FLASH NEWS
  • Loading...

संशोधन पारित नभए आन्दोलन गर्ने चेतावनी

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७२ पटक पढिएको
Post Thumbnail


काठमाडौं– बुधबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले सरकारसँग भएको सहमतिअनुसार संविधान संशोधन नगरी दोस्रो चरणको निर्वाचनको तयारी गरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।
सरकार र राजपाबीच यसअघि नै जेठ ४ गते बस्ने व्यवस्थापिका संसदको बैठकमा संशोधन प्रस्ताव पारित गराउन अघि बढाउने सहमति भएको भन्दै राजपाको अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफूहरुले प्रधानमन्त्रीसमक्ष पहिला भएका सहमतिअनुसार आफ्ना मागहरु पूरा गर्न आग्रह गरेको जानकारी दिए ।
महतोले भने, ‘मधेसको माग सम्बोधन नगरी चुनाव गर्न अप्ठ्यारो हुन्छ, यदि हाम्रो माग सम्बोधन भएन र संविधान संशोधन भएन भने हामी फेरि आन्दोलनमा जानेछौ ।’ बैठकमा प्रधामन्त्री प्रचण्डले मोर्चालाई सरकारले संविधान संशोधनका लागि दलहरुसँग छलफल जारी राखेको र मोर्चाका मागहरु सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको कुरा बताएको पनि महतोले जनाएका छन् । बैठकमा प्रधामन्त्री प्रचण्डले पहिलो चरणको चुनाव सम्पन्न भएपछि अब सरकार दोस्रो चरणको निर्वाचन गर्न सरकार लागि परेको बताउँदै यसबाट कुनै पनि कोही पनि पछि फर्कन नमिल्ने बताएका थिए ।
प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै प्रधामन्त्रीका राजनीतिक सल्लाहकार चन्द्रप्रकाश खनाल बलदेवले भने, ‘प्रधानमन्त्रीले अब कुनै पनि हालतमा चुनावको मिति यताउता गर्न नमिल्ने बताउँदै राजपा नेताहरुलाई तपाईंहरुले पनि साना तिना कुरा छाडेर चुनावको तयारी गर्न आग्रह गर्नुभयो ।’ उनकाअनुसार प्रधानमन्त्री प्रचण्डले आफ्नै पहलमा सहमतिका आधारमा मधेसका मागहरु पूरा हुने बताउँदै चुनाव बहिस्कार गर्ने वा चुनाव हुन नदिने कुरा नगर्न आग्रह गरेका थिए ।
संविधान संशोधन जेठ ४ गते पारित हुन्छ कि हुदैन भन्ने प्रश्नमा बलदेवले भने, ‘यसका लागि सरकारले विभिन्न दलहरुसग छलफल गरिरहेको छ । भोलि एमाले र राप्रपासँग पनि छलफल हुनेछ । भोलि नै पास हुने चाही ग्यारेन्टी छैन ।’

कांग्रेस र राजपाबीच छलफल
काठमाडौं–नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका शीर्ष नेताहरुबीचको छलफलले निर्वाचनमा राजपा नेपालको सहभागिताका लागि संविधान संशोधनलगायत माग सम्बोधन गर्ने सहमति गरेको भन्दै दोस्रो चरणको स्थानीय तहको निर्वाचन सफल बनाउन वातावरण बनाउने निष्कर्ष निकालेका छन् ।
यही जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचन राजपा नेपालको समेत सहभागितामा सफल बनाउने सम्बन्धमा छलफल भएको बैठकपछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । वरिष्ठ नेता पौडेलले भने, ‘उहाँहरुका माग सम्बोधन गर्दै जान्छौँ र गछौँ । संविधान संशोधन प्रस्तावलाई पारित गर्न आवश्यक बहुमत पु¥याउन अन्य पार्टीसँग पनि छलफल गछौँ ।’
बैठकमा राजपा नेपाललाई निर्वाचनमा चुनाव चिह्न दिलाउने सम्बन्धमा पनि निर्वाचन आयोगसँग छलफल गर्ने सहमति भएको छ । संविधान संशोधन पारित गर्ने सम्बन्धमा सत्ता पक्षका दलहरुले राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलसँग छलफल गर्ने तयारी गरेको छ ।
राजपा नेपालले बैठकमा निर्वाचनका लागि आवश्यक वातावरण बन्न नसकेकाप्रति कांग्रेसको ध्यानाकर्षण गराएको राजपा नेपालका नेता राजेन्द्र महतोले जानकारी दिए । निर्वाचनको वातावरण नबनेसम्म तराई मधेसमा निर्वाचन हुन नसक्ने स्पष्ट पार्दै उनले त्यसका लागि संविधान संशोधन गर्नुपर्ने, जनसंख्याका आधारमा स्थानीय तहको संख्या बढाउनुपर्ने र आन्दोलनका क्रममा लागेका मुद्धा फिर्ता लिइनुपर्ने बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित