FLASH NEWS
  • Loading...

आइमाम कार्यक्रमले बालबालिका स्वस्थ हुँदै

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ४९ पटक पढिएको
Post Thumbnail

बैतडी, २३ जेठ । बैतडीमा कुपोषित बालबालिका स्वस्थ हुँदै गएका छन् । जिल्लामा शीघ्र कडा कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम (आइमाम) सञ्चालनमा आएपछि कुपोषित बालबालिका स्वस्थ हुँदै गएका हुन् ।

गतबर्ष भदौदेखि सञ्चालनमा आएको कार्यक्रमले जिल्लामा १७ हजार १७९ बालबालिकाको पोषणको स्थितिको बारेमा जानकारी लिएको थियो । जाँच गरिएका बालबालिकामध्ये ९०२ बालबालिकामा कडा कुपोषण देखिएको शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रमका जिल्ला संयोजक प्रदीप पराजुलीले बताउनुभयो ।

एक हजार ७२७ जनामा मध्यमखालको कुपोषण देखिएको उहाँले बताउनुभयो । कडा कुपोषण देखिएका ९०२ बालबालिका र समुदायमा महिला स्वास्थ्य स्वयम्सेविकामार्फत पत्ता लागेका ३०३ बालबालिका गरी एक हजार २०४ जनाको उपचार गरिएको पराजुलीले जानकारी दिनुभयो ।

एक हजार २०४ जनामध्ये २० जना भने बीचमै उपचार छोडेका छन् । उपचार गरेका भने अहिले पूर्णरुपमा स्वस्थ रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका पोषण सम्पर्क व्यक्ति सन्तोष पाण्डेयले जानकारी दिनुभयो ।

जिल्लामा अहिले १६ ठाउँमा कुपोषित बालबालिकाको उपचार हुने गरेको उहाँले बताउनुभयो । जिल्ला अस्पताल बैतडी, देहीमाण्डौँ, ग्वाल्लेक, श्रीकोट, गोकुलेश्वर, डिलाशैनी, पाटन, सलेना, मेलौलीमा कडा कुपोषित बालबालिकाको उपचार हुने गरेको छ ।

यसैगरी, शर्माली, सिद्धेश्वर, शङ्करपुर, हाट, थालाकाँडा, सिगास र शिवलिङ्ग स्वास्थ्यचौकीमा कुपोषित बालबालिकाको निःशुल्क उपचार हुने गरेको छ । समुदायमा कुपोषित बालबालिका धेरै रहेका भएपनि अझै उपचारमा आउन नसकेको बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित