुली आपूर्ति भइरहेको छ । राजधानीमा बिजुलीको माग साँझ (पिक आवर) मा ३२० मेगावाट छ । यो आर्थिक वर्षमा ९७ मेगावाटका ५ ठूला आयोजना सम्पन्न भई प्रणालीमा जोडिएको छ । सबै आयोजना नदीका बहावमा आधारित भएकाले सुख्खामा औसत ४० मेगावाटसम्म बिजुली उत्पादन भइरहेको छ ।
यो वर्ष १५ आयोजना सम्पन्न भई प्रणालीमा १४२ मेगावाट बिजुली जोडि“दैछ । सरकारले लोडसेडिङ अन्त्य गर्न भारतबाट ५६० मेगावाटसम्म बिजुली आयातको लक्ष्य लिएको थियो । खिम्ती–ढल्केबर २२० केभी र हेटौडा–कुलेखानी–स्युचाटार १३२ केभी प्रसारणलाइन सञ्चालनमा आएपछि माग व्यवस्थापन गर्न विद्युत प्राधिकरणलाई सहज भएको छ ।
काठमाडौमा बढी भएको बिजुली हेटौंडा र त्यहाँ बढी भएको बिजुली राजधानी ल्याउन सहज भएको छ । यो लाइन सञ्चालन भएपछि राजधानीमा थप बिजली आपूर्ति गर्न र बढि भएको बिजुली बाहिर पठाउन सहज हुनेछ ।
यस्तै राजधानी जोड्ने खिम्ती–ढल्केबर २२० केभी प्रसारणलाइन पनि सञ्चालनमा आएको छ । प्रसारणलाइन सञ्चालनमा आएपछि तराइका वीरगञ्जलगायत अन्य शहरमा देखिएको भोल्टेजको समस्या समाधान भएको छ ।
यस्तै कटैया–कुसाह १३२ केभी प्रसारणलाइनमा तार तान्ने काम सम्पन्न भएको छ । यो लाइन पनि छिट्टै सञ्चालनमा आउँदैछ । यस्तै परवानीपुर–रक्सौल १३२ केभी प्रसारणलाइनको काम पनि अन्तिम चरणमा पुगेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित