FLASH NEWS
  • Loading...

महिला पत्रकार एवम् संस्था सम्मानित

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५० पटक पढिएको
Post Thumbnail

पोखरा, २५ फागुन । नारी दिवस एवम् स्वतन्त्र पत्रकार सङ्घ कास्कीको छैटौँ स्थापना दिवसका अवसरमा स्वतन्त्र पत्रकार सङ्घ कास्कीले पत्रकार ईश्वरी पौडेल र जाल्पादेवी महिला उद्धार संस्थालाई मङ्गलबार यहाँ सम्मान गरेको छ ।

सङ्घले पत्रकारिताका माध्यमबाट समाजमा महत्वपूर्ण योगदान गरेको भन्दै पौडेललाई रु पाँचहजार पाँचसहित दोसल्ला र सम्मानपत्र प्रदान गरेको हो ।

त्यस्तै, महिला सशक्तीकरणका साथै समाजिक विकासका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै जाल्पादेवी महिला उद्धार संस्थालाई पनि रु पाँचहजार पाँच र सम्मानपत्र प्रदान गरिएको हो ।

कार्यक्रमममा सांसद शारदा पौडेलले नेपालको नयाँ संविधानले महिलाका धेरै हक तथा अधिकारलाई सुनिश्चित गरेको बताउँदै यिनीहरूको कार्यान्वयनका लागि महिलाको सक्रियता आवश्यक रहेको बताउनुभयो । सम्मानित व्यक्ति एवम् संस्थालाई बधाई व्यक्त गर्दै उहाँले महिला सशक्तीकरणका साथै सामाजिक विकासका क्षेत्रमा अझै क्रियाशील बन्न आग्रह गर्नुभयो ।

स्वतन्त्र पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले सामाजिक रुपान्तरणमा महिलाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । समयको महत्वलाई आत्मसात् नगर्दा देश विकासको गतिमा पछि परेको उल्लेख गर्दै उहाँले समयको अधिकतम उपयोग गर्नेतर्फ सबैको ध्यान जानु आवश्यक भएकोमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले महिला सशक्तीकरणका माध्यमबाट समाजलाई समृद्धिको मार्गमा लैजान सकिने धारणा राख्नुभयो । लोकगायिका हरिदेवी कोइरालाले नेपाली समाजका हरेक गतिविधिमा आमा समूहले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको बताउँदै आफ्नो हक तथा अधिकारका लागि महिला तीनसय ६५ दिन नै जागरुक बन्नु आवश्यक भएको बताउनुभयो ।

प्रतिभा छनौट समितिका संयोजक नारायण कार्कीले समाजमा विशिष्ट योगदान पु¥याएकै कारण पत्रकार पौडेल र जाल्पादेवी महिला उद्धार संस्थालाई सम्मानार्थ छनौट गरिएको बताउनुभयो ।

स्वतन्त्र पत्रकार सङ्घ कास्कीका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष माधव बराल, सम्मानित पत्रकार ईश्वरी पौडेल, जाल्पादेवी महिला उद्धार संस्थाकी अध्यक्ष पवित्रा केसी, पोखरा उपमहानगरपालिका कार्यालयका वरिष्ठ अधिकृत ओमराज पौडेल, जमुना शर्मा, रामबहादुर पौडेल लगायतले बोल्नुभएको थियो ।रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित