FLASH NEWS
  • Loading...

दुबई पुरयाइएका ४४ नेपाली महिलाबारे अनुसन्धान सुरु

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ७७ पटक पढिएको
Post Thumbnail


काठमाडौँ, २० वैशाख । भारत हुँदै युनाइटेड अरब इमिरेट्स (युएई)को दुबई पुगेका ४४ जना नेपाली महिलामध्ये मङ्गलबार १२ जना नेपाल फिर्ता पठाइएकोमा आज थप ३२ जना आइपुगेका छन् ।

उनीहरूलाई दलालले भारतको दिल्लीको विमानस्थलबाट सोमबार साँझ दुबई पु¥याएकोमा आवश्यक कागजात नभेटिएपछि त्यहाँको अध्यागमनले नेपाल फिर्ता गरीदिएको थियो ।

राहदानीमा कुनै देशको पनि प्रवेशाज्ञा नलागेका उनीहरुले आफूहरु केन्या जान लागेको भन्दै दुबई पुगेकोमा त्यहाँबाट दलालले कुँवेत लैजाने तयारी गरेको थियो । केन्यामा नेपालीलाई ‘अन अराईभल भिसा’ अर्थात् जाने बित्तिकै प्रवेशाज्ञा दिने प्रावधानको फाइदा उठाउँदै उनीहरु भारतीय विमानस्थलमा ‘सेटिङ’ मिलाएर गएको अनुसन्धानको क्रममा खुलेको छ ।

फिर्ता भएकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमन विभागले नियन्त्रणमा लिएर सोधपुछ गरेपछि अहिले माइती नेपालको जिम्मा लगाएको विभागका महानिर्देशक गङ्गाराम गेलालले जानकारी दिनुभयो ।

उनीहरुलाई मनोसामाजिक परामर्शका लागि माइती नेपालमा पठाइएको र लैजाने गिरोहबारे समेत अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– मङ्गलबार १२ जना र बुधबार थप ३२ जना महिला दुबईबाट फिर्ता भएका छन् । उनीहरु सबै तराईका विभिन्न सीमानाका हुँदै स्थलमार्गबाट भारत लगिएको पाइयो ।

यसरी फिर्ता हुनेमा कञ्चनपुर, बर्दिया, काभ्रेपलाञ्चोक, नुवाकोट, सिन्धुपाल्चोकलगायत जिल्लाका रहेका छन् । केही महिला त चार महिनासम्म दिल्लीमा बसेर दुबई लगिएको भेटिएको छ ।

प्रहरीको केन्द्रीय अनुसनधान ब्युरो(सिआइबी)ले समेत यो घटनाबारे अनुसन्धान सुरु गरेको छ । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक मीरा चौधरीले सो घटनाबारे ब्युरोले अनुसन्धान सुरु गरेको र यसमा संलग्न गिरोहको छिट्टै पहिचान हुने बताउनुभयो ।

दुबईबाट दिल्ली फिर्ता गरिएका एअर इन्डियाको दिल्ली उडानबाट काठमाडौँ आइपुगेका हुन् । विभागका महानिर्देशक गेलालले यस घटनाबाट भारत हुँदै अवैधरुपमा खाडीमा पठाउने ठूलो गिरोह सक्रिय रहेको खुलेकाले त्यसलाई रोक्न मन्त्रालयमार्फत कूटनीतिक ढङ्गले भारत सरकारसँग कुरा गर्नुपर्ने आवश्यकता देखिएको टिप्पणी गर्नुभयो ।

फर्किएकाले दिएको प्रारम्भिक बयानमा आफूहरु घरेलु कामदारको रुपमा कुँवेत जान लागेको बताएका छन् । भारतबाट जाँदा उनीहरु अफ्रिकी मुलुक केन्या जान लागेका भनी त्यहाँको विमानस्थलमा विवरण लेखाएका थिए ।

यसअघि उत्तर प्रदेशको वाराणसीस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थल हुँदै युएईको शारजाह जान लागेका ३६ जना नेपाली महिलालाई गत हप्ता विमानस्थलबाट भारतीय प्रहरीले रोकेको थियो । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडीका राष्ट्रहरूमा घरेलु कामदारमा पठाउन रोक लगाउने निर्णय गरेपछि पछिल्लो समय भारत हुँदै अवैधरुपमा खाडीमा जानेको सङ्ख्या बढ्दै गएको छ । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित