FLASH NEWS
  • Loading...

क्षयरोग दिवसः जोखिममा मात्र संस्थामा आइपुग्छन् क्षयरोगका बिरामी

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५४ पटक पढिएको
Post Thumbnail


रोल्पाका अधिकांश क्षयरोगका बिरामी जटिल अवस्थामा पुगिसकेपछि मात्र स्वास्थ्य संस्थामा चेकजाँचका लागि आउने गरेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका डा तेजेन्द्र साउदका अनुसार अशिक्षा, गरिबी, चेतना अभाव तथा भौगोलिक विकटताका कारण बिरामी उचित समयमा स्वास्थ्य जाँचका लागि अस्पताल आउन नसकेको बिरामीले बताउने गरेका छन् । सहरी क्षेत्र तथा शिक्षित परिवारका बिरामी भने सामान्य अवस्थामा स्वास्थ्य संस्थामा पुग्ने गरेको उहाँको भनाइ छ ।

विशेष गरी दुई हप्ताभन्दा बढी समय खोकी लागेमा, साँझपख ज्वरो आएमा, खकारमा रगत देखिएमा, छाती दुखेमा, खान मन नलाग्ने भएमा वा खानामा रुचि घटेमा तथा तौल घट्दै गएमा तुरुन्त स्वास्थ्य संस्थामा पुग्नु पर्ने भएपनि अधिकांश बिरामी क्षयरोगका कारण निमोनिया भएमा वा फोक्सोमा पानी जमिसकेपछि मात्र चेकजाँचका लागि स्वास्थ्य संस्थामा पुग्ने गरेको उहाँको भनाइ छ ।

यो रोग निरोगी व्यक्तिलाई पनि सर्न सक्ने भएको हुँदा आफ्नो घरमा वा गाउँघरमा पनि क्षयरोगका बिरामी छन् भने अन्य परिवारका सदस्यले पनि स्वास्थ्य परीक्षण गर्नुपर्ने डा साउदको सुझाव छ ।

यस्तै, जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका क्षय कुष्ठ अधिकृत नोखराज पोख्रेलका अनुसार करिब तीनवर्षमा जिल्लाका सरकारी स्वास्थ्य संस्थाबाट ८६५ जना क्षयरोगका बिरामीले उपचार सेवा लिएका छन् । यसअन्तर्गत आव २०७०÷०७१ मा २९४ जना, आव २०७१÷०७२ मा २९५ जना र आव २०७२÷०७३ मा २७६ जना बिरामीले क्षयरोगको उपचार गराएका छन् ।

यस्तै, आव २०७३÷०७४ को करिब चार महिनामा २०० जना उपचारक्रममा आइसकेका छन् । जाँडरक्सी सेवन गर्ने बिरामीले नियमित औषधि सेवन नगर्दा यो रोगबाट छुटकारा पाउन सकिरहेका छैनन् ।

उहाँका अनुसार मदिराको कुलतमा लागेका बिरामीले औषधिभन्दा मदिरा सेवनमै बढी जोड गर्ने भएको हुँदा समस्या निम्तिइरहेको छ । विशेषगरी दुई वर्षदेखि ८०÷८५ वर्ष उमेर समूहका मानिस क्षयरोगबाट प्रभावित देखिन्छन् । जिल्लामा क्षयरोगका बिरामीमा महिलाभन्दा पुरुषको सङ्ख्या बढी छ ।

यस्तै, स्वास्थ्यकर्मी कुलबहादुर डाँगीका अनुसार माइको ब्याक्टेरियम ट्युबरकुलोसिस भन्ने ब्याक्टेरियाको कारणले क्षयरोग वा टिवी रोग लाग्न सक्छ । क्षयरोग विभिन्न प्रकारका हुन्छन् । विशेषगरी यो रोग श्वासप्रश्वासको माध्यमबाट फोक्सोमा देखा पर्छ । त्यसैले यो रोग सर्ने मुख्य माध्यम श्वासप्रश्वास हो भने ब्याक्टेरिया रोगीले खोक्दा खकारसँगै बाहिर निस्कन्छन् ।

क्षयरोगअन्तर्गत फोक्सोको टिवी, ग्लाइन टिवी, पेटको टिवी, हड्डीको टिवी तथा मष्तिष्कको टिवी हुन सक्ने भएपनि जिल्लामा विशेषगरी फोक्सोको टिवीका कारण बिरामी प्रभावित हुने गरेका छन् । एउटा व्यक्तिले आफूलाई रोग लागेको अवधिभरिमा करिब १० जनासम्म बिरामीलाई यो रोग सार्न सक्ने उहाँको भनाइ छ ।

त्यसैले, समयमै रोगको निदान गर्नका लागि खकार चेक गरेमा यो रोग समयमै पत्ता लाग्न सक्छ । साथै रोगबाट छुटकारा पाउनका लागि यो रोगलाई बढावा दिने चिजलाई कम गर्नुपर्ने देखिन्छ । वातावरणीय प्रदूषणअन्तर्गत दाउरा बाल्दा, धुवाँधुलोमा बस्दा, चुरोट, बिँडी, तमाखु तथा मदिरा सेवनले यो रोगलाई बढावा दिने भएको हुँदा यी कुराबाट टाढै रहनुपर्ने उहाँको सुझाव छ ।

पूर्व शिक्षक खोवीलाल सुवेदीका अनुसार सरकारी निकाय सँगसँगै गैरसरकारी सङ्घसंस्था तथा सरोकारवाला तथा मिडियाले व्यापक जनचेतना फैलाउन सकेमात्र जनता रोगका बारेमा जानकार हुन सक्छन् र समयमै उपचारका लागि स्वास्थ्य संस्था पुग्न सक्छन् ।

त्यसैले, पहिलो कुरा त जनताको चेतनास्तरमा वृद्धि गर्नुपर्ने देखिन्छ । यसका साथै राज्यले क्षयरोग न्यूनीकरणका लागि लगानी बढाउनुपर्ने उहाँको धारणा छ । सुवेदीका अनुसार जिल्ला अस्पतालबाहेक सबै स्वास्थ्य संस्थामा रोग पत्ता लगाउनका लागि खकार जाँच परीक्षण केन्द्र थप्नुपर्ने देखिन्छ ।

उहाँ भन्नुहुन्छ – भोलि चैत ११ गते क्षयरोग दिवस परेको छ । दिवस मनाउनका लागि सरकारले ठूलो धनराशि खर्च गर्दैछ । तर दिवस दिवसमा मात्र सीमित रहनु हुँदैन । सदरमुकाम वा मोटरगाडी गुड्ने ठाउँमा मात्र नभएर पिछडिएका बस्ती वा लक्षित वर्गसम्म दिवस मनाउने वातावरण मिलाउन सकेमात्र दिवसको वास्तविक अर्थ रहनेछ भन्ने कुरामा दुईमत नहोला ।

“त्यसैले यस वर्षको क्षयरोग दिवस प्रत्येक जिल्लाका दूरदराजमा पुगेर मनाइनु पर्छ । अचेत जनतालाई सचेत बनाउन सकेमात्र दिवसको सार्थकता झल्कनेछ,” सुवेदीले भन्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित