FLASH NEWS
  • Loading...

सडकभरि गोलिया

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५२ पटक पढिएको
Post Thumbnail


तेह्रथुम, २० चैत । जिल्लाका अधिकांश सडकका दायाँबायाँ रुख काटेर गोलिया थुपारिएका छन् ।

सडक आसपासका वनबाट गोलिया काटेर निकासीका लागि व्यवसायीले सडक छेउमा थुपारेपछि सवारी आवागमनमा बाधा पुगेको छ । सवारी आवागमनमा अवरोध भएको गुनासो आएपछि सडक डिभिजन कार्यालयको अनुरोधमा जिल्ला वन कार्यालयले तत्काल हटाउन निर्देशन दिएको छ । तर व्यवसायीले वनको निर्देशन मानेका छैनन् ।

गोलियाका कारण सडकमा क्षति पुगेको छ भने दुर्घटनाको अत्याधिक सम्भावना समेत रहेको छ । जिल्लाको मुख्य म्याङ्लुङ–वसन्तपुर सडकखण्डको अधिकांश ठाउँमा गोलिया राखिएका छन् । गोलिया थुपार्ने क्रममा कतिपय ठाउँमा सडक भत्किएको छ ।

यस्तै निर्माणाधीन रहेका सिधुवा–शुक्रबारे, म्याङ्लुङ–सङ्क्रान्ति, जिरिखिम्ती–मोराहाङ, सङ्क्रान्ति–माझीटारलगायत सडकमा समेत गोलिया राखिएका छन् । सडकका कुनै न कुनै भागमा गोलिया राखिएकै भेटिन्छन् । सडक पुगेपछि पछिल्लो तीन वर्षयता अधिकांश गाउँबाट निरन्तर उत्तिस, चिलाउने, मलेत्रोलगायत काठका गोलिया निकाल्ने काम भइरहेको छ ।

“सडक साँघुरा छन्, त्यसमाथि दायाँबायाँ गोलिया राखेपछि सवारी कहाँ गुडाउने ?” नागरिक समाजका उपाध्यक्ष नरबहादुर लिम्बूले भन्नुभयो । सडक सबैको साझा सम्पत्ति हो भन्ने बुझाई नहुँदा यस्तो समस्या आएको उहाँको भनाइ छ ।

गाडी कुदाउने सडकमा गोलिया थुपारेर दुर्घटना निम्त्याउनेलाई सम्बन्धित निकायले कारबाही समेत नगरेको म्याङ्लुङका अर्जुन ढुङ्गाना बताउनुहुन्छ । सडकमा गोलिया मात्रै नभएर सडक मिचेर निर्माण सामग्री राख्ने, जथाभावी पार्किङ गर्ने, घाँस दाउरा राख्ने, गाईबस्तु छाड्ने लगायतलाई कारबाही गर्नुपर्ने उहाँको धारणा छ ।

दैनिक सयौँ सवारीसाधन गुड्ने धनकुटाको सिंधुवादेखि तेह्रथुम सदरमुकाम म्याङ्लुङ तथा सङ्खुवासभाको खाँदबारीसम्मका सडक दायाँबायाँ काठ थुपारेर सडक बिगारेको छ । ग्रामीण सडकमा गोलिया राखेर ट्र्याक्टर कुदाउँदा सडकको अवस्था कमजोर बनेको छ ।

व्यवसायीले सडक नै ढाक्नेगरी गोलिया राख्दा सवारी आवागमनमा समस्या भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख भीम कटुवालले बताउनुभयो । गोलिया हटाएर सवारी खुलाउने गरेको उहाँको भनाइ छ । सार्वजनिक सूचना टाँस गरे पनि अटेर गर्ने गरेका प्रहरीको गुनासो छ । व्यवसायीले अटेर गरी सडक अतिक्रमण गरी राखे सबै गोलिया जफत गर्ने जिल्ला वन अधिकृत देवीचन्द्र पोखरेलले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित