FLASH NEWS
  • Loading...

भए परिचयपत्र, न भए आफ्नो परिचय खुल्ने सरकारी परिचयपत्र लिएर भोट हाल्न सकिन्छ

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८७ पटक पढिएको
Post Thumbnail


काठमाडौं । पहिलो चरणको निर्वाचनअन्तर्गत आज प्रदेश नम्बर ३, ४ र ६ नम्बरमा मतदान हुँदैछ ।
२० वर्ष पछि हुन लागेको २८३ स्थानीय तहमा आइतबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ । निर्वाचनको लागी मतदाता परिचयपत्र जरुरी पर्ने निर्वाचन आयोगले जनाएको छ ।
तर हालको परिस्थितीमा सबैसँग परिचय पत्र उपलब्ध नहुनु, बनेको परिचयपत्रमा त्रुटी देखिएपछि निर्वाचन आयोगले विकल्प दिएको छ ।
निर्वाचन आयोगका अनुसार ४९ लाख ५६ हजार ९ सय २५ मतदाता छन् । स्थानीय चुनावका लागि फोटो र क्यूआर कोडसहितको मतदाता परिचयपत्रको व्यवस्था गरेको थियो । तर, मतदानको अघिल्लो साँझसम्म पनि थुप्रै मतदाताले परिचय पत्र नपाए पछि आयोगले वैकल्पित व्यवस्था गरेको हो ।आयोगद्धारा वितरण गरिएको मतदाता परिचयपत्रमा त्रुटी भेटिएपछि आयोगले मतदाताहरु आफ्नो अधिकारबाट वञ्चित नहोउन् भन्ने उद्देश्यले वैकल्पिक व्यवस्था गरेको छ ।
निर्वाचन आयोगका अनुसार सरकारी निकायबाट जारी फोटोसहितको अन्य परिचयपत्रका आधारमा पनि मतदान गर्न सकिनेछ । आयोगका अनुसार मतदाता परिचयपत्र नभएको अवस्थामा यी कागजका आधारमा मतदान गर्न सकिने छः

१.नागरिकता परिचयपत्र
२. ०७० सालको मतदाता परिचयपत्र
३. राहदानी (पासपोर्ट)
४. सवारीचालक अनुमतिपत्र
५. जग्गाधनी प्रमाणपत्र
६. सरकारी निकायबाट जारी भएको अन्य कुनै फोटोसहितको परिचयपत्र (जस्तै निजामति कर्मचारीको परिचयपत्र, सूचना विभागको प्रेस पास आदि)
निर्वाचन आयोगका अनुसार माथि उल्लेखित ६ मध्ये कुनै एउटा कागज प्रमाण देखाएर भोट हाल्न पाइनेछ । तर, जुन मतदान केन्द्रमा मतदान गर्ने हो, सोही ठाउँको मतदाता नामावलीमा नाम हुनुपर्छ ।मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा स्थानीय तह निर्वाचन निर्देशिकाको दफा ४८ बमोजिम सानोतिनो भूलचुक मानी नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न सकिने निर्वाचन आयोगले स्पष्ट पारेको छ ।
आयोगका अनुसार पहिलो चरणको चुनाव हुने स्थानमा कुल मतदाता ४९ लाख ५६ हजार ९ सय २५ छन् । यो चुनावले १३ हजार ५ सय ५६ स्थानीय जनप्रतिनिधि
चुन्नेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित