FLASH NEWS
  • Loading...

सुरक्षाबारे निर्वाचन आयोग संवेदनशील

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८७ पटक पढिएको
सुरक्षाबारे निर्वाचन आयोग संवेदनशील


काठमाडौं– दोस्रो चरणको स्थानीय तह निर्वाचनको सुरक्षालाई लिएर निर्वाचन आयोग संवदेनशील बनेको छ । पहिलो चरणको निर्वाचनमा राजनीतिक दलका कार्यकर्ताबीचको झडपबाट केही सुरक्षा चुनौती देखिएपछि आयोग दोस्रो चरणमा त्यस्ता घटना नदोहोरियोस् भनी संवेदनशील बनेको हो ।
पहिलो चरणको निवार्चनका क्रममा दलहरुबीचको झडपबाट दोलखामा दुई जना, काभ्रेमा एक जना र कालीकोटमा उम्मेदवारको समेत मृत्यु भएपछि आयोगले सबै राजनीतिक दलहरुसँग सुरक्षाको विषयलाई लिएर विशेष छलफल गर्न लागेको छ ।
विभिन्न राजनीतिक दलहरुसँग सुरक्षाको विषयलाई लिएर छलफल गर्नुअघि शनिबार स्थानीय तह निर्वाचनका लागि गठन गरिएको उच्चस्तरीय सुरक्षा समितिको बसेको छ ।
निर्वाचन आयोगको कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै निर्वाचन आयुक्त सुधीरकुमार शाहले राजनीतिक दलका कार्यकर्ता र समर्थकलाई नियन्त्रित भएर क्रियाकलाप गर्न निर्देशन होस् भन्नाका लागि शीर्ष नेताहरुसँग परामर्श गर्न लागिएको जानकारी दिएका छन् । उनका अनुसार आयोग दोस्रो चरणको निर्वाचनको पूर्वसन्ध्यामा सामाजिक र साम्प्रदायिक सद्भाव नखल्बलियोस्, यसले अप्रिय वातावरण सिर्जना नहोस् भन्ने हेतुले दलहरुसँग आयोगले चाँडै छलफल गर्दै छ ।
निर्वाचनमा पर्याप्त सुरक्षा व्यवस्था हँदाहुँदै पनि पहिलो चरणको निर्वाचनमा राजनीतिक दलका कार्यकर्ताबीचको द्वन्द्व र मुठभेडले दोलखालगायत जिल्लामा अनपेक्षित रुपमा घटना भएपछि आयोगले थप सजगता अपनाउन राजनीतिक दललाई आग्रह गर्ने पनि भएको छ ।
जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारी र राजनीतिक दलबीचमा निरन्तर सम्पर्क, सहयोग र समन्वयको वातावरण सिर्जना गर्न राजनीतिक दलहरुको जिल्लास्तरीय संयन्त्रलाई अझ बढी सक्रिय र प्रभावकारी तुल्याउन आवश्यक भएको आयोगको ठहर छ ।
बैठकले पहिलो चरणको निर्वाचनमा देखिएका सवल पक्ष र एकाध ठाउँमा भएका कमी कमजोरीको समग्र मूल्यांकन र विश्लेषण गर्दै बैठकले पहिलो चरणको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको निष्कर्ष निकालेको छ । तर, मतगणनाका क्रममा भने निर्वाचन आयोगको व्यापक आलोचना भएको छ । त्यसो त राजनीतिक दलहरुले मतगणना कार्यमा आयोग दलहरुप्रति पूर्वाग्रह राखेको आरोप लगाएका छन् ।
पहिलो चरणको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न उचित सुरक्षा व्यवस्था गरेकोमा सरकार र सुरक्षा निकायलाई धन्यवाद ज्ञापन गर्दै आयोगले दोस्रो चरणको निर्वाचनमा पनि सुरक्षा निकायबीचको सहकार्य र समन्वय अझ प्रगाढ हुने विश्वास लिएको छ ।
बैठकले पहिलो चरणको निर्वाचनको समग्र सुरक्षा व्यवस्थाको समीक्षा र मूल्याङ्कन गर्दै दोस्रो चरणको निर्वाचनको जोखिम र सुरक्षा चुनौतीबारे विस्तृत छलफल गरेको आयुक्त शाहले बताएका छन् ।
बैठकमा गृहमन्त्रालयले दोस्रो चरणको निर्वाचनका लागि तयार गरेको सुरक्षा योजनामा आवश्यक रणनीतिगत परिमार्जन र थप कार्ययोजना बनाई आगामी बैठकमा पेस गर्ने निर्णय भएको आयोगले जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको उपस्थितिमा बसेको उक्त सुरक्षा समितिको बैठकमा निर्वाचन आयुक्तहरु नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल तथा सुधीरकुमार शाह, आयोगका सचिव गोपीनाथ मैनाली, गृहमन्त्रालयका सचिव लोकदर्शन रेग्मी, रक्षामन्त्रालयका सचिव श्रीधर सापकोटा तथा चारवटै सुरक्षा निकायका प्रमुख एवं उच्च पदाधिकारी सहभागी थिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय खुल्यो
आयोगले दोस्रो चरणको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय खोलेको छ । ३१ जेठका लागि तय भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो । ४१ जिल्लाका ४६१ निर्वाचन क्षेत्रमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत यसअघि नै छनोट भइसकेका थिए ।
आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनाको तयारी पूरा भइसकेको जनाएको छ । आयोगले निर्वाचनको लागि आवश्यक पर्ने सामग्रीहरु मसीदेखि सियोसम्मका ६४ प्रकारका सामाग्री जिल्लामा पठाइसकेको छ ।
दोस्रो चरणमा प्रदेश नम्बर १, २, ५ र ७ मा निर्वाचन हुँदै छ । ३१ जेठको निर्वाचनका लागि १९ जेठमा उम्मेदवार मनोनयन हुने कार्यतालिका छ । आयोगले २२ जेठमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ ।
गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा खटाइएका मुख्य निर्वाचन अधिकारी र निर्वाचन अधिकारीहरुको जिम्मेवारी भने यसअघि नै तोकिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित