FLASH NEWS
  • Loading...

संस्कृत पढ्ने विद्यार्थी घटे

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५६ पटक पढिएको
Post Thumbnail

पाल्पा, २५ चैत । गाउँ गाउँमा प्राविधिक शिक्षाको वर्चश्व बढ्न थालेपछि संस्कृत भाषा पढ्ने विद्यार्थीको सङ्ख्या घट्दै गएको छ ।

साँखर केलादीको राधा दामोदर संस्कृत विद्यापीठमा आजभन्दा दश वर्षअगाडि संस्कृत भाषा पढ्नेको ठूलो आकर्षण थियो । प्राविधिक शिक्षातर्फ धेरैको आकर्षण बढ्न थालेपछि बिस्तारै संस्कृत भाषा पढ्ने विद्यार्थीको सङ्ख्या घट्दै जान थालेको छ ।

पहिले यस विद्यालयमा एकसय ५० को हाराहारीमा विद्यार्थी भर्ना हुने गरेको पाइए पनि हाल भने ७५ विद्यार्थी मात्र रहेका छन् । नेपाल निम्बार्क संस्कृतको केन्द्रीय कार्यालय रहेको राधा दामोदर संस्कृत विद्यापीठमा उत्तरमध्यमा र शास्त्रीय तहसम्मको पठनपाठनको व्यवस्था छ । यहाँ संस्कृत भाषाका अलावा अनिवार्य नेपाली र अङ्ग्रेजी भाषाको पनि पढाइ हुने गर्दछ ।

सुरुमा महेन्द्र विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भई सञ्चालनमा आएको विद्यापीठ हाल भने नेपाल संस्कृत विश्वविद्यालय दाङअन्तर्गत सञ्चालित छ । २०१८ सालमा गुरुकुलका रुपमा राधादामोदर मन्दिरबाट सञ्चालन भएको र २०३७ सालमा राधा दामोदर संस्कृत माविका रुपमा साँखरको रिमाल्डिहीमा सञ्चालन भएको पाठशालाले २०५१ सालमा संस्कृत विद्यापीठ स्वरुप धारण गरी हाल सञ्चालनमा रहिआएको छ ।

हिन्दू धर्मग्रन्थका अनुसार धर्म, संस्कार, आदर–सत्कार, गुरुको सेवा, सत्कर्मबाट प्राप्त हुने फल, वेद, चण्डी पाठ, भागवत गीता, पुराणलगायत पूजापाठका विधि, असत कर्म गर्दा मानिसले भोग्ने सजायसम्बन्धी ज्ञान तथा सीप सिकाइने हँुदा अभिभावक र विद्यार्थीले पनि निकै चासो र महत्वका रुपमा लिएर यस संस्कृत भाषाको अध्ययन गरेको पाइन्थ्यो । अहिले भने संस्कृत भाषामा विद्यार्थीको मोह कम हँुदै गएको पाइएको छ ।

यहाँ अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहनस्वरुप प्रतिव्यक्ति मासिक रु चारसय छात्रवृत्ति रकम प्रदान गरिँदै आएको विद्यापीठका सहायक प्रशासक घनश्याम खनालले बताउनुभयो । “सुरु सुरुमा नेपाली भाषाभन्दा संस्कृत भाषा पढ्नेको आकर्षण बढ्दो थियो”—“प्राविधिक शिक्षा गाउँ गाउँमा सञ्चालन हुन थालेपछि संस्कृत भाषा पढ्ने विद्यार्थी कम हँुदै गएका छन्”, उहाँले भन्नुभयो ।

यस विद्यापीठमा बाहुन, क्षेत्री, मगर तथा नेपाली समुदायका विद्यार्थी रहेका छन् । पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासी, कास्की, धादिङ, चितवनलगायत विभिन्न जिल्लाका विद्यार्थी हाल अध्ययनरत छन् । केलादी मन्दिरको गुरुकुलमा बसोबास गरेर पढ्ने विद्यार्थीलाई खाने तथा बस्नेको निःशुल्क व्यवस्था पनि रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित