FLASH NEWS
  • Loading...

‘माओवादी नेतृत्वको सरकार इतिहासमै सफल सरकार’

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७६ पटक पढिएको
Post Thumbnail


काठमाडौं—ऊर्जामन्त्री जनार्दन शर्माले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार इतिहासकै सफल सरकार भएको जानकारी गराएका छन् ।
प्रेस सेन्टर नेपाल ललितपुर शाखाले शनिबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले सरकारले गरेका कामको जनतासम्म सही सूचना पुग्न नसक्दा स्थानीय तहको पहिलो चरणको निर्वाचनमा माओवादीको सोचेअनुसारको नतिजा आउन नसकेको बताए । दाहाद सरकारले लोडसेडिंगलाई अन्त्य गरेको थियो भने मेलम्ची आयोजनालाई काठमाडौंमा ल्याएको थियो । यसलाई दाहाल सरकारको एउटा ठुलो सफलताको रुपमा हेरिएको छ ।
ऊर्जामन्त्री शर्माले भने, ‘प्रधानमन्त्रीले गरेको काम राम्ररी प्रचार हुन नसकेकाले चुनावमा चामल नबिकेर पिठो मात्रै विकेको भनेर भनिसक्नुभएको छ । त्यसैले अबका दिनमा पार्टी र सरकारले गरेका सही कामको सूचना प्रवाहमा बढी मेहनत गर्नुपर्ने देखिएको छ ।’ जनताका पक्षमा सही काम गरेर देखाए पनि सूचना प्रवाह प्रभावकारी तवरले हुन नसक्दा पार्टीका पक्षमा जनलहर आउन नसकेको उनको दावी थियो ।
पार्टीले जनताका पक्षमा जायज र सार्थक काम गरेको उल्लेख गर्दै उनले विद्युत्भार कटौतीको अन्त्य, उज्यालो नेपाल अभियान, राष्ट्रिय गौरवका आयोजनाको कार्यप्रगति, २५ वर्षपछिको उच्च आर्थिक वृद्धि सफलताका उदाहरण रहेको बताए ।
ऊर्जामन्त्री शर्माले आगामी दिनमा प्रचारप्रसारको कामलाई पनि व्यवस्थित तवरले अगाडि बढाउनुपर्नेमा जोड दिँदै प्रेस स्वतन्त्रतालाई स्थापित गर्न सबै सरोकार भएका निकाय क्रियाशील हुनुपर्नेमा जोड दिए ।
प्रेस सेन्टर ललितपुरले जिल्लामा क्रियाशील करिब ५० पत्रकारलाई विकास पत्रकारिताबारे प्रशिक्षण दिएको हो । सांसद योगेन्द्र घिसिङको निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत पत्रकारलाई तालिम प्रदान गरिएको नेपाल पत्रकार महासंघ, ललितपुरका अध्यक्ष ज्ञानप्रसाद पौडेलले जानकारी दिए । कार्यक्रममा माओवादी केन्द्र ललितपुरको इन्चार्ज हरि दाहालले छोटो समयको तयारीका साथ निर्वाचनमा होमिदा जिल्लामा पार्टीको उपस्थिति कमजोर देखिएको बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित