- Loading...
भक्तपुरमा १८ सय सुरक्षाकर्मी परिचालन गरिने
- गोल्डेन खबर
- ७ साल अघि
- १११ पटक पढिएको


Nepali police officers with dogs during the dog festival as part of celebrations of Tihar at Central Police Dog Training School in Kathmandu, Nepal, on Tuesday, November 10, 2015. Photo: Skanda Gautam
भक्तपुर, २२ वैशाख । आगामी ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भक्तपुरमा एकहजार आठसय सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।
स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्ने लक्ष्यका साथ सुरक्षाको व्यवस्था गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिनुभयो । उहाँले नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी एकहजार आठसय सुरक्षाकर्मी परिचालन गरिने बताउँदै नेपाली सेनाको टोली भने निर्वाचनस्थलभन्दा बाहिर बसेर सुरक्षाको व्यवस्था मिलाउने बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सुरक्षाकर्मीसहितको टोलीले जिल्लाभरका ७८ वटा निर्वाचन केन्द्रको अनुगमन सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो । निर्वाचन केन्द्रमा मतदातास्थल कहाँ कहाँ रहने, मतदातालाई कसरी व्यवस्थित गर्ने, सुरक्षाकर्मीलाई कसरी तैनाथ गरिने भन्ने बारेमा सबै तयारी पूरा गरेको उहाँको भनाइ थियो ।
साथै मतदानको दिन ज्येष्ठ नागरिक, अपाङ्ग, बिरामी तथा सुत्केरीलाई लाइनमा नबसी सहजरुपमा मतदान गर्ने व्यवस्था मिलाइने प्रजिअ पोखरेलले बताउनुभयो । चुनावी प्रचार तथा मतदानस्थलमा बालबालिकाको प्रयोगलाई पूर्णरुपमा बन्देज लगाइएको उहाँले बताउनुभयो । भक्तपुरमा एकलाख ६२ हजार आठसय ८९ मतदाता रहेका छन् जसमा ८३ हजार दुईसय ६६ महिला र ७९ हजार ६ सय २३ पुरुष मतदाता रहेका छन् ।
भक्तपुरमा स्थानीय तहको निर्वाचनका लागि ७८ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । यसमा भक्तपुर नगरपालिकामा १७, मध्यपुर थिमी नगरपालिकामा १७, सूर्यविनायक नगरपालिकामा २३ र चाँगुनारायण नगरपालिकामा २१ मतदान केन्द्र निर्धारण गरिएको छ ।