FLASH NEWS
  • Loading...

निर्वाचनमा जुटे दलहरु

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ४६ पटक पढिएको
Post Thumbnail

भीमदत्तनगर, १७ चैत । आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुने भएपछि कञ्चनपुरका राजनीतिक दल आ–आफ्ना पक्षमा माहोल बनाउन सक्रियताका साथ निर्वाचनमा होमिएका छन् ।

जिल्लाको प्रशासनिक निकाय निर्वाचनको तयारीमा जुट्दै गर्दा राजनीतिक दलहरु पनि माहोल आफ्नो पक्षमा लिन वडास्तरसम्म खटिएका हुन् । नेपाली काँग्रेस, नेकपा (एमाले) नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत साना दल पनि निर्वाचनमा जुटिसकेका छन् ।

नेपाली काँग्रेसका जिल्लासचिव दिवाकर पाण्डेयले आफ्नो दल निर्वाचनमा उत्साहका साथ जुटिसकेको बताउनुभयो । “हामीले पहिलो चरणमा वडास्तरका भेला सकेर थप छलफल र संवाद अगाडि बढाएका छौँ ।” उहाँले भन्नुभयो – “यहाँका सातवटै नगरपालिका र दुईवटा गाउँपालिकामा काँग्रेस निर्वाचनका लागि तयारीमा छ ।”

सबै राजनीतिक दलले भीमदत्त नगरपालिकाको मेयरका लागि भने आफ्नो अस्तित्वको लडाइँ ठानेका छन् । काँग्रेसबाट भीमदत्त नगरपालिकामा छ÷सातजना आकाङ्क्षी देखिए पनि पार्टीले भने यसको टुङ्गो पछि लाग्ने जनाएको छ ।

त्यसैगरी नेकपा (एमाले) पनि स्थानीय तहको निर्वाचनका लागि चुनावी मैदानमा होमिसकेको छ । उक्त दलका जिल्ला उपसचिव तथा पार्टी प्रचार विभाग प्रमुख रणबहादुर महराले जिल्लाभर एमालेका नेता तथा कार्यकर्ता चुनावी प्रचारप्रसारमा जुटिसकेको बताउनुभयो । “केन्द्र र जिल्लाको मापदण्डअनुसार पछि उम्मेदवार तय हुन्छ ।” उहाँले भन्नुभयो – “अहिले वडास्तरमा कार्यक्रम गर्नुका साथै कार्यालय स्थापनाहरु भइरहेका छन् ।”

त्यस्तै नेकपा (माओवादी केन्द्र) पनि चुनावी मैदानमा उत्रिएर प्रचारप्रसारमा जुटेको छ । उक्त दलका केन्द्रीय सदस्य गोपाल रसायलीले जिल्लाभरका सबै नगरपालिका र गाउँपालिकामा चुनावी तयारी भइरहेको बताउनुभयो । “हाम्रा लागि स्थानीय तहको चुनाव नयाँ स्वाद हो ।” उहाँले भन्नुभयो – “स्थानीय तहको निर्वाचनमा पार्टीभन्दा पनि व्यक्तित्वको प्रभाव बढी हुँदोरैछ ।” केन्द्रीय सदस्य रसायलीले चैत मसान्तभित्र आफ्नो दलले मेयर, उपमेयरलगायत सबै उम्मेदवार चयन गरिसक्ने जानकारी दिनुभयो ।
चुनावी माहोल तात्दै गइरहेका बेला विभिन्न पार्टीमा नयाँ कार्यकर्ताको प्रवेशले पनि प्राथमिकता पाइरहेको छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि निर्वाचनका लागि सबै भ्रातृ सङ्गठनलाई जिल्लाभर परिचालन गरिरहेको छ । उक्त दलका जिल्ला अध्यक्ष पूर्णबहादुर चन्दले निर्वाचनका गतिविधि पार्टीले अघि बढाएको बताउनुभयो । “महिला सङ्गठन, युवा मोर्चालगायत सबै भ्रातृ सङ्घ गठन सक्रिय गरिसकेका छौँ ।” उहाँले भन्नुभयो – “वडा भेला र छलफल अघि बढेका छन् ।” राप्रपाले आगामी वैशाख ७ गतेभित्र यहाँका सबै नगरपालिका र गाउँपालिकाका उम्मेदवार तय गरिसक्ने जनाएको छ ।

निर्वाचनको विरोधमा थारु

प्रमुख राजनीतिक दल सरकारद्वारा घोषित स्थानीय तहको निर्वाचनको तयारीमा जुटिरहेका बेला कञ्चनपुरका थारु सम्बद्ध क्षेत्रीय पार्टी र सङ्घ सङ्गठन भने त्यसको विरोधमा उत्रेका छन् ।

संविधान संशोधन प्रस्ताव पास नभएसम्म निर्वाचनमा भाग नलिने र निर्वाचन बिथोल्ने राणनीतिमा उनीहरु छन् । थरुहट÷चारुवान संयुक्त सङ्घर्ष समितिका जिल्ला संयोजक पुष्कलबहादुर चौधरीले संविधान संशोधनको मुद्दा अघि नबढेसम्म यहाँका थारुहरु निर्वाचनमा सहभागी नहुने बताउनुभयो ।

“यथास्थितिमा हामी प्रमुख राजनीतिक दलको पछाडि लाग्दैनौँ ।” सङ्घर्ष समितिका संयोजक चौधरीले रासससित भन्नुभयो – “निर्वाचन हुन नदिने रणनीति बनाउन हामीले छलफल चलाइरहेका छौँ ।” कञ्चनपुरमा मधेसवादी दलको प्रभाव भने न्यून छ । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित