FLASH NEWS
  • Loading...

काठमाडौँमा उम्मेदवारी दर्ता

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ७९ पटक पढिएको
Post Thumbnail

काठमाडौँ, १९ वैशाख । यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि मुलुकको राजधानी काठमाडौँ जिल्लामा विभिन्न दल र स्वतन्त्र उम्मेदवारले उत्साहपूर्वक उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

पहिलो चरणको निर्वाचन प्रदेश नं ३, ४ र ६ अन्तर्गतका ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा हँुदैछ । त्यसका लागि निर्वाचन आयोगले आज बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता तालिका सार्वजनिक गरेको छ ।

झन्डै दुई दशकपछि हुन गइरहेको स्थानीय तहको निर्वाचनमा उम्मेदवारले उत्साहपूर्वक उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । काठमाडौँमा जिल्लामा नगर प्रमुख, उपप्रमुख र सदस्य गरी निर्वाचन हुने जम्मा ७१२ पदमा विभिन्न दल तथा स्वतन्त्र गरी हजाराँैको उम्मेदवारी परेको छ ।

जिल्लामा एक महानगरपालिका र १० नगरपालिका छन् । काठमाडौँ महानगरपालिका तथा नागार्जुन, शङ्खरापुर, गोकर्णेश्वर, दक्षिणकाली, ताकरेश्वर, कागेश्वरी मनहरा, चन्द्रागिरि, टोखा, कीर्तिपुर र बुढानीलकण्ठ नगरपालिकामा जम्मा १३८ वडा रहेको क्षेत्रीय निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ ।

क्षेत्रीय निर्वाचन अधिकारी चन्द्र गौतमका अनुसार काठमाडौँका एक महानगर र १० नगरपालिकामा एक प्रमुख तथा एक उपप्रमुख गरी २२ पदमा निर्वाचन हुँदैछ । त्यस्तै सबै नगरपालिकाका जम्मा १३८ वडामा एक अध्यक्ष तथा चार सदस्य गरी ६९० पदमा निर्वाचन हुन लागेको हो ।

राजनीतिक दलहरुले उम्मेदवारी दिँदा नगरपालिकाको प्रमुख तथा उपप्रमुखमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने प्रावधानअनुसार दलहरुले प्रमुख र उपप्रमुखमध्ये एक पदमा महिलाको उम्मेदवारी दिएका छन् ।

निर्वाचनका लागि काठमाडौँमा सबैभन्दा बढी ४७ दल दर्ता भएकाले अन्य जिल्लाको तुलनामा यहाँ बढी उम्मेदवारी दर्ता भएको छ । जिल्लाका सबै तहमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् ।

जिल्लाका एक मुख्य निर्वाचन अधिकृतको कार्यालय र १० निर्वाचन अधिकृतहरूको कार्यालयमा मनोनयन दर्ता गर्ने उम्मेदवार तथा तिनका समर्थकको बाक्लो घुइँचो छ । काठमाडौँमा सबैभन्दा बढी ६८६ मतदान केन्द्र रहेको र जम्मा पाँच लाख ५९ हजार ४०० मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनका लागि तीनवटै प्रदेशमा गरी चारवटा महानगरपालिका, एक उपमहानगरपालिका, ९२ वटा नगरपालिकाका प्रमुख, उपप्रमुख र सदस्य तथा १८६ वटा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र सदस्य पदका लागि आज मनोनयन दर्ता भएको छ ।

काठमाडौँ महानगरमा प्रमुख दलका उम्मेदवार को ?

नेपाली काँग्रेसले काठमाडौँ महानगरपालिकाको प्रमुखमा राजुराज जोशी र उपप्रमुखमा हरिप्रभा खड्गीलाई उम्मेदवार बनाएको छ ।

नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गरेको छ । प्रमुखमा एमालेले विद्यासुन्दर शाक्यलाई उम्मेदवार बनाएको छ भने र उपप्रमुखमा राप्रपाका राजाराम श्रेष्ठले उम्मेदवारी दिनुभएको छ ।

त्यस्तै नेकपा (माओवादी केन्द्र)ले काठमाडौँ महानगरपालिकाको प्रमुखमा सर्वोत्तम डङ्गोल र उपप्रमुखमा सुशीला पौडेललाई उम्मेदवार बनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित