FLASH NEWS
  • Loading...

निर्वाचन आयोगले सच्चाउँदै ७३ प्रतिशत मत खसेको दावी

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५६ पटक पढिएको
Post Thumbnail


काठमाडौं– स्थानीय तहको आइतबार सम्पन्न पहिलो चरणको निर्वाचनमा कम्तीमा ७३ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका अनुसार प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २ सय ८१ गाउँपालिका र नगरपालिकाको निर्वाचन केही स्थानमा छिटपुट घटनाबाहेक शान्तिपूर्वक भएको छ । अन्य दुई स्थान मनाङको नारफु गाउँपालिका र डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकाका सबै पदमा निर्विरोध निर्वाचित भइसकेका छन् ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मतदाताको व्यापक सहभागितामा उत्साहजनक ढंगले मतदान भएको बताए । ‘मतदानमा युवापुस्तादेखि ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, किरियापुत्री, दृष्टिविहीनसम्मले उत्सुकतापूर्वक सहभागिता जनाएका छन्, उनले भने, ‘आजको सहभागिताले जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनका मतदातालाई पनि उत्साहित बनाएको हुनुपर्छ ।’
दोलखाको मेलुङमा प्रहरीको गोलीबाट एक व्यक्तिको मृत्यु र केही घाइते भएका छन् । त्यहाँ बुथकब्जाको प्रयास भएपछि गोली चलाइएको प्रहरीले जनाएको छ । काभ्रे, रामेछाप, हुम्ला, सिन्धुपाल्चोक र कालिकोटका कतिपय मतदान केन्द्रहरूमा पनि केहीबेर झडप र तनाव भएको थियो ।
आयोगले ६ हजार ६ सय ४२ मतदान केन्द्रमध्ये तीन स्थानको मतदान स्थगित भएको छ । काभ्रेको नमोबुद्ध नगरपालिकाको वडा नं. ४ को मतदान केन्द्र, कालिकोट कालिका गाउँपालिकाको बालाचौर आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रको मतदान विवादमा परेको र दोलखाको मेलुङ गाउँपालिकाअन्तर्गत सत्येश्वर माविमा रहेको मतदान केन्द्रको मतदान स्थगित भएको छ ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको भोटसिपास्थित चण्डेश्वरी माविस्थित मतदान केन्द्रमा बिहान ११ बजे भएको तनावपछि थप मतदान हुन सकेन । त्यहाँका १ हजार ९ सय मतदाता रहेकोमा ७ सय मत खसेको छ ।
काभ्रेको नमोबुद्धमा मतदानको अघिल्लो राति गोली लागेर एकजनाको मृत्यु भएको घटनालाई लिएर वडा नं. ४ मा मतदान नै सुरु हुन सकेन ।
कालिकोटको नरहरिनाथ गाउँपालिकाको माल्कोटको नन्दादेवी माविमा मतदानपछि मतपेटिका केन्द्रमा ल्याउने क्रममा लुटिएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित