FLASH NEWS
  • Loading...

भूकम्पपीडितको लागी थप बीस करोड

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १०१ पटक पढिएको
Post Thumbnail

 


भक्तपुर—भक्तपुरका छवटा नगरपालिकाका भूकम्पपीडित (लाभग्राही) लाई पहिलो किस्ताको अनुदान रकम ५० हजार वितरण सुरु भएपछि नपुग रकममध्ये थप २० करोड निकासा भएको छ ।
जिल्लाका १८ हजार लाभग्राहीका लागि सरकारले पठाएको ९० करोड रकम तोकिएको बैंक मार्फत वितरण भइरहेको र नपुगमध्येको रकम माग भएअनुसार २० करोड थप निकासा भएर आएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिका प्रमुख मुरारी वस्तीले जानकारी गराएका छन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भक्तपुरमा प्रमाणित गरी पठाएका २६ हजार १६ लाभग्राहीमध्ये हालसम्म २० हजार १ सय ५० लाभग्राहीसँग नगरपालिकाले पहिलो किस्ताको अनुदान रकमका लागि सम्झौता गरेको छ ।
तीमध्ये जिविसले १८ हजार २८ लाभग्राहीको थप प्रमाणीकरण गरी कोष तथा लेखानियन्त्रण कार्यालय (कोलेनिका) पठाएअनुसार आएको ९० करोड रुपैयाँ बजेट वितरण भइरहेको र नपुग रकम माग भएअनुसार २० करोड थप भएर आएको उनले जानकारी दिए ।
लाभग्राहीको सूचीमा सूचीकृत भएका सबै लाभग्राहीलाई पहिलो किस्ताको रकम वितरण गर्न अझै २० करोड ८ लाख अपुग रहेको छ । अनुदान रकम वितरण गर्दा पहिला अनुदान सम्झौता गरेका लाभग्राहीलाई क्रमैसँग वितरण गरिएको छ । सुरुसुरुमा अनुदान सम्झौता भएका लाभग्राहीको सूची अनुसार क्रमैसँग वितरण गरिएको हो ।
भक्तपुर नगरपालिकाको चार हजार ३ सय ४९, मध्यपुरथिमीको ९ सय ३८, नगरकोटको तीन हजार ४ सय १२, चाँगुनारायण नगरपालिकाको तीन हजार ३ सय २९, अनन्तलिंगेश्वरको दुई हजार ६ सय १२ र सूर्यविनायकको तीन हजार ३ सय ६० लाभग्राहीले पहिलो किस्ताको अनुदान रकम पाउने भएका छन् ।
अनुदान सम्झौता भएका लाभग्राहीहरूले खाता खोलेका तोकिएको बैंकबाटै अनुदान रकम पाउने व्यवस्था गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित