FLASH NEWS
  • Loading...

आजबाट बहुमतीय सरकार गठनको प्रयास

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६९ पटक पढिएको
Post Thumbnail


काठमाडौं– बिहीबारदेखि बहुमतीय सरकार गठनको प्रयास सुरु हुने भएको छ ।
राष्ट्रपतिले राजनीतिक दलहरुलाई राष्ट्रिय सहमतिको सरकार गठनका लागि सातदिनको म्याद दिए पनि दलहरुबीच सहमतिको वातावरण नबनेपछि बिहीबारदेखि बहुमतीय सरकार गठनको प्रक्रिया सुरु हुने भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले गत हप्ता पदबाट राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सात दिनभित्र सहमतीय सरकार गठन गर्न आह्वान गरेकी थिइन् ।
संविधानअनुसार दलहरुबीच उपधारा (२) बमोजिम सहमति कायम हुन नसकेमा उपधारा (३) बमोजिम बहुमतीय सरकार गठनको प्रक्रिया प्रारम्भ हुने व्यवस्था छ । उक्त समय बढीमा तीन दिन हुनेछ ।
बहुमतीय सरकार गठन गर्न नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको सहमति अनुसार अब कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माओवादी केन्द्रले सहयोग गर्नेछ । संसदको ठूलो दल कांग्रेससँग स्पष्ट बहुमत नभएपछि सत्ताका लागि कांग्रेसले माओवादी केन्द्रको साथ लिएको हो ।
बहुमतीय सरकार गठनका लागि कांग्रेसले तराई केन्द्रित दलहरुलाई पनि साथ लिइसकेको छ । तराई केन्द्रित दलहरुले यसअघि पनि कांग्रेस–माओवादीको गठबन्धनलाई नै सरकार गठनमा सहयोग गरेको थियो ।
त्यस्तै साना दलहरुले पनि कांग्रेस सभापति देउवालाई नै समर्थन गर्ने निश्चित भएको कांग्रेसनिकट स्रोत बताउँछ । तर, एमालेलगायत केही साना दलहरुले भने देउवालाई समर्थन नगर्ने भएका छन् । जसमा एमाले, माले, जनमोर्चा र नेपाल मजदुर किसान पार्टी छन् । यो गठबन्धनले यसअघिको कांग्रेस–माओवादी गठबन्धनको प्रधानमन्त्री दाहाललाई पनि समर्थन गरेका थिएनन् । यसपटक पनि उहि प्रक्रिया दोहोरिने बताइएको छ ।
ेनेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सहमतीय सरकार गठन गर्न भन्दै
मंगलबार सर्वदलीय बैठक बोलाएको थियो । तर, उक्त बैठकमा एमाले भने उपस्थित भएन । यस्तो परिस्थितीमा सहमतीय सरकार नबन्ने संकेत देखिएको छ ।
तै पनि सहमतीय सरकार गठन गर्ने अन्तिम दिन बुधबार राष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय सहमतिको सरकार गठनबारे दलसँग परामर्श गरेकी थिइन् । राष्ट्रपति भण्डारीद्वारा आयोजित सर्वदलीय बैठकमा सहमतिको सरकार गठनका लागि अन्तिम दिनलाई सदुपयोग गर्न आग्रह गरेकी उनका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
बैठकमा राष्ट्रपति भण्डारीले मुलुकको अवस्था ख्याल गरेर सहमतिको सरकार गठन गर्न दलहरुलाई अनुरोध गरेकी थिइन् । राष्ट्रपति भण्डारीको भनाइ उद्धृत गर्दै स्वकीय सचिव अधिकारीले भने, ‘राष्ट्रिय सहमतिको सरकार गठनको दिनलाई सदुपयोग गर्नुस्, राष्ट्रिय सहमतिका सरकार गठन नभए भोलि (बिहीबार) बाट बहुमतीय प्रक्रिया सुरु हुन्छ ।’
अब तोकिएको म्यादभित्र सहमतीय सरकार बन्न नसकेमा संविधानको धारा २९८ को उपधारा (३) अनुसार व्यवस्थापिका–संसद्को तत्काल कायम रहेका सदस्य संख्याकोे बहुमतको आधारमा प्रधानमन्त्री निर्वाचन गर्ने संवैधानिक व्यवस्था छ । यसै बमोजिम अब संसदले कारबाही सुरु गर्नेछ ।
बुधबार शीलत निवासस्थित राष्ट्रपति कार्यालयमा भएको सो सर्वदलीय बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी ओली, माओवादी नेता टोपबहादुर रायमाझी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता राजेन्द्र महतो, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, नेपाल मजदुर किसान पार्टीका नेता सुनिल प्रजापति, संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठ, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित