FLASH NEWS
  • Loading...

हिमाली दृश्यावलोकनसहित स्थानीयताको आभासका लागि घरबास

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८७ पटक पढिएको
Post Thumbnail


आरोहणको इतिहासमा पहिलो हिमाल अन्नपूर्ण एवम् कुमारी हिमाल माछापुच्छे«लाई खाली आँखाले नजिकै दृष्यावलोकन र गाउँलेको आत्मीय मायाको प्रचुर अनुभूति गराउने कास्कीको कास्कीकोटमा सञ्चालित भुजेल गाउँ होमस्टे(घरबास) यतिखेर पर्यटकका लागि नयाँ गन्तव्यका रुपमा विकास भएको छ ।

प्राकृतिक सौंदर्यता, स्वच्छ र रमणीय वातावरणमा स्वदेशी तथा विदेशी पाहुनालाई स्थानीय उत्पादनसहितको सामूहिक भोजन र घरघरमा आवासको व्यवस्था गरेर गत पुसदेखि सिङ्गो गाउँलाई समेटेर होमस्टे सुरु गरिएको हो ।

कास्कीकोट युवा सञ्जाल र ओम शान्ति महिला समूहको सक्रियतामा गाउँका २७ घरलाई समेटेर सञ्चालन गरिएको सो होमस्टेमा दैनिक ७० जनालाई सामूहिक खाना र घरघरमा आवासको व्यवस्था रहेको कास्कीकोट भुजेल गाउँ सामुदायिक होमस्टे व्यवस्थापन समितिका उपाध्यक्ष लालबहादुर भुजेलले बताउनुभयो ।

उहाँका अनुसार ऐतिहासिक एवम् धार्मिक महत्व बोकेको सो क्षेत्रमा अवस्थित भुजेल गाउँ होमस्टे सञ्चालन भएको एक महिनाको अवधिमा लगभग १५० जना स्वदेशी तथा विदेशी पाहुना आइसक्नुभएको छ । आगन्तुक पाहुनाको लागि एक दिनको प्रतिव्यक्ति रु ७०० लिने गरिएको छ ।

“अर्गानिक तरकारी, दूधजन्य पदार्थ, लोकल कुखुरा एवम् खसीको मासुसहित कोदोको ढिडो, सेलरोटी तथा पुवा र कोदोबाटै बनेको घरेलु मदिरालगायत विभिन्न स्वादिष्ट परिकार र ग्रामीण परिवेशको आवासको व्यवस्था गरेर होमस्टेमा नयाँपन दिन प्रयास गरिएको छ,” उहाँले भन्नुभयो, “होमस्टेमा दैनिक ७० जनासम्मको क्षमता रहेको छ ।”

समुद्री सतहबाट लगभग एक हजार ७०० मिटरको उचाइमा अवस्थित सो गाउँको आसपासका जङ्गलमा पाइने पखनवेद, फुलेको सुप, कमरु जस्ता आयुर्वेदिक महत्वका जडीबुटीको समेत पाहुनालाई पहिचान र स्वाद चखाउने योजना रहेको जानकारी दिँदै भुजेलले आफूहरुलाई होमस्टे सञ्चालनसम्बन्धी ज्ञानको भने अभाव खड्किएको बताउनुभयो ।

गाउँमा आधुनिक भौतिक पूर्वाधार निर्माणका साथै सरसफाइमा समेत बढी ध्यान दिइएको बताउँदै उहाँले सम्बन्धित निकायमा संस्था दर्ता गरी पञ्चेबाजा र भजन चुडकाले पाहुनालाई प्रवेशद्वारबाटै स्वागत गरेर गाउँ प्रवेश गराउने योजना रहेको दिनुभयो ।

गाउँमा आउने प्रत्येक पाहुनालाई फूलमालाले स्वागत गर्दै साझ मालश्री, भजन चुडका, रत्यौउलीलगायतका विभिन्न मौलिक संस्कृति झल्किने कार्यक्रम प्रस्तुत गरेर आगन्तुक पाहुनालाई भरपुर मनोरञ्जन प्रदान गर्दै आएको ओमशान्ति महिला समूहका सदस्य हरिमाया भुजेल बताउनुहुन्छ ।

गाउँको उत्पादनले छ महिना पनि खान नपुग्ने भएपछि युवा विदेशीन बाध्य भएको बताउँदै उहाँले होमस्टे सञ्चालन गरेपछि पाहुनालाई आतिथ्यता प्रदान गरेर थप आम्दानी गर्ने अवसर मिलेको बताउनुभयो ।

घरमा आउने इष्टमित्रको लागि निर्माण गरिएका दुई वटा कोठा होमस्टे सञ्चालन भएपछि राम्रो आम्दानीको स्रोत बन्ने विश्वासका साथ घरमा होमस्टे सुरु गरेको वैदेशिक रोजगारबाट हालै फर्कनुभएका स्थानीय तीर्थ सुवेदीको भनाइ छ ।

सहरमुखी पर्यटनलाई ग्रामीण क्षेत्रमा विस्तारीकरण गर्ने मुख्य लक्ष्यका साथ २०६७ सालदेखि राज्यले होमस्टेको अवधारणालाई अभियानका रुपमा अगाडि बढाएको भुजेल गाउँ पुग्नुभएका पर्यटन बोर्ड पोखरा कार्यालयका वरिष्ठ अधिकृत सूर्य थपलिया बताउनुहुन्छ ।

“रमणीय गाउँले मात्र होमस्टेको आवश्यकता पुग्दैन, आवश्यक भौतिक संरचना तयार गरेर पहुनालाई न्यूनतम सुविधा दिनसक्नु पर्छ, उहाँले भन्नुभयो, “पर्यटकमैत्री वातावरणका साथै गाउँ तथा टोलमा सरसफाइ र सुरक्षाको प्रत्याभूति अत्यन्त जरुरी छ ।”

पोखराको विन्ध्यवासिनीदेखि रमणीय गाउँ सराङकोट हुँदै १३ किलोमिटरको दूरीमा यातायात सुविधा रहेको धौलागिरिदेखि अन्नपूर्ण, माछापुच्छे« र मनास्लुसम्मका मनोरम हिमशृङ्खला स्पष्ट देख्न सकिने सो गाउँको होमस्टेको प्रवद्र्धनका लागि राज्य र सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने सम्बन्धित क्षेत्रका विज्ञको धारणा छ । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित