FLASH NEWS
  • Loading...

उपत्यकाका प्रमुख नदीबाट ३२ मेट्रिक टन फोहर व्यवस्थापन

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५८ पटक पढिएको
Post Thumbnail


काठमाडौँ, २१ फागुन । उपत्यकाका प्रमुख नदी सफाइ गरी ३२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

बागमती सफाइ महाअभियानको १९९औँ हप्तामा आज कोटेश्वर महादेव मन्दिरदेखि मनोहरा नदी दोभानसम्म सफाइ गरी १६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी उमेश बोहराले जानकारी दिनुभयो ।

सफाइमा अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत संस्थाका गरी सात सय व्यक्तिको सहभागिता थियो । सफाइको नेतृत्व चीनका लागि नेपाली राजदूत एवम् पूर्वमुख्य सचिव लीलामणि पौडेलले गर्नुभएको थियो ।

सफाइमा पूर्वसचिव किशोर थापा, चीनका लागि पूर्वनेपाली राजदूत डा महेश मास्के, अधिकारसम्पन्न बागमती समितिका सञ्चालक समिति सदस्यहरु, गायत्री परिवारका डा राजु अधिकारी, एस ट्राभल्सका अर्जुन धरेललगायत अभियन्ताको सहभागिता थियो ।

फागुन २८ गते शनिबार बागमती सफाइको २००औँ हप्तालाई विशेष कार्यक्रमका रुपमा गर्ने तयारी गरिएको छ । विशेष कार्यक्रमको मूल समारोह शङ्खमूलमा गरिनेछ ।

बागमती सफाइ महाअभियानको २००औँ हप्ताको तयारीका लागि मुख्य सचिव डा सोमलाल सुवेदीको संयोजकत्वमा सरकारका सचिव र बागमती सफाइ महाअभियानका अभियन्ता सहभागी रहेको समिति गठन गरिएको छ । यस अवसरमा शङ्खमूलसम्मको बागमतीलाई ढलमुक्त गरी स्नानयोग्य भएको घोषणा गरिँदैछ ।

रुद्रमती सफाइको १५८औँ हप्तामा आज देवीनगर पुलदेखि बिजुलीबजार पुलसम्मको क्षेत्रमा सफाइ गरी तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरिले जानकारी दिनुभयो । सफाइमा काठमाडौँ महानगरपालिका–४, ५, ७, ९ र ३३ कार्यालयका कर्मचारी, स्थानीयवासी, वडा नागरिक मञ्चका पदाधिकारी, वातावरण संरक्षण अभियान लगायतको सहभागिता थियो । सफाइको नेतृत्व पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले गर्नुभएको थियो ।

विष्णुमती सफाइको १३१औँ हप्तामा आज तारकेश्वर र टोखा नगरपालिकाको सीमास्थित मनोहर तीर्थमा सफाइ गरी १३ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी अनिल धरेलले बताउनुभयो । सफाइमा तारकेश्वर नगरपालिका, टोखा नगरपालिका लगायतका गरी पाँच सय जनाको सहभागिता थियो ।

यसैगरी गुह्येश्वरी माथिको बागमती नदीमा राम्रो जोरपाटी हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजलगायत संस्थाले सफाइ गरेका छन् । विसं २०७० जेठ ४ गते शनिबारदेखि बागमती सफाइ महाअभियान सुरु भएको थियो । बागमती सफाइ महाअभियान सुरु भएपछि अन्य सहायक नदी र उपत्यका बाहिरका नदी सफाइ गर्नसमेत स्थानीयवासी जुटेका छन् ।

यही फागुन २८ गते शनिबार सफाइको २००औँ हप्तामा गरिने विशेष कार्यक्रममा प्रधानमन्त्री, प्रधानन्यायधीश, सभामुखलगायत सबै प्रमुख दलका शीर्ष नेताको सहभागी हुने महाअभियानले जनाएको छ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित