FLASH NEWS
  • Loading...

रत्ननगरमा आँखा उपचार केन्द्र निर्माण सुरु

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९२ पटक पढिएको
Post Thumbnail


रत्ननगर (चितवन), २७ फागुन । समग्र पूर्वी चितवनकै केन्द्रविन्दु रहेको चितवनको रत्ननगरमा आँखा उपचार केन्द्र निर्माण सुरु भएको छ ।

रत्ननगर बकुलहर अस्पताल परिसरमा आँखा अस्पताल नै निर्माण गर्ने लक्ष्यसहित केन्द्रको बिहीबार शिलान्यास भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्र निर्माणका लागि सुरुमा सेवा फाउन्डेसनले रु १५ लाख सहयोग गरेकाले निर्माण कार्य सुुरु भएको र अझै आर्थिक अभाव कायमै छ ।

नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालन हुनेगरी केन्द्र निर्माण सुरु भएको हो । सङ्घमार्फत कर्मचारी पठाएर यहाँ विगत वर्षदेखि नै आँखाको उपचार हुँदै आएको थियो । अब भवन निर्माणपछि भने छुट्टै सुविधायुक्त हुनेछ । यहाँबाट विशेषज्ञ सेवा, रेटिना सर्जिकल र मेडिकल, मोतियाविन्दु, आँखा सिधा बनाउने, च्यातिएको उपचार, डाइबेटिक रेटिनोप्याथी लगायतका सेवा प्राप्त छ ।

बिहीबार एक कार्यक्रमबीच चितवनका तीनजना सांसद सहभागी भएर उपचार केन्द्र शिलान्यास गरिएको हो । शिलान्यासपछि सांसद शेषनाथ अधिकारी, काशिनाथ अधिकारी र सावित्री चौधरीले सांसद विकास कोषमार्फत रु १०–१० लाखका दरले सहयोग गर्ने घोषणा पनि गर्नुभएको छ । उहाँहरुले रत्ननगरको यो अस्पताललाई हरेक सेवा दिने गरी विकास गर्न आफूहरु कटिबद्ध रहेको पनि प्रतिक्रिया दिनुभएको छ ।

रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष ज्ञानबहादुर विसुरालले यो अस्पतालका कारण यहाँका गरिब जनताले सहज सेवा पाएको भन्दै आँखा उपचार केन्द्र खुल्दा थप सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । हाल रत्ननगर अस्पताल १५ शय्यामा चलेको छ । सातवटा विभागबाट सेवा चल्दै आएको अस्पतालमा आर्थिक समस्या छ भने कर्मचारीको अभाव रहेको अस्पतालले जनाएको छ ।

सरकारी क्षेत्रबाट खासै सहयोग नभएको यो अस्पतालमा एकजना विदेशी चिकित्सक रुथ गेन्सेथको पहलमा करोडौँको भौतिक निर्माण तथा उपचार सामग्री सहयोग भएको छ ।

कार्यक्रममा यहाँका प्रतिनिधिहरु रुपनराज घिमिरे, बद्री घिमिरे, राजु अम्गाई, रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत काशिराम गैरे, सेवा फाउन्डेसनका रामप्रसाद कँडेल, नेपाल नेत्रज्योति सङ्घका सचिव लक्ष्मीचरण श्रेष्ठ लगायतले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित