FLASH NEWS
  • Loading...

सहमतीय सरकार गठनमा कसरत

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६३ पटक पढिएको
Post Thumbnail


काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ १० गते पदबाट राजीनामा दिएपछि अब बन्ने सरकारलाई सहमतिको सरकार बनाउन दलहरु कसरतमा जुट्न थालेका छन् ।
प्रचण्डले राजीनामा दिएपछि नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सहमतिका आधारमा नयाँ सरकार गठन गर्न कसरत सुरु भएको हो ।
सत्ता साझेदार दल कांग्रेससँग आलोपालो सरकारको नेतृत्व गर्ने समझदारीअनुसार प्रधानमन्त्री दाहालले राजीनामा दिएपछि मंगलबार व्यवस्थापिका–संसद्को ठूलो दल नेपाली कांग्रेसको संयोजनमा संसद् भवन नयाँ बानेश्वरमा संसद्मा राजनीतिक सहमतिका आधारमा नयाँ सरकार गठन गर्ने भन्दै सबै दलका शीर्ष नेताको छलफल बोलाइएको थियो ।
प्रधानमन्त्रीको राजीनामापछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको प्रावधानानुसार सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्न संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलाई यही जेठ ११ गते आह्वान गरेकी थिइन् ।
बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालले संसद्को ठूलो दलको हैसियतमा कांग्रेस सभापति शेरबहादुर देउवाले बैठकको आयोजना गरेको जानकारी गराउँदै बैठकमा एमाले उपस्थित नहुँदा बैठकको उद्देश्य पूरा नभएको धारणा व्यक्त गरे ।
प्रधानमन्त्री दाहालले आफूले सभापति देउवालाई प्रमुख प्रतिपक्षी दलका नेतालाई भेटेर उनीहरू पनि उपस्थित हुने गरी राष्ट्रिय सहमतिको विषयमा अर्का बैठक बोलाउन सुझाव दिएको बताए । बैठकबाट बाहिरिने क्रममा कांग्रेस सभापति देउवाले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अब बन्ने सरकार सकेसम्म सहमति नभए बहुमतीय बन्ने बताए ।
कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले सकेसम्म सबैसँग सहमतिका लागि प्रयास गरिने जानकारी दिए । संसद्को ठूलो दल भएको र यसअघि माओवादी केन्द्रसँग भएको समझदारीअनुसार काँग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउन बैठकको आयोजना गरिएको उनले स्पष्ट पारे ।
सङ्घीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक शिवजी यादवले राष्ट्रिय सहमतिको सरकार बन्नेमा आफूहरू बाधक नहुने बताउँदै प्रमुख प्रतिपक्ष दललाई पनि समेट्न सुझाव दिइएको जानकारी दिए ।
राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले सरकारले यसअघि आफ्ना माग पूरा नगरेको गुनासो गर्दै तत्काल सरकार गठनमा निःसर्त कसैलाई पनि सहयोग नगरिने बताए ।
बैठकमा कांग्रेस, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरम, राजपा, नेमकिपा, नेकपा(माले), नेकपा(संयुक्त), थरुहट तराई पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल परिवार दल, अखण्ड नेपाल पार्टी, समाजवादी जनता पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), जनजागरण पार्टीलगायत दलका अध्यक्ष एवं प्रतिनिधिको उपस्थिति थियो ।

एमाले अनुपस्थित
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार आह्वान गरेको दलहरुको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आफ्नो उपस्थिति जनाएन ।
एमालेको अनुपस्थितिमा बैठकले ठोस निष्कर्ष निकाल्न नसक्दा सभापति देउवालाई अध्यक्ष केपी ओलीलाई व्यक्तिगत रुपमा भेटेर भएपनि सहमतिमा ल्याउने प्रयास गर्न भनिएको उनले उल्लेख गरे ।
नयाँ बानेश्वर स्थित संसद भवनमा बसेको बैठकमा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्यहरु पनि अनुपस्थित रहे । राजपाका तर्फबाट बैठकमा सहभागी नेता लक्ष्मण लाल कर्णले आफूहरुका माग अहिले पनि संम्बोधन नभएको भन्दै वर्तमान सरकारले उधारो राखेको माग पूरा भए जसको नेतृत्वको सरकार बनेपनि स्वीकार गर्ने बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित