FLASH NEWS
  • Loading...

सभापति देउवा चौथोपटक प्रधानमन्त्री बन्दै

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६८ पटक पढिएको
Post Thumbnail

काठमाडौं—संसदीय प्रक्रिया सहजरुपमा अघि बढेमा नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा मुलुकको ४० औँ प्रधानमन्त्री बन्ने निश्चित प्रायः भएको छ । उनी यसअघि तीन पटक प्रधानमन्त्री भइसकेका छन् ।

व्यवस्थापिका संसद्मा पहिलो ठूलो दल नेपाली कांग्रेसले सदनमा तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) लगायत साना दलको साथ र सहयोगमा प्रधामन्त्री पदको नेतृत्व गर्ने भएको छ । यसअघि गत साउन १९ गते कांग्रेसलगायत दलको साथ र सहयोगमा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।
प्रमुख सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र), नेपाल लोकतान्त्रिक फोरम, समाजवादी जनता पार्टी, अखण्ड नेपाल पार्टी, नेकपा (संयुक्त) सहित अन्य साना दलका ३१० सांसदको समर्थनमा सभापति देउवाले शनिबार प्रधानमन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

संसद् सचिवालयले शनिबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म प्रधानमन्त्री चयनका लागि उम्मेदवारीको सूचना दिन समय निर्धारण गरेको थियो । आइतबार जेठ २१ गते बिहान ११ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्रीको निर्वाचन हुँदैछ ।

सभापति देउवाको प्रस्तावकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका छन् भने समर्थकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह, अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्का र नेकपा (संयुक्त) का नेता जयदेव जोशी रहेका छन् ।
सभापति देउवाको प्रस्तावकमा हस्ताक्षरपछि संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले आफूले सहज सत्ता हस्तान्तरणको प्रक्रिया राजीनामाबाटै सुरु गरेको बताए । प्रधानमन्त्री दाहालले भने, ‘नयाँ राजीतिक संस्कारतर्फका साथै राजनीतिक स्थिरता र समृद्धमा मुलुकलाई लानु छ । कसै न कसैले रेकर्ड त बनाउँनै पर्छ । मैले इतिहास र राष्ट्रप्रति गम्भिर भएर यो जिम्मेवारी निर्वाह गरेको हुँ ।’ दोस्रो चरणको निर्वाचनको जिम्मेवारी सबैले मिलेर पूरा गर्नुपर्ने बताउँदै उनले त्यसका लागि राष्ट्र नै एकताबद्ध हुनुपर्ने बताए ।
नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले वर्तमान सरकार तत्काल परिवर्तन हुँदैछ भन्ने थाहा पाउँदापाउँदै आफू यो गठबन्धनको आवश्यकता महसुस गरेर नै सरकारमा सहभागी भएको बताए । ‘कांग्रेस, माओवादी केन्द्र, मधेसवादी दल सबैले मेरो आवश्यकता महसुस गरेर नै सरकारमा आउन आग्रह गरेकाले म सरकारमा आएको हुँ उनले भने ।
मधेसी, आदिवासीलगायत सीमान्तकृत सबैको माग सम्बोधन गर्नुपर्छ भन्ने विश्वासका साथ र संविधान कार्यान्वयनका लागि निर्वाचनमा सबैलाई सहभागी बनाउन आफ्नो दलले वर्तमान सरकार र गठबन्धनलाई सहयोग गरेको उनको भनाइ थियो ।
कांग्रेस नेता विमलेन्द्र निधिले नेपालको इतिहासमा पहिलोपटक बहालवाला प्रधानमन्त्रीले नै आउने प्रधानमन्त्रीको प्रस्ताव बसेको बताउँदै दलहरुबीच सहमति र इमान्दारिताका लागि यसले राम्रो सन्देश दिएको विश्वास व्यक्त गरे ।

कांग्रेस र माओवादी केन्द्रबीच विगतमा भएको सात बुँदे समझदारीअनुसार नै दाहाल नेतृत्वको माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन भएको जानकारी गराउँदै उनले भने, ‘सोही समझदारीमा कांग्रेस सभापतिलाई सत्ता हस्तान्तरण गर्ने सहमति भएको थियो । यो समझदारी अनुसार नै सभापति देउवाले प्रधानमन्त्रीमा उम्मेदवारी दिएका हुन् ।

अहिले नै कांग्रेस, माओवादी केन्द्र, नेपाल लोकतान्त्रिक फोरम, नेकपा (संयुक्त), समाजवादी जनता पार्टी र अखण्ड नेपाल पार्टीलगायत दलका ३१० सांसदको समर्थन रहेको जानकारी गराउँदै उनले निर्वाचनमा मतसंख्याको कुनै समस्या नरहेको स्पष्ट पारे । राजनीतिक समस्या समाधानका लागि भने प्रमुख प्रतिपक्षीलगायत सबै दलसँग छलफल गरिरहेको उनले बताए ।
एमाले संसद् अवरोध गर्दै आएको बारेमा उनले एमाले जिम्मेवार प्रतिपक्षी दल भएकाले प्रधानमन्त्रीमा अवरोध नगर्ने विश्वास व्यक्त गरे । संसद्मा हाल ५९३ सांसद संख्या कायम छ । तसर्थ प्रधानमन्त्रीको निर्वाचनका लागि आवश्यक मत संख्या २९७ हो ।
कांग्रेससँगको आलोपालो सत्ता नेतृत्व गर्ने समझदारीअनुसार प्रधानमन्त्री दाहालले यही जेठ १० गते पदबाट राजीनामा दिएका थिए । प्रधानमन्त्रीको राजिनामापछि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानअनुसार जेठ ११ गते संसद्मा रहेका राजनीतिक दलको सहमतिमा प्रधानमन्त्री चयन गर्न ७ दिनको समयावधिसहित आह्वान गरेकी थिईन् ।
सो अवधिमा सहमतिमा प्रधानमन्त्रीको चयन हुन नसकेपछि राष्ट्रपति भण्डारीले जेठ १८ गते बहुमतीय प्रक्रिया अघि बढाउन आह्वान गरेकी थिईन् ।रासस

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित