FLASH NEWS
  • Loading...

सुक्खा पहिरोमा दुईको मृत्यु

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६९ पटक पढिएको
Post Thumbnail


चितवन, २१ चैत । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ कविलासको घुमाउनेमा आज सुक्खा पहिरो जाँदा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा बा १० प ४८४४ नं को मोटरसाइकलका चालक लमजुङ सुन्दरबजार–३ भोटेओडारका अन्दाजी ४५ वर्षीय रेशमराज राना रहेका छन् ।

सोही मोटरसाइकलको पछाडि सवार रानाका १५ वर्षीय छोरा सन्दिप घाइते भएका छन् । सन्दिपको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । त्यसैगरी, मुग्लिन हुँदै नारायणगढतर्फ आउँदै गरेको ना ४ ख ५४१९ नं को ट्याङ्करका सहचालक भारतको वेतिया घर भएका २५ वर्षीय विनयकुमार कोइरीको मृत्यु भएको छ । पुरिएको ट्याङ्कर निकाल्दै गर्दा उनको शव फेला परेको हो ।

ट्याङ्कर चालक पर्सा लक्ष्यमनुवा–१८ का ३६ वर्षीय बनु पटेल घाइते हुनुभएको छ । उहाँको अवस्था पनि सामान्य रहेको प्रहरीले जनाएको छ । चितवन मेडिकल कलेजमा उपचार गराई रहनुभएका पटेलले अकस्मात ठूल्ठूला ढुङ्गा झरेको र ट्याङ्करसँगै अन्य सवारी साधन पनि पहिरोमा पुरिएको बताउनुभयो ।

पहिरोस्थलबाट रा १ ख ७७९ नं को मिनी ट्रक, बा १६ च ३९०७ नं को कार र ना ६ ख ६६६४ नं को ट्रक बाहिर निकालिएको छ । यी सवारीसाधनमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ । विहान १०ः३० बजे अकस्मात पहिरो खसेको हो ।

अवरुद्ध सडक सञ्चालनमा

यसैबीच, सुक्खा पहिरो खसेर अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड अपराह्नदेखि सञ्चालनमा आएको छ । चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार अवरुद्ध सडक अपराह्न ४ः३० बजेदेखि सञ्चालनमा आएको हो । पहिरोका कारण रोकिएका सवारी साधन गन्तव्यतर्फ गइरहेको प्रहरीले जनाएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड चौडा गर्ने कार्य भइरहेको छ । सोहीक्रममा भित्तो काटिएको क्षेत्रमा पहिरो खसेको हो । भित्तो काट्नका लागि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सडकमा आवागमन रोकिएको थियो । सडकमा बिहान १० बजे अघि नै छिरेका सवारीका साधन वाहिर निक्लनुअघि नै दुर्घटना भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित