FLASH NEWS
  • Loading...

मुलुकका अधिकांश स्वास्थ्य केन्द्रमा सिटामोल, एमोक्सिल्नसम्म छैन

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १२६ पटक पढिएको
Post Thumbnail


सोलुखुम्बु—हाल जिल्लाको अधिकांश स्वास्थ्य केन्द्रमा सामान्य टाउको दुख्दा, ज्वरो आउँदा प्रयोग गरिने सिटामोल नपाएर विरामी समस्यामा परेका छन् ।
जिल्लाको अधिकांश स्वास्थ्य केन्द्रमा औषधि अभाव हुँदा सेवाग्राही चरम मारमा परेको गुनासो छ । सम्बन्धित निकायले समयमा ध्यान नदिँदा आफूहरूले निःशुल्क पाउने औषधि पनि मेडिकलबाट किन्नुपर्ने बाध्यता रहेको स्थानियले बताएका छन् ।
जिल्लाको ३४ स्वास्थ्य केन्द्रमध्ये अधिकांश स्वास्थ्य केन्द्रमा सामान्य औषधि सिटामोल, एमोक्सिल्न, परिवार नियोजनका साधनलगायतको औषधि अभाव भएको छ ।
देउसा स्वास्थ्य चौकी देउसाकी मासिका रामकुमारी राईका अनुसार एक महिनादेखि स्वास्थ्य चौकीबाट निःशुल्क वितरण गरिने ३४ प्रकारको औषधिमध्ये २२ प्रकारका औषधि सकिएको हो । दुई पटकसम्म जिल्ला स्वास्थ्य कार्यालयमा औषधि माग गरिएको भए पनि सामान्य औषधि सिटामोल, भिटामिन, परिवार नियोजनका साधनलगायतको औषधि उपलब्ध नहुँदा उपचार गर्न समस्या आएको हो ।
इलाका स्वास्थ्य चौकी नेलेमा पनि सामान्य औषधि अभाव भएको करिब २० दिन भईसकेको । औषधि माग गरिए पनि पूर्ति हुन सकेको छैन् ।
औषधि माग गरिएको भए पनि जिल्लाबाट पूर्ति नहुँदा स्वास्थ्य केन्द्रमा औषधि अभाव भएको स्वास्थ्यकर्मीको भनाइ छ ।
त्यस्तै दाङ जिल्लाका दुर्गम क्षेत्रका अधिकांश स्वास्थ्य केन्द्रमा औषधिको अभाव भएको छ ।
निकै विकट मानिने पश्चिम दाङको पञ्चकुले स्वास्थ्यचौकीमा सिटामोल र मेट्रोनिडाजोलबाहेक कुनै पनि औषधि छैन । कम्तीमा ३५ प्रकारका औषधि स्वास्थ्यचौकीमार्फत निःशुल्करूपमा उपलब्ध गराउँदै आएको सरकारको दाबी छ । दक्षिण दाङको विकट कोइलावास स्वास्थ्यचौकीमा पनि न्यूनतम औषधि पनि छैनन् । सामान्य जरो आएको बच्चालाई दिइने सिटामोल र कफसिरफ पनि छैन । जति औषधि माग गरे पनि अझैसम्म अत्यावश्यक औषधि स्वास्थ्यचौकीमा नभएको गुनासो छ ।
त्यस्तै पश्चिम दाङको मुख्य बजारमा रहेको पुरन्धारा स्वास्थ्यचौकीमा पनि आवश्यक औषधि नभएको स्थानीयवासीको गुनासो छ । तर स्वास्थ्यचौकीले भने केही औषधिमात्र रहेको जनाएको छ । हाल सो संस्थामा निःशुल्क उपलब्ध गराइनुपर्ने ३५ थरी औषधिमध्ये, बढीमा १० थरी औषधि मात्रै छन् ।
त्यसैगरी स्युजामा पनि अत्यावश्यक औषधिबाहेक सरकारले निःशुल्क रूपमा उपलब्ध गराएका सबै औषधि छैनन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित