FLASH NEWS
  • Loading...

‘पराजय भोगे पनि असफल भएका छैनौ’

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ६७ पटक पढिएको
Post Thumbnail


काठमाडौं– नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले स्थानीय चुनावमा पराजय भोगे पनि असफल नभएको दाबी गरेका छन् । शनिबार दुई पृष्ठ लामो विज्ञप्ति जारी गर्दै संयोजक डा.भट्टराईले वर्ष दिनअघि मात्र खुलेको र दर्ताका हिसाबले कान्छो पार्टीको राष्ट्रिय रुपमा पाएको मतका आधारमा चुनावमा पराजय भोगे पनि असफल भने नभएको दाबी गरे ।
समग्र परिणाम निश्चय नै आसा अनुरुप नभएको भए पनि यत्तिका छोटो समयमा पार्टीले पाएको मतका आधारमा उपलब्धिलाई न्यूनीकरण गर्न नमिल्ने तर यो निर्वाचनमा पनि पुराना शक्तिहरुले पैसा, बाहुवल र सत्ताको खुलेर प्रयोग गरेको आरोप लगाएका छन् । पुराना शक्तिहरुको पैसा, बाहुवल र सत्ताको प्रयोगले धेरै ठाउँमा वैकल्पिक राजनीतिको प्रतिवद्ध मत पनि सुरक्षित गर्न कठीन भएको डा.भट्टराईले दाबी गरेका छन् ।
पुराना पार्टीहरुसँग सत्ता, संशाधन र गलत ढंगले जुटाएको स्रोत रहेको र ती राजनीतिक आन्दोलन नभइ निर्वाचन परिचालन गर्ने यन्त्र भइसकेको डा.भट्टराईको आरोप छ ।
‘प्रारम्भिक पराजय भोग्नु भनेको असफल हुनु होइन । हामी असफल त्यतिबेला हुन्थ्यौं जब हामी यो वैकल्पिक राजनीतिक अभियानमा लाग्ने हिम्मत गर्दैनथियौं । नयाँ शिशुले लड्दै पड्दै नै दौडन सिक्छ र सिक्नुपर्छ,’ डा.भट्टराईले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
उनले वैकल्पिक राजनीतिक शक्ति बनाउने यात्रा बल्ल सुरु भएको निष्कर्ष निकालेका छन् । डा. भट्टराईले निर्वाचन परिणाम आशा गरिएअनुसार नभए पनि असन्तोष गर्ने नमिल्ने बताएका छन् ।
‘राज्ययन्त्रको चरम दुरुपयोग र सत्ताशक्तिको दबदबाको बीचमा पनि विकल्पको बाटो रोज्ने हरेक मतदाताहरुको मनभित्र उम्रिएको विद्रोहको बीज अवश्य पनि छिटै टुसाउनेछ,’ डा.भट्टराईको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘त्यसले वैकल्पिक वृक्षको आकार लिनेछ भन्नेमा हामी विश्वस्त छौँ ।’
डा.भट्टराईले वैकल्पिक राजनीतिसँग डराएर आफूहरुलाई षड्यन्त्रपूर्वक दलीय निर्वाचन चिह्न नदिएको आरोप पुनः लगाएका छन् । निर्वाचनमा त्यसले पनि धेरै नै प्रतिकूल प्रभाव पारेको उनको भनाइ छ ।
त्यस्तै, डा.भट्टराईले आफ्नो पार्टीको पराजयलाई गलत ढंगले प्रचार गर्ने पनि आशंका गरेका छन् । तर त्यसलाई गलत सावित गरिछाड्ने उनको विश्वास छ । ‘कतिपयले हाम्रो ‘मृत्युलेख’ लेख्ने हतार गर्नेछन्, तर हामी तिनलाई गलत सावित गरिछाड्नेछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
उनले आफ्नो पार्टीलाई कान्छो पार्टीको उपमा दिँदै आफूहरुले पाएको मतका आधारमा न्यूनीकरण गर्न नमिल्ने भन्दै परिणामको बचाउ गरेका छन् । ‘यात्रा बल्ल सुरु भएको छ, अघिल्तिर सम्भावनाका अनन्त क्षितिज उघ्रिएका छन्,’ उनले भनेका छन् ।
अहिलेको चुनावी अनुभवले आङ्खनै पुनर्निर्माणको अवसर दिएको डा.भट्टराईले स्वीकार गरेका छन् । नयाँ शिशुले लड्दैपढ्दै दौड सिक्ने भन्दै भट्टराईले दौड सिक्ने पनि प्रतिवद्धता जनाएका छन् ।
विज्ञप्तिमा लेखिएको छ, ‘हामी किञ्चित विचलित भएका छैनौँ । पहिलो चरणमा प्राप्त जनमतको सम्मान गर्दै हामी अहिल्यैदेखि दोस्रो चरणको निर्वाचनको तयारीमा जुटिसकेका छौँ ।’
छोटो समयमा अधिकांश स्थानमा उम्मेदवारी दिन सक्नु र केही स्थानमा जित्नुको प्रतिकात्मक महत्व रहेको भन्दै डा.भट्टराईले सन्तोष व्यक्त गरेका छन् । संगठनात्मक शक्तिमा रुपान्तरण गर्न आउँदा दिनहरुमा अझै जोड दिनुपर्ने नयाँ शक्तिले निष्कर्ष निकालेको छ ।
‘संगठनात्मक शक्तिमा रुपान्तरण गर्न आउँदा दिनहरुमा अझै जोड दिनुपर्ने सन्देश यो निर्वाचनमा मतदाताले दिएका छन् । हामी त्यसलाई विनम्रतापूर्वक स्वीकाछौँ,’ विज्ञप्तिमा लेखिएको छ, ‘कतिपयले हाम्रो ‘मृत्युलेख’ लेख्न हतार गर्नेछन., तर हामी तिनलाई गलत सावित गरिछाड्नेछौँ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित