- Loading...
बाइस हजार घुससहित नापीका सर्वेक्षक पक्राउ
- गोल्डेन खबर
- ७ साल अघि
- १०८ पटक पढिएको

धनुषा, २२ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धनुषाबाट एक कर्मचारीलाई घुसको रकमसहित पक्राउ गरेको छ ।
जग्गाको सर्वेक्षण पासका लागि सेवाग्राहीसँग रु २२ हजार घुस लिएको रकमसहित नापी कार्यालय धनुषामा कार्यरत सर्वेक्षक रामलोचन ठाकुरलाई पक्राउ गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासबाट प्रहरी उपरीक्षक राजकुमार लम्सालको नेतृत्वमा खटेको टोलीले ठाकुरलाई पक्राउ गरेको हो ।
गोप्य उजुरीका आधारमा सेवाग्राहीसँग सर्वेक्षक ठाकुरले घुस लिएर काम गर्ने कोठामा गएको समयमा अख्तियारको टोलीले उनलाई खानतलासी गरेपछि रु २२ हजार घुसको रकमसहित रङ्गेहात पक्राउ गरिएको अख्तियारका प्रहरी उपरीक्षक लम्सालले जानकारी दिनुभयो ।
अख्तियारले विगत केही दिनदेखि मालपोत, नापीलगायत सेवाग्राहीको बढी भीड रहने कार्यालयमा अनुगमन बढाएको छ । विगत केही दिन पहिले मात्र धनुषाको मालपोत कार्यालयबाट एक कर्मचारीलाई अख्तियारले घुससहित पक्राउ गरेको थियो । धनुषाकै नापी कार्यालयबाटै आइतबारमात्र नापी कार्यालयकै अमिन कृष्ण जोशीलाई समेत रु ३० हजार घुसको रकमसहित पक्राउ गरेको थियो । रासस