FLASH NEWS
  • Loading...

देउवाका कारण स्थानिय निकायमा कांग्रेसको पराजय

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १०६ पटक पढिएको
Post Thumbnail


काठमाडौं– पहिलो चरणको स्थानीय तहको निर्वाचनमा पराजय भोग्नुको कारक पार्टी सभापति शेरबहादुर देउवा भएको वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वले निष्कर्ष निकालेको छ ।
सोमबार वरिष्ठ नेता पौडेलको सम्पर्क कार्यालय अनामनगरमा बसेको बैठकले पहिलो चरणको निर्वाचनको समीक्षा गर्दै सभापति देउवाको गलत नीतिले कांग्रेस पराजित भएको निष्कर्ष निकालेको हो ।
बैठकले दोस्रो चरणमा जानुअघि जनतासमक्ष माफी माग्नुपर्ने अन्यथा कांग्रेस समाप्त नै हुने चेतावनी पनि दिएको छ । वरिष्ठ नेता पौडेल पक्षले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा पार्टी नेतृत्वबाट गम्भीर गल्ति भएको निष्कर्ष निकालेको छ ।
छलफलले स्थानीय तहअन्तर्गतको पहिलो चरणको निर्वाचनमा सभापति देउवाको रणनीति पूर्ण असफल भएको निष्कर्षसमेत निकालेको बैठकमा सहभागी एक नेताले बताएका छन् । बैठकमा सहभागी अधिकांश केन्द्रीय सदस्यहरुले सभापति देउवाले पार्टीलाई आफ्नो व्यक्तिगत स्वार्थका लागि उपयोग गरेको आरोपसमेत लगाएका थिए । पहिलो चरणको निर्वाचन परिणामलाई उनले गम्भीर रुपमा नलिए राम्रो नहुने चेतावनी समेत उनीहरुले दिएका छन् ।
बैठकमा दूरदराजका गाउँका मतदाताले नेपाली कांग्रेसको पक्षमा मतदान गरे पनि सचेत मतदाताले कांग्रेसलाई अस्विकार गरेको निष्कर्ष निकालिएको छ । दोस्रो चरणमा निर्वाचन हुने अधिकांश सहरी क्षेत्र रहेकाले अघिल्लो चरणमा भएका गल्तिप्रति माफी माग्दै जनतामा जानुपर्ने समेत निष्कर्षमा पुगेको छ ।
बैठकले पछिल्लो समयमा कांग्रेसभित्र मनपरीतन्त्र हावी भएको, जिम्मेवारी नलिने प्रवृत्ति बढेको, निष्ठा र इमान्दारिता हराउँदै गएको निष्कर्ष निकालेको छ । नेपाली कांग्रेसको सहमतिमा कांग्रेस सहभागी सरकारले गरेका केही अक्षम्य गल्तिका कारण सहरका सचेत मतदाताले कांग्रेसलाई अस्विकार गरेको बैठकको निष्कर्ष छ ।
त्यसैगरी तालमेलका नाममा स्थानीय तहको भावना बुझ्न नसकेका कारण सिंगो चितवन जिल्ला कांग्रेसको हातबाट गुमेको, लम्जुङमा कांग्रेस कमजोर भएको अवस्थामा माओवादीलाई कांग्रेससँग तालमेल गराउन नसकेको, माओवादीको प्रभाव क्षेत्रमा तालमेलको बिषय नउठाएको, तालमेल अनुसार माओवादीको पक्षमा सभापति चितवन भोट माग्न गए पनि पोखरामा माओवादी अध्यक्षलाई भोट माग्नका लागि सभापतिले लैजान नसकेको बिषय बैठकमा उठेका थिए ।
तर, बैठकले सभापति देउवाले गम्भीर गल्ती गरेको भनिए पनि कुन कुन बुँदामा कसरी गल्ती गरे भन्नेबारे भने बैठक मौन छ । कांग्रेसको गल्तीका बारेमा सहभागी नेताहरुले सञ्चारकर्मीहरुसँग आ–आफ्नै तरिकाले जवाफ दिएका छन् ।
पहिलो चरणको स्थानीय तहको चुनावको परिणाम सार्वजनिक भई नसक्दै सत्तारुढ नेपाली कांग्रेसभित्र सभापति देउवाको कमजोरी देखाउनुलाई कांग्रेसभित्रै गम्भीर रुपमा लिइएको एक केन्द्रीय नेताले बताए ।
माओवादी–कांग्रेसबीचको सहमति बमोजिम अब सरकारको बागडोर कांग्रेसको हातमा जाँदै छ । समाचार स्रोतका अनुसार यहि बेला प्रधानमन्त्रीमा दाबी गर्नका लागि नेता पौडेलले च्याँखे थाप्ने मनसायमा देखिएका छन् । त्यसैले नै केही दिन अघिसम्म प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्छ भन्दै हिँड्ने कांग्रेस नेताहरुले यहि सरकारबाट नै दोस्रो चरणको निर्वाचन पनि हुनुपर्ने भन्न थालेका छन् ।
बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरु, बलबहादुर केसी, गोविन्द भट्टराई, दिलेन्द्र बडु, धनराज गुरुङ, कल्याण गुरुङ, हृदयराम थानीलगायत राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुको सहभागिता थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित