FLASH NEWS
  • Loading...

‘नीतिगत सुधारले वैदेशिक लगानीको वातावरण बन्यो’

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५१ पटक पढिएको
Post Thumbnail

काठमाडौँ, १४ चैत । सरकारले आर्थिक समृद्धिको योजनालाई केन्द्रबिन्दुमा राखेर नीतिगत सुधार एवम् समयानुकूल संशोधन गरेपछि वैदेशिक लगानीका लागि नेपाल उपयुक्तस्थलका रुपमा विकास भएको यहाँ आज आयोजित कार्यक्रममा जानकारी दिइयो ।

सरकारले आर्थिक समृद्धि एवम् विकासको कामलाई पहिलो प्राथमिकतामा राखेको र कानुनी अड्चन तथा अन्य प्राविधिक समस्यालाई पनि क्रमशः घटाउँदै लगेका कारण विदेशी लगानी भित्रने क्रम पनि बढेको छ ।

सरकारले अनलाइनमार्फत कम्पनी दर्ता गर्ने व्यवस्था गरेको, कानुनी झन्झट हटेको, एकद्वार प्रणालीमार्फत सबै काम गर्ने व्यवस्थाको सुरुआत गरिएको तथा कर छुट र सहजीकरण गरिएका कारण पनि नेपालमा क्रमशः लगानीको वातावरण बनेको कार्यक्रमका सहभागीले स्पष्ट पार्नुभयो ।

यहाँ आज आयोजित ‘नेपालमा वैदेशिक लगानी सम्भावना’ विषयक कार्यक्रममा उद्योग मन्त्री नवीन्द्रराज जोशीले राजनीतिक एजेण्डामा दल विभाजित भए पनि आर्थिक विकास र मुलुकको समृद्धिका लागि एकै ठाउँमा आएकाले पनि वातावरण सहज भएको बताउनुभयो ।

केही समय अगाडि सम्पन्न लगानी सम्मेलनले नेपालमा लगानीको वातावरण छ भन्ने सन्देश विश्वभर नै प्रवाहित गरेको भन्दै उहाँले ढुक्क भएर नेपालमा लगानी गर्न विदेशी लगानीकर्तालाई सरकारले आग्रह गरेको स्पष्ट पार्नुभयो ।

वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्यायले सरकारले क्रमशः नीतिगत प्रावधानमा गरेको सहजीकरणका कारण लगानीमैत्री वातावरण बन्दै गएको बताउनुभयो । उहाँले लगानीका लागि सरकार र सरकारी संयन्त्रले सहजीकरण गर्ने र कुनै पनि अप्ठ्यारो नपार्ने प्रतिबद्धता व्यक्त गर्दै निश्चिन्त भएर लगानी गर्न वैदेशिक लगानीकर्तालाई आग्रह गर्नुभयो ।

उद्योग सचिव शङ्कर प्रसाद कोइरालाले सरकारको ध्यान नै आर्थिक विकासमा केन्द्रित भएकाले बढीभन्दा बढी सुविधा दिएर पनि लगानीकर्तालाई स्वागत गरिने बताउनुभयो । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले ठूला आयोजना अगाडि बढाउन बोर्डले सहजीकरण गरेको प्रतिफलस्वरुप निकट भविष्यमा नै अरुण तेस्रो र माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको निर्माण सुरु हुने र त्यसले लगानीको वातावरण तयार हुने बताउनुभयो ।

नेपालका लागि भारतका राजदूत मञ्जिभ सिंह पुरीले नेपाल र भारत एकअर्काका सहयोगी एवम् साझेदार भएकाले लगानीको क्षेत्र पहिचान र संयुक्त लगानीको सम्भावना समेत भएको बताउनुभयो ।

ठूला पूर्वाधारमा गरिने लगानीले एकअर्काको अनुभव आदानप्रदान गर्नेदेखि क्षमता विकास तथा थप सम्भावनाको समेत खोजी हुने भएकाले मिलेर अगाडि बढ्न आफूहरु तयार रहेको उहाँले बताउनुभयो । कार्यक्रममा नेपालमा वैदेशिक लगानी, सम्भावना र चुनौतीका विविध आयामबारे छलफल गरिएको थियो । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित