FLASH NEWS
  • Loading...

दुई गैँडा नियन्त्रणमा, भालेलार्ई बर्दिया पठाइने

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ४७ पटक पढिएको
Post Thumbnail


चितवन, २२ चैत । चितवन राष्ट्रिय निकुञ्जले डाट गरेर आज एकैदिन दुईवटा गैँडालाई नियन्त्रणमा लिएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार आज बिहान ८ बजेतिर अन्दाजी ८÷१० वर्षको एउटा अर्धवयस्क भालेलाई नियन्त्रणमा लिएको र बिहान करिब ११ बजेतिर अर्काे अर्धवयस्क पोथी गैँडालाई नियन्त्रणमा लिइएको थियो ।

उहाँले सोमबार नै शुक्लाफाँटामा भाले लगिसकिएकाले आज समाइएको भाले गैँडालाई भने बर्दियामा लगेर छाडिने जानकारी दिनुभयो । सोमबार पठाइएको उक्त गैँडालाई आज करिब १ बजेतिर शुक्लाफाँटामा छाडिएको छ । आज समाइएका दुईवटा गैँडालाई आजै पठाइने निकुञ्जको भनाइ छ ।

सोमबार चितवन निकुञ्जको पश्चिम क्षेत्रमा डाट गरेर बेहोस बनाई नियन्त्रणमा लिइएको अन्दाजी १५÷१६ वर्षको वयस्क भाले गैँडालाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पठाइएको थियो । शुक्लाफाँटामा एक भालेसहित पाँच गैँडा लगिने तयारी छ । यसपालि बर्दियामा लैजाने कार्यक्रम नभए पनि थप एउटा भाले समाइएकाले त्यसलाई बर्दिया लगेर छाडिने छ ।

गैँडा समाउन चिकित्सक र प्रविधिज्ञको टोलीसहित ३० हात्ती र झन्डै १०० व्यक्ति निकुञ्जको पश्चिम क्षेत्र सुखिभारमा खटाइएको छ । सन् २००१ मा शुक्लामा पहिलोपटक यहाँबाट ४ गैँडा पठाइएको थियो । हाल नेपालमा ६४५ गैँडा छन् । त्यसमध्ये ६०० वटा चितवनमा छ भने नौवटा शुक्लामा छन् । सन् १९८४ देखि सुरु भएको गैँडा स्थानान्तरण कार्यक्रम अन्तर्गत बर्दियामा मात्रै ८८ वटा पठाइसकिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित